जीवनको नयाँ यात्रा
कमलापति सुवेदी
केन्टुकी, अमेरिका
हामी भूटानी शरणार्थी नेपाल भूमिमा लामो समयसम्म पिल्सिएर विस्थापित जीवन बिताउन बाध्य भयौं । पश्चिमी राष्ट्रहरुले आ-आफ्ना मुलुकमा बसोबास गराई बल्ल-बल्ल नागरिकता दिएर राख्ने घोषणा गरे । अन्तर्राष्ट्रिय आप्रवासी संस्था आईओएमले यात्रा लगायतको प्रबन्ध मिलाउने भएपछि मेरो परिवार पुनर्वाश जान इच्छुक भएकोले प्रकृया शुरु भयो । मेरो र भाइको परिवारसहित एक्काइसजना भयौं जसमध्ये पन्ध्रजनाले आ-आफ्नो भविष्य उज्यालो बनाउने सोच्दै २६ जुलाई २००८ का दिन गोल्धाप शिविरबाट जीवनको नयाँ यात्रा शुरु गर्यौं । त्यसै दिन भद्रपुर विमानस्थलबाट हवाईयात्रा गर्दै काठमाडौं पुगियो । १७ वर्ष बिताएको ठाउँ छोड्दा आमाको काखसँग विछोड़िएको अनुभूति भयो ।
निराश अनुहार लिएर हामी त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट जेटभित्र पस्यौं । भारतको नयाँ दिल्ली, बेल्जियमको ब्रसेल्स, न्युयोर्कको जेएफके विमानस्थल हुँदै २३ घन्टा लामो हवाई यात्रा पुरा गर्यौं । अमेरिकाको न्युयोर्कस्थित पोर्ट अफ इन्ट्रीमा आफ्नो नाम दर्ता गराउनुपर्दो रहेछ । त्यहाँबाट ३० जुलाईका दिन न्यू मेक्सिको नामक राज्यको अब्लुकर्की भन्ने सहरका लागि प्रस्थान गरियो जुन हाम्रो अन्तिम गन्तव्य रहेछ । यस सहरमा क्याथोलिक च्यारिटी नामक संस्थाले हाम्रो बस्ने, खाने साथै अरु विभिन्न मानवीय सहयोग, अभिमुखीकरण र मार्गदर्शनको जिम्मा लिएको रहेछ । संस्थाका प्रतिनिधिले दर्शाएको सौहार्दता र प्रेमबाट हामी प्रभावित भएका छौं । म लगायत मेरो परिवार यस संस्थाप्रति कृतज्ञ र आजीवन ऋणी छ ।
भूटानमा हाम्रा पुर्खाले सयौं वर्ष बिताएको इतिहास छ । मैलै पनि पाँच दशकको जीवनयात्रा त्यहीँ पुरा गरेँ । हामीले दुःखकष्ट गरी कमाएको सम्पत्ति भूटान सरकारले जफत गर्यो । म लगायत सयौँ भूटानी नागरिकहरुलाई सैनिक प्रयोग गरी देशनिकाला गरियो । मेरो सारा सम्पत्ति जफत भयो, देशबाट लखेटिएपछि म र मेरो सम्पूर्ण परिवार सकुशल नेपाल आइपुग्न सफल त भयो तर, भूटान छाड्नुपर्दाको पीडा मेरी आमाले सहन सक्नुभएन । नेपाल आइपुगेको दुई महिना नबित्तै उहाँको निधन भयो ।
सत्र वर्षसम्म शिविरमा बसेर कष्टमय जीवन बिताएको कुरा मलाई पलपल याद आउनेमात्र होइन ती क्षण सम्झिँदा अझै पनि कष्ट हुन्छ । मैले अमेरिका आइपुगेपछि क्याथोलिक च्यारिटीमा आफ्नो परिचय दिँदा नयाँ जीवनको शुरुवात गरेको अनुभूति गरेँ । यहाँको परिपाटी जान्नका लागि चलाइएको कक्षाले मलाई धेरै मद्दत गरेको छ । अभिमुखी कक्षा जाँदा, खानाको कार्ड लिँदा परिचय पत्र बनाउँदा सोसियल सेक्युरिटी कार्ड आदि बनाउँदै एक महिना त यसै बितेछ । भाषा जान्न पनि अति आवश्यक भएको हुँदा बुढ्यौलीमा पनि अङ्ग्रेजी सिक्ने भएँ । उमेर ६ दशक पार भए तापनि इएसएल (इङ्लिस एज अ सेकेन्ड ल्याङ्ग्वेज) पढ्नको लागि विद्यार्थीको रुपमा आफ्नी पत्नीसहित जाने गरेको छु । अमेरिका आएर विद्यालय जान पाएकोमा अत्यन्त हर्षित छु । म सँगै हुकिर्एका कोही साथीहरु आज वृद्ध भएर पनि साईकल-गाडीसम्म देखेका छैनन्, खेतीपाती र जनावर धपाएर बाँचेका छन् । उनीहरुले उब्जाएको खेतीले नपुगेर ढाकर-तोक्माका भरमा जीवन चलाएर बसेको यथार्थ मेरो मनमा झलझली छ ।