छाप्रो न ५५: शरणार्थी जीवनको एक सजीव चित्र

A former Bhutanese refugee, forced to leave Bhutan along with his family in 1992, I P Adhikari is a journalist living in Adelaide, South Australia. He started The Shangrila Sandesh in 2001 but did not work for the paper for long. In 2004 he, along with Vidhyapati Mishra, started the Association of Press Freedom Activists (APFA) Bhutan. In 2007 they started Bhutan News Service. He worked in The Rising NepalThe Himalayan TimesNation Weekly and Nepalnews.com while living in Nepal as a refugee.

Adhikari also taught Journalism and Development Communication for bachelor's and master's degrees in College of Journalism and Mass Communication between 2006 and 2010 in Nepal. He then moved to Australia under the resettlement program of the UNHCR for Bhutanese Refugees. In Adelaide, Australia he founded Yuba Sansar, a weekly Nepali-language radio program aired through Radio Adelaide.

आई पी अधिकारी
एड्लेड, अस्ट्रेलिया

‘झुपडीलाई महल सम्झेर एउटै छाना एउटै आकाशमुनि जीवनका खुसी किन्ने रहर बोकी हजारौँ मान्छे बाचेका छन्, शरणार्थी भएर ।’

यो पङ्क्तिको भाव त्यसले मात्र बुझ्न सक्छ जसले शरणार्थी जीवनको पीडा बुझेको छ, भोगेको छ । अनि यसले मेरो जीवनको उर्वर र ऊर्जाशील कालखण्ड कसरी कल्पना मैँ बितेको थ्यो – सबै कथा भन्छ । रमेश दियालीको ‘छाप्रो न ५५’ उपन्यासको सारांश नै यही हो भन्ने मेरो निचोड हो । उपन्यासले सादृश्य मेरै जीवन्त कथा बोकेको भान भयो मलाई ।

सो कृति प्राप्त भएको निकै लामो समय भएको थियो मैले पढ्ने मौका पाएको थिइन । धेरै साथीभाइले यसबारेमा राम्रा पक्ष उल्लेख गरेको पाएको छु । धेरैको रोजाइमा यो कृति परेको भन्ने प्रतिक्रिया पनि पाएको छु । समय मिलाएर पछिल्लो चोटि भूटानी नेपाली साहित्यका कृतिहरू पढ्ने क्रममा यो कृति लिए । विक्रम संवत् २०७५ सालमा यो पुस्तक प्रकाशित भएको रहेछ । कथाका आधारमा लेखक भूटानी शरणार्थी शिविर शनिश्चरे बासी हुनुहुन्थ्यो  भन्न गाह्रो छैन ।

उपन्यास नारी प्रधान छ । कथाकी नायकले (प्रमुख पात्र महिला भएको कारण कतिले नायिका भन्लान्) आफ्नो कथा भनेकी छन् । शनिश्चरे शिविकी यी बालिकाले भनेको कथा सारमा सबै शरणार्थी बालबालिकाको दर्पण छाया हो । भौगोलिक रूपमा पनि कथा शिविर र यस वरिपरि घुमेको छ । एक सन्दर्भमा मात्र पात्र शिविर भन्दा धेरै टाढा पुगेकी छन् । यो उपन्यास वास्तवमा शरणार्थी जीवनको एउटा काल्पनिक तर तथ्य परक सजीव वृत्तचित्र हो । आफै बाचेको त्यो अत्यास लाग्दो झुपडीमा पनि यस्तो पारिलो कथा बुन्ने तत्त्व लुकेको पाउँदा कता कता झुपडी पनि महल भन्दा कम थिएन भन्ने लाग्छ । हुन त, मन नै हो – झुपडीलाई नै महल ठाने सुख खोज्न भौँतारी रहनु कहाँ पर्छ र । सुख खासमा आत्मा सन्तुष्टि न हो ।

उपन्यासका मुख्य पात्रले सुरुदेखि अन्तिमसम्म कथालाई डोर्‍याएकी छिन् । उनका आसपास रहने अन्य आफन्तजन, सहपाठी वा मित्रहरूको कथामा आउने-जाने क्रम रहन्छ तर कथा एक जना महिलामा केन्द्रित छ । एकल बाबुको लाल प्यारमा हुर्केकी छोरीले बहन गर्ने जिम्मेवारी, महसुस गर्ने समवेदना यसको मुख्य पात्रमा भेटिन्छ । एकल बाबु वा आमालाई जीवन यापनमा आइपर्ने अप्ठ्यारा, उनीहरूको मानसिक स्वास्थ्य र सामाजिक सम्बन्धले सन्तानमा कस्तो प्रभाव पार्छ भन्ने बुझ्न पनि यो उपन्यास मानक बन्न सक्छ ।

