जिन्दगीलाई फर्केर हेर्दा …..
ईश्वर प्रवासी
अमेरिका
जिन्दगीलाई फर्केर हेर्दा कैयौँ लज्जास्पद् र उच्छृंखल व्यवहार गरिएछ भन्ने महुशुस हुँदैछ । स्कूले जीवनबाट श्रीगणेश भएको त्यो हाँस्यास्पद व्यवहार कलेज जीवन आइपुग्दासम्म पनि छाडिएनछ । आफूलाई मन पर्ने केटीको घर नेरको बाटो दिनमा सात पटकसम्म पनि हिँडिएको रहेछ । कतै देखिएला र मनको धित् मरुन्जेल हेरौँला भन्ने लाग्थ्यो त्यस ताका । कतै बाटामा भेट भइहाले अन्कनाउँदै दुई चार शब्द बोलेको हिजो अस्ति जस्तो लाग्छ । आफू सकेसम्म अरू केटाभन्दा सुन्दर देखिनु पर्दछ केटी पट्याउन …. यही कुराले मानसपटलमा डेरा जमाएको हुनुपर्दछ त्यस बेला । लामो तर असुहाउँदो कपाल तोरीको तेल लगाएर सिलिक्क पारेर कोरिन्थ्यो अनि टाँक बिनाको सर्ट लगाएर एउटा कापी गोजीमा च्यापी पढ्न भन्दै खुब स्टाइलसंग हिँडिन्थ्यो गाउँघरतिर । कतै आफूले मन पराएकी केटी अन्य साथीसँग बोल्दै गरेको र हाँसेको त झन देख्नै नहुने । डाहले आङ नै फुल्लिएर आउँथ्यो । तर त्यो सबै एकोहोरो अनि अव्यक्त प्रेम रहेछ त्यो बेला , कहिल्यै पूरा नहुने ….।
यसरी एस.एल.सी उत्तीर्ण गरी कलेज जीवन सुरु नहुँदै अर्का ट्यापे दिनहरू प्रारम्भ भएका थिए । साथीहरूको लहैलहैमा लागेर हल्का धूम्रपानको पनि लत बसिसकेको रैछ । ‘ओ सोम ! खोईखोई लास्ट पफ तानौँ ” भन्दै साथीहरूसँग चुरोट बाँडी-बाँडी खाइन्थ्यो । अझ एक जना मित्रको िबर्तामोड डेरा बस्दा ताका घरबेटीसंग विवाद परेछ । उनले मलाई उनको पक्षमा दुईचार शब्द बोल्न गुहारे । मैँले दुईजना बिच तटस्थ बसेर सही गलत छुट्याएर मात्र बोल्नु पर्थ्यो तर मैँले सिधै साथीको पक्ष लिएर बुझ्दै नबुझी दुईचार शब्द मात्रै हैन दुईचार हजार नै थर्काएँ । बिचरा ती घरबेटी बा पनि छक्क परे । उनले मलाई बुझाउन खोज्दै थिए तर मैँले बिग्रेको रेडियो जस्तो एकोहोरो आफ्नै कुरा मात्रै पोखिरहेँ । अन्तमा उनी थाकेछन् क्यार आफैँ चुप लागे । मलाई ठुलो युद्ध जिते जस्तो भाथ्यो ।
तर कालान्तरमा आएर यी सबै कुरा केलाउँदा आफैँलाई हाँसो उठेर आउँछ । आखिर मैँले त्यस्तो किन गरेँ होला ….. ?? आत्माग्लानी हुन्छ । आज समय र अवस्थाले म धेरै फेरिएछु शायद । त्यसैले भूत र वर्तमानको फरक दैख्दैछु आज । परिस्थितिले सात समुन्द्र पारि डोर्याए पनि ती घटना र क्षणहरु अझै ताजा बनेर सलबलाई रहन्छन् मेरो मस्तिष्कमा । जान अनजानमा गरेका भूलहरु थिए ती सबै । आज प्रायश्चित गर्दै माफी माग्दैछु यी घटनाक्रमसंग जोडिनु भएका सबै पात्रहरुसंग । किनकि, आज धेरै पर छु त्यो परिवेशबाट म । जिन्दगीलाई फर्केर हेर्दा …..।।