जिउँदो ईश्वर

कवि
कवि

देव लामा 
जर्जिया, अमेरिका

मन्दिरमा के छ ?
मस्जिदमा के छ ?
गुम्बामा के छ ?
चर्चमा के छ ?
अरू.. के-केमा के छ ?
देख्या छैन, भेट्या छैन ..

मन्दिर, मस्जिद, गुम्बा, चर्चसम्म पुग्ने
निर्जन सडकहरु छन्..
जहाँ रछ्यानको सगरमाथा छ
जहाँ ढलको गङ्गा बग्छ
जहाँ अतृप्त प्यास छ
जहाँ प्रचण्ड ताप छ
जहाँ तुसारे शिशिर छ
जहाँ स्वार्थको असिना पर्छ
त्यहाँ बाँचेको छ …
मेरो जिउँदो ईश्वरको फूल
खालि, मनको दृष्टि परेको छैन
प्यास मेट्ने, प्रेमको वर्ष परेको छैन
मायाको घाम उदाएको छैन
छातीभरि फुल्न, मनको फूलदानी भेटेको छैन
देउताको हुन, हृदयको मन्दिर भेटेको छैन
त्यहाँ के छैन, सब थोक छ….
मेरो जिउँदो ईश्वरको
फूल छ, कोपिला छ ……..

[प्रस्तुत कविता “स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य” मा आधारित छ- कवि]

Leave a Reply

Your email address will not be published. Required fields are marked *