बाबु छोरी बिचको सम्बन्ध कति गहन, कति सहज अनि कति गहिरो हुन्छ भन्ने कुरा यो उपन्यासले देखाउन खोजेको पाइन्छ । लेखकले भनेका छन् ‘हरेक छोरीको भाग्यमा बाबु लेखेको हुन्छ तर हरेक बाबुआमाको  भाग्यमा छोरी लेखेको हुँदैन’। छोराको बडी आस र भरोसा गर्ने हाम्रो समाजमा यसले तिखो व्यङ्ग्य गरेको छ । बाँचुन्जेल र जीवन पर्यन्त पनि यो आत्मालाई शान्ति दिने, सुख दिने छोरा मात्रै हो भन्ने हाम्रो समाजमा एउटी छोरीलाई हुर्काउन बाबुलाई कति असहज होला, यो उपन्यासको कथाले यसबारेमा राम्रोसँग चिरफार गरेको छ ।

उपन्यासले समेटेको कालखण्ड निकै लामो छ । भुटानमा जन्मिएकी मुख्य पात्र अमेरिकी पुनर्वास पुगेको सम्मको कथा छ । यसबिचमा शरणार्थी शिविरमा बस्दा भोगेका अनेकन् समस्याहरूलाई यति मिठो भाषामा लेखकले प्रस्तुत गरेका छन् कि  सायद यो उपन्यास पढेपछि मलाई लाग्छ भुटानी शरणार्थी भनेर नचिन्नेहरूले पनि भुटानी शरणार्थीको जीवन कस्तो रहेछ, कसरी बाचेका रहेछन्, राम्रोसँग बुझ्दछन् ।

उदाहरणका लागि शरणार्थीहरूले बाँच्नलाई के गरेनन् । शिविरमा दिएको थोरै अन्न पानीले बाच्नलाई सम्भव थिएन । बाच्नको लागि तिनीहरूले स्थानीय रोजगार खोसेका थिए । स्थानीय रोजगार खोज्नुको अर्थ स्थानीय बासिन्दा नेपालीहरूसँग शत्रुता गाँस्नु हो । यस हिसाबले शरणार्थी र स्थानीय नेपाली समुदायबिच सम्बन्ध राम्रो थिएन भन्ने कथाका पात्रमार्फत लेखकले भन्न खोजेका छन् । त्यसो त शरणार्थी शिविर स्थापना हुनु, नेपालमा शरणार्थी आउनु, नेपाली कामदारको लागि अहितकारी होला तर त्यही शरणार्थी शिविर नेपालीहरूका लागि आयस्रोतको माध्यम पनि बनेको थियो । खान लायक वा नालायक सबै कुराले बजार पाएको थियो । यसले स्थानीयको आयस्रोत बढेको थियो । शरणार्थी बस्नुले आर्थिक उन्नतिमा पूर्वी नेपाल गजबको फड्को मार्‍यो । पुनर्वास पछि पनि यो क्रम जारी छ । यति धेरै प्रगतिको कथाका बिच शरणार्थी र स्थानीय बिचको सामान्य खटपट कोट्याउन लायक रहन्न ।

आर्थिक स्रोत जुटाउन शरणार्थीहरू स्थानीय स्तरमा मात्रै होइन भारतका विभिन्न ठाउँमा पनि पुगेको थिए । शिविरको निकै ठुलो युवा जमातले भारतको विभिन्न ठाउँमा पुगेर पैसाकै लागि कठिन परिश्रम गरे । कोइला खानीमा भोगेको दुःखलाई यहाँ लेखकले उदाहरणका लागि पस्केका छन् । कठोर परिश्रमले कमाएको थोरै पैसाले शिविरमा रहेको परिवारलाई एक छाक मीठो मसिनो र एक सरो लुगा फेर्न सहयोग पुग्यो । स्वास्थ्य सेवा प्राथमिक मात्र थियो । गम्भीर बिरामीहरू उपछारका लागि नेपाल वा भारतका विभिन्न अस्पताल पुगेका छन् । मुष्टि दानका भरमा जीवन रक्षाको सपना बोक्ने कैयन नव जवानले अस्पताल शय्यामा इहलीला समाप्त गरेका छन् । देश, समाज र आफन्त भन्दा धेरै पर हृदयको सबै भन्दा नजिकका मान्छे गुमाउँदाको क्षण सायद शब्दमा बयान गर्न सकिन्न । उपन्यासको यो क्लाइमेक्सले धेरै पाठकको आँखा रसाउने मलाई विश्वास छ ।

त्यसबाहेक शरणार्थी शिविरभित्र उठेका अन्य सामाजिक समस्याहरू, स्वास्थ्यका कारण आउने समस्याहरू यस उपन्यासमा उल्लेख गरिएको छ । त्यो भन्दा ठुलो के भने यो उपन्यासले शिविर भित्र रहेको जाती विभेदको टड्कारो समस्यालाई खुलस्त र सहज रूपमा पस्केको छ । नेपाली कानुनअनुसार दलित भनेर चिनिएको समुदायमा जन्मिएकी यस उपन्यासकी मुख्य पात्रले आफ्नो छिमेकी, आफन्त र साथीबाट खेप्नु परेको त्यो जातीय विभेदको डरलाग्दो समस्यालाई उपन्यासको एउटा गहकिलो पक्ष मान्न सकिन्छ । शैक्षिक रूपमा स्थानीय नेपाली भन्दा निकै शिक्षित मानिने भुटानी नेपाली समुदाय पनि जातीय विभेदको त्यो गन्जागोल बाट बाहिर निस्कन सकेको छैन ।

