जीवनखोला
–तुम्बेहाङ्ग लिम्बू
जीवनखोलाको किनारमा
भुमरी परेको हरियो दह हाम्रो वर्तमान
यथास्थितिमा घुमिरहने नियति
यो एउटा बाध्यता
यो एउटा थाहै नपाई परेको आदत
कड्वा खैनीको जस्तै
विदेशी सिगारको जस्तै
वा सुस्तरी लाग्ने देशी रक्सीको जस्तै
नभई नहुने एउटा जब्बरे लत
जीवनखोलाको किनारमा
सपनाको डिलमा बसेर पानीमा गोडा चोपिरहँदा
दहमा उठ्ने तरङ्ग हाम्रो चाहाना
निमेषमै उठ्ने निमेषमै हराइजाने
अनि दहमा छाउने क्षणिक शान्ति हाम्रो बिपना
अर्को छालले हिर्काउँदा बेपत्ता भइजाने
बर्खा लागेर भेल नउर्लेसम्म
कुनै अर्को निकास नखोज्ने
वैकल्पिक निकास छ कि भनेर
थोरै मात्र पनि टाउको नदुखाउने
यथास्थितिलाई नै सब थोक मान्ने
जिन्दगीको अन्य आयाम स्विकार्न नसक्ने
एउटा मान्दै नमान्ने जब्बरे लत
हाम्रो यथार्थ
सतहबाट माथि उठ्नलाई पनि
दर्के पानी पर्नै पर्ने
यथास्थिति चिरेर अघि बढ्नलाई पनि
भदौरे भेल उर्लनै पर्ने
सबै–सबै वाह्यशक्तिको प्रभावले चल्ने
आफ्नो विवेकले सिन्को नभाँच्ने
एउटा बिचरा मनोदशा
एउटा दास चिन्तनको भावभङ्गीमा
एउटा आदतले मजबूर मन
रहरको हावाघरमा बसेर
परिस्थितिले सुसेल्दै बयली खेलेको हेरिरहने
अभाव र भोकको पाखारेखाहरुमा
वा जीवनखोलाको सेतै फुल्ने काँशेबगरहरुमा ।।