जन्मिएको ठाउँ छाडेर आउँदा
इन्द्र प्रकाश खवास
अमेरिका
अमेरिका
हिमाली पाखा डाँडा र काँडा रसिलो त्यो वन
जन्मिएको ठाउँ छाडेर आउँदा चुँडिन्छ यो मन।
हिमाल चुली मुहार खोली धपक्कै बलेको
लाली र गुराँस उतिस सल्लो क्या राम्रो खुलेको।
सम्झन्छु सधैँ सपनी देख्छु त्यो हाम्रो गाउँ घरलाई
छोडेर हिँड्नु यो कस्तो भाग्य सरापौँ खै कसलाई।
त्यो पारी गाउँमा कोलाहल भयो त्यो गर्ने होला को?
मानिस छैनन् त्यो गाउँ घरमा गाउँ घरै उदास भो ।
डाम्–डाम् र डुम्–डुम् बन्दुकको आवाज गाई भैँसी फुकी गो
आँखाको आँसु खस्न नपाई आँखामा सुकी गो ।
बाख्राको पाठा मेटेटे गरी कराऊँ थियो आँगनमा
बारुदको धुवाँ उडेको थियो सुन्तला बगानमा ।
गाई र गोरु बुव–बुव र बुहुँँ–बुहुँ दगुर्थे बारीमा
तल र माथि मानिसको घुइँचो सिस्नाको घारीमा ।
काखको बालक रुनु थाल्यो त्यो बेल्ला अवसरमा
मानिस धेरै निधाका थिए त्यो मृत्यु शय्यामा ।