आज पनि उनीहरु भूटान सरकारको दमनमा आफ्नो जीवन स्वतन्त्र जिउन पाएका छैनन् । यो नै मेरो लागि सबैभन्दा दुःख लाग्दो कुरो छ । तर पनि मेरा जीवनका उकाली-ओरालीहरुमा घिस्रिँदै म अमेरिकाजस्तो विकसित राष्ट्रको नागरिक हुन पाउने आशामा सन्तुष्ट छु ।
म अमेरिकामा आइपुगेको तीन महिना र दश दिनमात्र हुँदैछ । यो विशाल राष्ट्रबारे सबैथोक जान्न नसकिए पनि देखे जानेका साधारण कुरा छोटकरीमा प्रस्तुत गर्छु । यहाँका सबैभन्दा अनुकरणीय कुराचाहिं अनुशासन तथा व्यवस्थापन हो । यहाँ सबै मानिस सभ्य र अनुशासित छन् । हाट-बजारमा दलाली गर्नु पर्दैन, आफूलाई चाहिएको चीजबिज लिएर काउन्टरमा गएपछि सबै हिसाब हुन्छ । नगद चलाउने चलन धेरै कम रहेछ । मानिस डेबिट र क्रेडिट कार्ड प्रयोग गर्छन् । कुनै समान लिएर कार्ड रिडरमा कार्ड घोट्दा बिल आउँछ । बिल थाप्यो हिँड्यो गर्ने चलन रहेछ । अफिसमा जाँदा काम फटाफट हुन्छ । कुरिरहनु, हाकिमलाई नमस्कार गर्नु र चियापानी खुवाउनु पर्दैन । गाडी वर्षामा बढेका नदीको भेलझैँ एउटै बाटामा दर्जनौँ कुद्छन् । बस गाडीमा ड्राइभरमात्र भए पुग्दोरहेछ कन्डक्टर र खलासी चाहिँदो रहेनछ । गाडीको भाडा हातमा दिनु पर्दैन, पैसा हाल्ने छुट्टै मेसिन हुँदोरहेछ । गाउँ-सहर आदि कहीँ पनि ढल देख्न पाइँदैन । सबैतिर सफसुग्घर हुँदोरहेछ ।
अर्को कुरा अमेरिकाभरिका घर, मन्दिर, चर्च, साधारण बस्ति, गाडी, रेलगाडी आदि मानिस बस्ने सबै ठाउँहरुमा समयअनुसार तातो-चिसो -एयर कन्डिसन को व्यवस्था छ । कसैले जाडोमा कक्रिनु, गर्मीमा असिनपसिन हुनु पर्दैन । यातायतको कुरा गर्दा बस, रेल र मसिना गाडी प्रशस्त भएपनि नपुगेर ट्याक्सीको काम हवईमार्ग द्वारा चल्छ । अमेरिका एक विशाल राष्ट्र छ तर, म बसेको ठाउँ सबै मधेशजस्तै सम्म छ । कहीं पनि अग्ला हिमाल-पहाड देखिँदैनन् । अमेरिकाका प्रायःजसो सबै राज्यको वातावरण स्वच्छ छ । यस राष्ट्रको भौगोलिक बनोट, प्राकृतिक वातावरण बुझ्न निकै अध्ययन गर्नुपर्ने रहेछ । मानिसहरुको कुरा गर्दा आ-आफैं अनुशासित छन् । कसैलाई कसैले इच्छाविपरीत छुँदैनन् ।
अमेरिकाले संसारभरिका शरणार्थीहरु ल्याएर राख्ने चलन भएको हुँदा हामी पनि आउन पाएका रहेछौं । यहाँ प्रायः सबै राष्ट्रका मानिस छन् । हामी भूटानी शरणार्थीहरुलाई पनि अमेरिकाका प्रायः सबैजसो राज्यमा छरेर राखेको छ । भेटघाट हुँदैन धेरै टाढा-टाढा परिन्छ । तर सञ्चारमाध्यमको धेरै राम्रो सुविधा भएको हुँदा मनमा लागेको सबै कुराको आदान-प्रदान हुने रहेछ । यदि अमेरिकाको जस्तो व्यवस्था नेपाल र भूटानमा भए कति राम्रो हुने थियो । प्रकृतिले नेपाल र भूटानलाई जति दिएको छ अरु राष्ट्रलाई शायदै दिएको होला ।
(यो लेख तयार गर्दा लेखक अमेरिकाको न्यू मेक्सिको राज्यमा थिए -सम्पादक )