छोरा जन्मिएको दिन
तारा पराजुली/ मोरङ-नेपाल
छोरा !
यसैगरी शुरु भएथ्यो
एउटा शरणार्थी गुणबाट
मेरो दैनिकी !
अपरिचित जस्तो लाग्ने
परिचित भएको छु अचेल
भान्से भनेर चिन्छन् मलाई
सुविदारको भान्से !
सायदै सुन्न सक्छौ तिमी
मेरो अस्वस्थ कथा ।
मुटुको रोगी तिम्रो हजुरबुबा
उपचारको अभावमा सुकेको रुख ढले
जाँदा मभन्दा नि अग्लो ऋणको छानो हालेर गए
उही अमूर्त कर्जा तिर्दै छु
अझै घोटिनु छ
हाड, छाला, रगत र मासु रहेसम्म ।
बर्सौंदेखि चम्काएको छु यो सिकुवा
उज्यालेकै छु दलान मझेरी
कुचो लगाउँछु
टेबल पुस्छु
कुर्सी, सोफा, पलङ मिलाउँछु
आफू झन् क्रमभङ्ग हुन्छु ।
छोरा !
आज तिमी जन्मेको दिन
मसँग रहर ओताउने पाइलो घडेरी छैन
सपना फुलाउने एक फोक्टो बारी छैन
हाकिमको हस्ताक्षर भएको
धनीपूर्जा लालपूर्जा केही छैन ।
छोरा आज तिमी जन्मेको दिन
मसँग तिमीलाई दिने उज्यालो छैन
बरु भरे साँझ आउने छ
मिनी उत्सव लिएर
सँगै आउने छन्
मैले पुज्दै आएका ईश्वरका भूतपूर्व सन्तानहरु
र,
आजैदेखि तिमीलाई भाग लगाइदिने छन् अंश भनेर
एक टुक्रा बाहुनवाद !