जीवन दर्शन
डा. लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
जन्म देखि मृत्यु , मृत्यु देखि जन्म !
मृत्यु र जीवको यस महायात्रामा
संसारी यस मृग-मरिचिकामा मदमस्त मान्छे
भोग र विलासको वमन गर्दै डकारेको छ,
अनि फेरी जन्म अनि फेरी मृत्यु ,यसको पुनरावृत्तिमा
तेरो मेरो र मेरो तेरोमा अनि सानो ठुलो र ठुलो सानोमा
महाभारत देखि हिरोशिमा –नागासाकी भयो
तर पनि छोड्दैन राम कृष्ण र बुद्धको हत्या गर्न यो मान्छे !
राम कृष्ण र बुद्ध कै कथा गढेर
धर्मलाई सम्प्रदायमा खुम्च्याएर
वेद पुराण र उपनिषदमा ओढाइएको छ वासा नजर छलेर,त्यसैलेत-
वेद –सत्य र धर्मका काँउचुलि फेरीए ,नयाँ छाला झन् विषालु भरिए,
मायाको भ्रममा मग्न यो संसारलाई
डोरीमा सर्पको क्षणिक आभास हो,
त्यसैले असत्य सत्य भो ,सत्य असत्य भो !
अब चाहियो सत्यको नयाँ परिभाषा !
अब चाहियो धर्मको नयापरिभाषा –
वेदको वेदत्व भुलेर होइन
उपनिषद्को मर्म छलेर होइन
कांचन सिसाको त्यो धूलो पुछेर, पल्टाएर मनभित्रको चप्परी
मानवले मानव पुजेर होइन,मानवले मानव बुझेर
विचार पुजेर दर्शन रोप्नु पर्छ यहाँ !
धर्म छोडेर होइन,कर्म तोडेर होइन ,
अनुसाशन र शुद्धाचरणको अध्याय जोडेर
परोपकारमा आत्महितको प्राणायाम गरेर हिन्दुत्वको लाज राख्नु पर्छ !
तब फल्ला सत्यको त्यो तितो फल मीठो भएर
अनि खुलला विज्ञान र अध्यात्मको महाद्वार !
तब होला “तत्त्वमसि”को अर्थसार !
अनि होला “ब्रह्मास्मि”को तत्त्व विन्यास,
यही त हो शान्ति र सुखको शिलान्यास !
विभेद र अविवेकको युद्धविराम !अनि जीवनचक्रको पूर्णविराम ! !