छाप्रो नम्बर ५५ भित्रको जीवन यात्रा
बुद्धमणि ढकाल
केन्टकी
आफ्नो थात-थलो बाट उखेलिए पछि शुरु भएको गन्तव्यहीन यात्रा शरणार्थी शिविरमा आइपुगेर केहि समय रोकिन्छ। यद्यपि यो यात्रा यस उपन्यासकी मुख्य पात्र गङ्गाले आफै तय गरेको नभए पनि ऊ पूर्णत: यो यात्रामा सहभागी छ। गङ्गा र देव दुवै बाल यात्री हुन् यहाँ – आफ्ना बाउआमा वा अभिभावकलाई पछ्याउदै शिविर आइपुगेका।
शरणार्थी शिविर केहि समयका लागि आश्रय लिने ठाउँ हो भन्ने वोध उनीहरुलाई छैन। यो पनि थाहा छैन -उनीहरुको लागि जीवनको यात्रा बल्ल शुरु हुदैछ। यहि अवोध र निरपराध अवस्थामा उनीहरु बाल, वयस्क हुदै आफ्नो अकिञ्चन यात्रामा हिडिरहेका छन् उपन्यास भरि।
उपन्यासकार रमेश दियाली यो अनिश्चित यात्राको आफै यात्री भएका कारण गङ्गा र देव दुवैलाई उनले आफुसँगै हिडाएका छन्। दोस्रो खण्डको यात्रामा समेत यी पात्र उपन्यासकार सँगै अमेरिका आइपुगेका छन्।
पोको पन्तुरो बोकेर हिडेको गङ्गाको बाउ पथरी सनिस्चरे शरणार्थी शिविरमा भारी बिसाउन आइपुग्छ। यहाँ कति दिनका लागि बास बस्ने हो थाहा छैन तर बस्ने ओतको र खाने अन्नको जोहो गर्न शरणार्थीले आफै सक्रिय नभई धर छैन। यहाँ जीवन ठप्प छैन – सल्बलाई रहेको छ, निभ्न लागेको अगुल्टोबाट फ़िलुङ्गो उठ्तै छ। अनेकन फ़िलुङ्गा तयार हुदैछन् – अर्को चरणको यात्राको लागि। गङ्गा त्यहि झिल्को हो, जो छाप्रो नम्बर ५५ बाट उठेर भोलिको यात्रा तय गर्ने छ। तर यो हिडाईको पनि टुङ्गो छैन। शरणार्थी हुनुको नियति नै यो रहेछ।
गङ्गाको यात्रामा केवल ‘बाउ’ छन् सँगै। बाउ सँग सँगै उसले त्यो छाप्रोलाई घर बनाउने काम गरेकी छ, दाताले दिएको थोरै अन्न पानीले जीवन धान्न सिकेकी छ। जानी नजानी बाउको सेवा गरिरहेकी छ – रात वा दिन, झरी वा चर्को घामको ताप, हावा-हुरी होस् वा हिउँदका चिसा दिनमा । जीवन क्रमश: सामान्य बन्दै, शिविर नै सबै संसार हो भन्ने बाल मनोविज्ञान गङ्गा र उसका सेक्टरका साथीहरुमा छ। बाउ सँगको बाह्य र अन्तर्मनको यात्रा कहिले सम्म हो, गङ्गाको बाल मस्तिस्कले खास सोचेको छैन।
बाह्य सन्सारको यात्रामा गङ्गा एक्ली छैन – स्कूलका र सेक्टरका साथीहरू छन्। क्लासमा सँगै पढ्ने साथी रोमा धेरै नजिक छे ऊसँग। देवसँग चिनजान भए पछि मनले एउटा सहयात्री भेटे जस्तो भा’को छ गङ्गालाई। छिमेकी मगरनी काकीले उसकी आमाको ठाउँ लिएकी छन्। यी कहिले सम्म ऊसँग हुन्छन, गङ्गालाई थाहा छैन।
देव सँग अन्तरहृदयको साइनो जोड्न सबै अवसरमा एक कदम अघि सरेकी छ गङ्गा। पिकनिकमा होस् या क्लास सकेर घर जाँदा, देवसँग ऊ विशेस झुकाव राख्छे।
देवको जीवनयात्रामा चासो राख्थी गङ्गा तर ऊ गायब छ। देवसँगै यात्रामा सरीक हुन पाए हुन्थ्यो भन्ने चाहना हो उसको [ यी दुवैले खास आफुले रोजेको र मन खुसाउने यात्रामा रमण गरेका छैनन् -भनौ गर्न पाएनन्। रहरलाई बाध्यताले किचेर हिड्नु परेको छ।
उपन्यासभरि गङ्गाले आफै सँग धेरै अन्तर्द्वन्द गरेकी छ। अन्तर्मनको द्वन्दमा ऊ स्वयम् वादी र प्रतिवादी छ। यो उमेर सँगै बढ्दै जाने अन्तर्द्वन्द गङ्गा जस्तै हजारौं शरणार्थी युवा युवतीले भोगेको अनुभव छ उपन्यासकारसँग। त्यही अनुभवबाट सिञ्चित मनको बारीमा रमेश दियालीले गङ्गा र देव, गङ्गाको बाउ र उसको लोग्ने जस्ता आफैभित्रको द्वन्दमा फँसेका पात्रहरुलाई उभ्याएका छन्। यी पात्रहरुको जीवनयात्रामा सरीक भएका छन् उनी।
गङ्गालाई बाउले बिहे गरेर अर्को शिविरमा पठाए, आफु एक्लो रहेर। उनले छोरीप्रतिको कर्तब्य पूरा गरेका हुन् – जीवनयात्रा बिसाउनु अघि। उसको भविष्यको जिन्दगीका लागि एउटा सहयात्री खोजिदिएका हुन् तर यसले गङ्गाको जिन्दगीलाई अर्को घुम्तीमा हुत्याइदियो। गङ्गालाई उसको लोग्ने खुब माया गर्छु भन्छ तर ऊसँग भन्दा काम गर्ने निहुँमा गुजरातमा धेरै बिताउँछ। सासु-ससुरासँग गङ्गाको बाह्य संसार जोडिए पनि अन्तरहृदयमा ऊ एक्ली छे – लोग्ने बिनाको घरमा।
गङ्गाको लोग्ने जस्तै धेरै युवा र वयस्क लोग्ने मानिस शिविर छोडेर काम गर्न भारत वा नेपालका विभिन्न ठाउँमा भौतारिन्छन्। त्यहाँ उनीहरुले जीवन यात्राको अर्को मोड, उकालो र ओह्रालो भेटछन्। कोही छाप्रोको अभावलाई राहत दिने केही आर्जन गर्छन त कोही जीवनलाई रित्याएर घर फर्किन्छन। कसै कसैले दुर्भाग्य पनि भोगेका छन् ती ठाउँमा। गङ्गाको लोग्ने पनि जीवनको उज्यालो बाटो भन्दा अँध्यारो बाटो तर्फ लागेर शिविर फर्किन्छ – जिन्दगीको जोसिलो रस सिध्याएर।
गङ्गाको द्वन्दात्मक अन्तर्मन यतिबेला धुजा धुजा भएर फाटेको छ जुन बेला ऊ बिरामी लोग्नेको हेरचाह गर्न आम्दा अस्पताल बसेकी छ। लोग्नेको बिराम झन् झन् गाडा भएको, रोग पत्ता लाग्न लामो समय लागेको कारण गङ्गाको मन र शरीर नै जिर्ण भयो। खर्चको अभावले गङ्गा दमकका सडकमा भिख माग्न पनि पछी परिन। यो उसको जीवन यात्रामा निकै डर लाग्दो घुम्ती हो – लोग्ने मृत्युको मुखिञ्जे अस्पतालमा छ, ऊ झुत्रो रुग्ण शरीर लिएर सडकमा भिखारी बनेकी छ। यो उसको निर्णय आफ्नो जीवनसाथीसँग लामो समयसम्म यात्रा गर्ने प्रखर रहरले प्रेरित छ। बाँसको भाटाले र प्लास्टिकको छानोले बल्ल तल्ल जोगाएर बाँचेको जिन्दगी अब सडकमै पोखिएको छ।
छाप्रो बेथितीको प्रतीक हो, जिन्दगीको झिनो सहारा हो। शिविरका अनेकौं छाप्राहरुले प्राण ढाक्न नसकी नसकी ठडिएका छन् — मानु यी अस्थिपन्जर मात्र हुन् , रगत, मांसपेशी र छाला बिना। शिविरभित्रका मान्छे जडाउरी “शिविरे” हुन्, गाउँमा बस्ने मान्छेका लागि। पूर्ण मान्छे हुन र सार्वभौम स्वतन्त्र मान्छेको जीवन बाँच्न यहाँबाट निस्किनु पर्छ – देवजस्तै, गङ्गाको लोग्ने जस्तै। त्यसैले यात्रा अनवरत छ, गन्तब्य अँध्यारो भित्र छ।
