जयमाया
प्रतिमान सिवा
अमेरिका
मुट्ठीभरि माटोको सुगन्ध,
अनि,
हृदयभरी देशप्रेमको छहरा बोकी,
स्वतन्त्र आकाशको पतङ्गा खोज्दै,
विश्व-भुगोलभरि नचिनिएकी जयमाया,
कहाँको माटोमा मेरो मातृभूमि रमाउँछ भन्दै
बर्मादेखि लिखापानी हुँदै,
गोर्खादेखी सिब्सू-साम्ची र चिराङ्ग हुँदै,
भ्रह्मपुत्रको किनारदेखि फाक्-फोकसम्म हुँदै,
बेल्डाँगिदेखि कोलम्बससम्म आईपुगेकी जयमाया,
इन्द्र बहादुर राई, कृष्ण धराबासी र निशा लिलालाई सोध्छिन्,
“मलाई अझै कति हिँडाउछौ?”
“मलाई अझै कति दु:ख दिन्छौ?”
यात्राको क्रममा तिनले देखिन्,
धनेको हालत तेस्तै छ,
न्यासुर कान्छाको पनि उस्तै छ।
अन्तरमनमा कस्तो थियो कुन्नि?
बरु रिकुटेहरू रमाएको भेटिन्।
बिसे-नगर्चीसङ्ग
अलिकति अर्ती पैंचो मागौं भन्दा-भन्दै
त्यो एक मुट्ठी माटो कहाँ रखौं हुँदा-हुँदै,
अर्को बज्र आईपर्यो,
भाषा नै बिलाउला जस्तै भयो।
युगौंदेखिको
माटोको कथा, वेदनाका व्यथा
कसरी बिसाउँ मेरी नव-पुस्ताकी जयमायालाई ?
गन्तव्यको खोजीमा
हिँडाईएकी/हिँडेकी जयमाया
अब कोलम्बसदेखी कहाँ जानु पर्ने हो,
पुकारिन जयमायाले- “हे प्रभु! म किन नेपाली हुँ??”