महिला हक अधिकारको विषयमा पनि यस उपन्यासले कथा कथा बोलेको छ । खास गरी महिलाले विवाह गर्न पाउने कि नपाउने, आफ्नो रुचि अनुसारको पुरुष छान्न पाउने कि नपाउने, छोरीको विवाहको निर्णय छोरीले नै गर्ने को अभिभावकले, त्यसमा बाबुआमाको कति हक लाग्छ भन्ने विषयलाई पनि लेखकले उठान गर्न खोजेका छन् । मुख्य पात्रले बाबुको आज्ञा अनुसार आफूलाई मन नपरेको अथवा नचाहेको पुरुषसँग पनि विवाह गरेर जानुपर्ने अवस्था छ । आफूले नचाहेको पुरुषबाट कस्तो माया, प्रेम र सद्भाव पाइन्छ; त्यो परिवार कस्तो छ भन्ने हेक्का राख्न नसकेका कारण पारिवारिक मेल कस्तो होला त्यसका बारेमा पनि लेखकले चर्चा गरेका छन् । विवाह गरेर गइसकेपछि आफ्नो नयाँ पति र सासू-ससुरासँग राम्रो सम्बन्ध स्थापना गर्नका लागि लोग्नेको महत्त्वपूर्ण हात रहन्छ । तर खुसी दाम्पत्य जीवनका लागि एक अर्कालाई राम्ररी बुझ्न जरुरी हुन्छ ।

उपन्यासको समय सारिणीलाई केही ठाउँमा नमिलेको हो कि भन्ने लाग्यो । उल्लेख भएका कतिपय घटनाहरू र त्योसँग सम्बन्धित विषयलाई जोड्ने क्रममा ल्याइएका बाहिरी तथ्यहरू मिलेको पाइन । भुटान भित्रको विषय अधिकांश नमिल्दा छन् – म यसलाई लेखकको अज्ञानता मान्न सक्दिन । सम्पादन गर्ने व्यक्ति नेपाली हो भन्ने प्रस्ट देखाउँछ । तर यस्ता मसिना त्रुटिले उपन्यासको कद र गरिमालाई पक्कै  होच्याउने छैन ।

भाषाको विषयमा कुरा गरौँ  । नेपाली भूटानी साहित्य राम्रोसँग फस्टाउन थालेको भनेको भुटानी शरणार्थीहरूको पुनर्वास पछि हो । अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, न्युजील्याण्ड, जस्ता देशमा पुनर्वास पछि आर्थिक सम्पन्नताका बढेको र त्यसले साहित्यमा आफ्नो लगानी गर्नलाई पूर्व भुटानी शरणार्थीहरूलाई हौस्याएको देखिन्छ । त्यस क्रममा निस्किएका धेरै कृति र कथाहरू पढ्ने मौका पाएको छु । भाषिक निखार, लालित्य र मिठासका हिसाबले अनि कथा पस्कने शैलीका हिसाबले रमेश दियालीको ‘छाप्रो नम्बर ५५’ एउटा ओजपूर्ण उपन्यासका रूपमा मैले पाएँ । भाषामा धेरै निखार पाइन्छ, तर सरल पनि छ । शब्द चयन,  उखान-टुक्का अनि भावपूर्ण तर सरल र सरस शैलीमा यो उपन्यासको भाषिक विशेषता हुन् । तथापि कतिपय अवस्थामा अर्थ नलाग्ने वाक्यहरू पनि पाएँ । अनेकार्थी वाक्यहरू पनि मैले पाए । यसले कृतिलाई दरिलो बनाउँछ र समालोचक लाई लेखकले तय गरेको एउटा बाटो मात्र हैन अनेक बाटाहरू, अनेक विषयवस्तुलाई कसरी कृतिमा समेट्न सकिन्छ भन्ने आधार पस्किनलाई उत्प्रेरक बन्छन् ।  त्यसो त रमेश दियालीका केही छोटा कथाहरू नेपाली पत्रपत्रिकामा बेलाबखत छापिने गरे गरेको मैले भेटेको छु ।

व्यक्तिगत रूपमा लेखकलाई मैले चिनेको होइन तर उनको यो कृति पढेपछि म केमा विश्वस्त छु भने भूटानी नेपाली साहित्यमा एउटा प्रचुर सम्भाव्यतामा बोकेको व्यक्ति पनि जन्मिँदै छ । यो पुस्तक किनेर पढ्न आग्रह गर्छु  । उनलाई आगामी लेख र कृतिहरूको लागि अग्रिम शुभकामना  । यस्तै मीठा मीठा कृतिहरू र कथाहरू पढ्न पाउने मैले आशा राखेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *