चौधौँ वार्षिकोत्सव तथा विशेषाङ्कप्रति शुभकामा

आजसम्म साहित्य लेखनका  आआफ्नै विधि, नियम, शैली र मान्यताहरू छन् । अनेक अर्थ र परिभाषाहरू छन् । तर तिनैलाई आदर्श मानेर लेख्ने  परम्परा रहेन,अब । साहित्यको अर्थ र परिभाषाहरू पनि आधुनिक प्रविधिको विकास र प्रगतिसँगै बद्लिँदै छन् । विधि नियम,लेखन शैली र मान्यताहरूसँगै प्रकाशनका तौर तरिकाहरू पनि बद्लिँदै छन् र बदलिनु पनि पर्छ ।

अब लेखिने साहित्य न कुनै परिभाषाको निश्चित घेरामा बाँधिनेछ न कुनै निश्चित सिद्धान्तमा नै  । आफ्नो बाटो आफैँ निर्माण गर्दै अघि बढ्नेछ । साहित्य स्वतन्त्र अनुभूतिको स्वतन्त्र र वैयक्तिक अभिव्यक्ति हो । यसमा कला र अनुभूति आफ्ना  हुन्छन् र भाव –विचार र चेतना  भने देश, समाज र परिवेशका हुन्छन् । कलाबिनाको साहित्य र चेतनाबिनाको कला दुवै शून्य हुन्छन् । र यी  दुवै विषाक्त सिर्जना पनि मानिन्छन् । दुवैले जनताको चेतना समुन्नत पार्न भूमिका खेल्दैनन् ।

कलाविना साहित्य आकर्षण शून्य हुने र चेतनाविनाका जुनै सृजना पनि खोक्रा हुने हुँदा दुवैले घुमाउरो भ्रम छर्छन् । भ्रम छर्नु समाज विरोधी काम हो । त्यसैले जुनै पनि साहित्य लेख्दा जनता,शहीद,त्याग, युद्ध, विद्रोह, दरिद्रता, अभाव र त्यसबाट जन्मिएका पीडा र पसिनाको दृश्य बिर्सनुहुँदैन । जिउँदै सुनकोश नदीमा डुबाएका महाशुर क्षेत्रीलाई बिर्सनु हुँदैन । विश्वासघात गरी मारिएका गर्जमान गुरुङ,धर्मराज र पुण्यप्रसाद ढकाललाई बिर्सनुहुँदैन ।

अनि दिलमायाका नग्न दृश्य र ललाइकी एक महिने सुत्केरी निनु क्षेत्रीको बलात्कृत दृश्यहरू बिर्सनहुँदैन । अनि चाम्नीथाङ मैदानमा गोली ठोकी मारिएका नामग्येल वाङचुक, चागे र जाम्बेका परिदृश्यहरूलाई पनि बिर्सन मिल्दैन भन्ने लाग्छ,मलाई । त्यसै गरी नाङ्गेझार पारेर सुनकोश र सर्भाङ किनारमा  फालिएका राज्य आतङ्कका शिकार चेलीहरूलाई बिर्सनुहुँदैन र आमाको छाती र बाबुका ढाडमा बजारिएका रम्बीका नीलडाम र सेनाका बुटको छापहरूलाई बिर्सनुहुँदैन । अनि माई नदीको किनारमा भोकभोकै मरेका र दबाई पानीको अभावमा ज्यान गुमाएका हजारौँ बाल सहिदहरूलाई पनि हामीले बिर्सनुहुँदैन ।

यस्तै यस्ता अनेकौँ दमन र दुराचारका निर्मम शृङ्खलाहरूको मारबाट जन्मने संवेदना नै वास्तविक सृजनाको श्रोत हो । तिनै प्रताडित सोच र चिन्तनबाट जन्मिएको साहित्य नै जीवन्त र कालजयी हुनसक्छ ।

प्रताडित मानव जीवनका साक्षात् विम्ब–प्रतिविम्ब पनि यस्तै सृजनाहरूमा समाहित हुनुपर्छ ।  यस्तै सृजनामा पीडित जनताका स्पन्दन अनुभूत हुन्छन् र तिनैलाई समेट्दै जनताका बोलीमा सकेसम्म आफूलाई समावेश नगरी लेखिने साहित्य नै जीवन्त साहित्य हो र त्यस्ता सृजनाहरूको खोज,अनुसन्धान,सङ्कलन र डिजिटल प्रकाशन भूटानीलिटरेचर डट कमले गर्दै आएको  छ । साहित्य परिषद्,भूटानको प्रकाशन विभागबाट सञ्चालित यस डटकमले स्थापना काल देखिनै पाक्षिक प्रकाशन गर्दै आएको यहाँहरूलाई अवगत नै छ । आजसम्म ४ हजारभन्दा बढी सृजनाहरू प्रकाशन गरी साइबर स्पेसमा सुरक्षित गरेको छ, र यस पटक पनि नियमित प्रकाशनका अतिरिक्त विशेषाङ्क प्रकाशन गरेर आफ्नो स्थापनाको १४औँ वार्षिकोत्सव मनाउँदै छ भन्ने खबरबाट म धेरै उत्साहित भएको छु ।

यस ऐतिहासिक प्रकाशनका लागि खटिनुहुने विभाग प्रमुख रमेश गौतम,प्रधान सम्पादक शिवलाल दाहाल,सम्पादक जेएन दाहाल र भक्त घिमिरेज्यूलाई आभार व्यक्त गर्न चाहन्छु । त्यसै गरी अपार व्यस्तताको प्रवाह नगरी यस प्रकाशनका लागि आफ्नू अमूल्य रचना र सृजना पठाएर सहयोग गर्दिनुहुने सबै स्रष्टाहरू र यस प्रकाशनका पाठक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।  अनेकौँ अल्झन र समस्याहरूका कारण पनि नेपाली भाषा साहित्यको संरक्षण र संवर्धनमा निरन्तर लागिरहनु हुने उत्साहित सङ्घ संस्थाहरू र तिनका प्रतिनिधिहरूलाई पनि सम्झन चाहन्छु । र अन्तमा यो विशेषाङ्कको सफलताका साथ प्रकाशन होस्,भन्ने कामनासहित शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु ।

धन्यवाद
गङ्गा लामिटारे
अध्यक्ष
साहित्य परिषद् भुटान
अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *