जीवन मार्ग

मधु घिमिरे
मासाचुसेट्स, अमेरिका


सहयोग दया सेवा करुणा प्रेम आदर
गुण यस्ता सदा राख्दा चित्त बन्दछ सागर।
धन दौलतको भन्दा रक्षा गर्नु चरित्रको
धन दौलत नासिन्छन् चरित्र दिव्य शक्ति हो।।१II

हिजोका ती कुरा सम्झी जिन्दगी बाँच्नु व्यर्थ छ
भोलिको मात्र सोचेर हिँड्नु अझै अनर्थ छ।
वर्तमान खुसी बन्दा आनन्द भोलि आउँछ                                                                                                                                                                                        आजको कर्मले मात्र जिन्दगी भोलि बन्दछ।।२II

पैसा जागिर सम्बन्ध होइनन् श्रोत हर्षका
आनन्द शान्ति सौन्दर्य आफैंमा हुनु पर्दछ ।
सद्भाव प्रेमले नौलो उत्साह आँट ल्याउँछन्
प्रयत्न नित्य गर्नाले प्रभाकर उदाउँछन् ।।३II

अर्काको भर पर्नाले आफ्नो सीप हराउँछ
लागेमा मनमा शंका अगाडि भन्नु पर्दछ ।
पाखण्डी निर्दयी व्यक्ति चिप्लो घस्न रमाउँछन्
मुखले राम बोलेर पछाडि चक्कु भिर्दछन् ।।४II

सम्बन्ध गहिरो पार्न भावना बुझ्नु पर्दछ
संसार बुझ्नका लागि पढ्नु हर्दम पर्दछ ।
सादा जीवन बाँचेर उच्च राख्नु छ कल्पना
भ्याउँदा र सकेसम्म गर्नु पर्दछ साधना ।।५II

Leave a Reply

Your email address will not be published. Required fields are marked *