बिरामी लोग्नेलाई लिएर एक्लै रेल सफर गर्ने र बंगलोरको अस्पतालसम्म पुग्ने आँट गर्नु उसको कर्तब्यपारायण जीवनवोध र भौतिक यात्राको अन्तिम क्षणसम्म लोग्नेलाई साथ दिने अठोट प्रबल देखिन्छ उपन्यासमा। बंगलोरमा लोग्नेको लाश जलाएर फर्केकी गङ्गा अब साँच्ची एक्ली भई । उसको आधा प्राण त्यहिँ फ्याकेर आएकी छ।
उपन्यासमा रमेश दियालीले शरणार्थीहरूले कति जोखिमको यात्रा गरेका छन् सुझाउन पनि गङ्गाको लोग्नेलाई बंगलोरमै अन्तिम संस्कार गरेका होलान्। यो मेरो अड्कल मात्र हो।
लोग्नेको स्वर्गवास पछि गङ्गाको जीवन समुद्रमा एक्लै तैरिएको, आंधीले चुटेको र दिशा हराएको जहाज जस्तो भएको छ। हो, अब उसको जीवन दीप निभेको छ, बाटो हराएको छ, सासु ससुराको अपहेलना खेप्नु परेको छ। जेनतेन जिन्दगी डोर्याउन ऊ सासु ससुरासँग बसेकी छ।
यसै बेला अर्को घात आइलाग्छ – उसका बाउको देहान्त। यात्रामा गङ्गाको लागि सबै भन्दा भरपर्दो आश्रय अब सदाका लागि छुटेको छ। त्यो छुटेको सहारालाई उसले अन्तिम भेट समेत गर्न पाइन- बाउको लास समेत देख्न नपाई ऊ विचलित भई। उसको लागि अब अन्तर्मनको सहयात्रा गर्ने, मनसँग मन साट्ने मान्छे नै को बाँकी रह्यो र ? देव थियो, ऊ पनि गुमनाम छ। उसको केहि पत्तो छैन।
उपन्यास छाप्रो नम्बर ५५ मा रमेश दियाली यी पात्रलाई आफूसँगै अमेरिकाको यात्रामा रमण गराउँछन्। यो यात्रा अरु कसैले तय गरिदिएको हो, उपन्यासकार र उनका सबै पात्रहरूलाई। समुद्र पारीको यो सफर उनीहरु आफैले रुजु गरेको भने पटक्कै होइन, तर शरणार्थी शिविरको जोखिमपूर्ण यात्रा भन्दा यो श्रेयस्कर ठानेर शिविरका गङ्गा, देव, रोमा र अरू सबै पात्रहरू भकाभक उड्न थालेका हुन्। फेरि पनि टोप्ला बाँध्नु, शिविर नै सहि, सत्र अठार वर्ष बसेको भूमि छोड्नु अनि नजानेको पराइ भूमिमा बसाईं सर्नु गङ्गाका लागि अन्योलको निर्णय हो। अँध्यारोमा ढुङ्गा हान्नु जस्तै हो।
यात्रामा धेरै मान्छे सँग भेट हुन्छ र छुटिन्छ। भेटिनु छुटिनु जीवनको प्राकृतिक नियम नै हो। एक तवरले यो उपन्यास एक संयोगान्त बनेको छ – देव र गङ्गाको मिलन फेरि सम्भव भएको छ – वशिङ्गटनको सियाटलमा। यात्रामा भेटिएका बाल सखाहरुको पुनर्मिलनले जीवनयात्रामा अर्को नयाँ उर्जा थपेको छ, निभ्न लागेको टुकीमा तेल र सलेदो थपे जस्तो भएको छ। यो जीवनयात्राको सत्य स्वरूप हो, मानव विकास प्रकृतिको एउटा उपज हो। यस अर्थमा देव र गङ्गाबीच शरणार्थी शिविरमा बढेको दूरी क्षणिक रहेछ , दैवको परिक्षण रहेछ उनीहरुमाथि। लोग्ने गुमाएकी, बाउसँग सदाका लागि छुटेकी गङ्गालाई अब यो दूर परदेशमा देवको साथ मिलेको छ।
देव शिवाय गङ्गाको अरु कोहि छैन, अनि देवको लागि पनि एउटा जीवन साथी गङ्गा बाहेक अरु हुन सकेन। नारी पुरुषको सहचर्यबाट नै जीवनको निरन्तरता हुन्छ; प्रकृति पुरुषको समागमबाट यो पृथ्वीको सारा जीवन चक्र चलेको छ। यहाँ देव र गङ्गा यो भौतिक जीवन चक्रलाई क्रमवद्ध गर्न मात्र भेटिएका होइनन् कि उनिहरु मृत्यु पछिको अनन्त दिव्य यात्रामा समेत सरिक हुन यो मिलन गर्दैछन् जस्तो भान हुन्छ।
शरणार्थीहरुले यात्रामा थुप्रै प्रिय वस्तु गुमाएका हुन्छन् – आफ्ना नजिक भएका वस्तु र आफन्तजन। यात्रामा हिड्दै जाँदा नयाँ परिवेश, नयाँ मान्छे र नयाँ सम्बन्ध, अनेकन जोखिमहरु भोगेका हुन्छन्। झिटी गुन्टा बोकेर, दुधे बालक काखी च्यापेर हिडेका यी यात्रीको जीवनको टुङ्गो हुदैन। देव र गङ्गाका बा-आमा यस्तै अनिश्चित र जोखिमपूर्ण बाटोमा निस्केका थिए।
अरु शरणार्थी बाल बालिका जस्तै देव र गङ्गाको जीवनको यात्रा शिविरबाटै शुरु भएको हो। यो यात्रा उनीहरुको लागि केहि कालसम्म घर र स्कूलको छत्र-छायामा एकनासले चलेको थियो तर यो पनि अस्थाई होला भन्ने थाहा थिएन। यात्राको टुङ्गो लागेको थिएन। शायद देव र गङ्गाको लागि अरु धेरै लामो सफर तय गरिदिएको होला भावीले। त्यसैले उनीहरु पुनर्मिलनको मधुमासमा सियाटलमा भेट गर्दै छन् , नयाँ जीवनको गोरेटो कोर्न।
रमेश दियालीले उपन्यासका सबै पात्रलाई आफूसँगै डोहोर्याएका छन्। यात्रा- भौतिक होस् या पराभौतिक, प्रत्यक्ष वा परोक्ष एउटा निश्चित दिशामा या सिधा रेखामा भएको राम्रो हुन्छ। .तर यहाँ जीवन यात्रा त्यस्तो भएको छैन। यात्रा बाङ्गो टिङ्गो, घुमाउरो, भिरालो बाटोमा भएको छ यस उपन्यासका प्रतिनिधि पात्रहरूको। अझ अनिश्चित छ, भविष्यहीन छ शिविरमा हुर्केको पुस्ताको लागि। देव जस्तै भौतारिने अरू युवाहरु कोहि हराएका छन्, शिविरको पट्यार लाग्दो जिन्दगीबाट पलायन भएका छन् र व्यक्तिगत उन्नतिको खोजीमा विदेशको सपना देखेका हुन्।
यात्रा अझै जारि छ – एक ठाउँ बाट अर्को ठाउँ सर्ने क्रम रोकिएको छैन। उपन्यासले यो इंगित गरेको छ। शरणार्थी हुँदासम्म यो यात्राको अगुवाई बुढा पाकाले गरेका थिए , अबको यात्रा युवाहरुले अगुवाई गर्दैछन्। यो उनीहरुको जमाना हो, आधुनिक युग, विद्युतीय युग, होडबाजीको युग। देव र गङ्गा अब त्यही विद्युतीय युगमा, होडबाजीको संसारमा प्रतिस्पर्धी भएर होमिएका छन् , नयाँ देश र रीतको सिको गर्दै, फेरि बामे सर्ने तरखरमा छन् – नयाँ यात्राको लागि। फरक यति हो – उनीहरु अघि एक्ला-एक्लै यात्रा गर्दै थिए , अब दुई प्राण एक भएर सँग सँगै यात्रामा जोडिएका छन्।
उपन्यासकार रमेश दियालीलाई यो शालीन कृतिको लागि साधुवाद।