जुत्ता
शिवलाल दाहाल
केन्टकी, अमेरिका
केही दिन अघि मैले काम गर्ने कम्पनीको ११४ वर्ष गाँठ मनाउनेक्रममा वन भोजका लागि बलाइयो । सुपरभाइजरले कपडा गर्मीमा सजिलो हुने खालका लगाउनु होला किन भने हाम्रो कार्यक्रम बाहिर हुनेछ भनेर अनुरोध गरिन। छोटा कपडा र खेलकुदमा लगाइने जुत्ता उत्तम हुने उनको भनाइ थियो ।
हिँड्ने बेलामा जुत्ता चाहियो । र्याकमा दुईतीन जोर जुत्ता लडिरहेका थिए । ती जुत्ता मध्ये एक जोरमा मेरो विशेष ध्यान गयो । नजाओस् पनि किन ती जुत्ता दुई तीनवटा महादेश पार गरेर आएका थिए ।
नेपालबाट आठवर्ष अघि अमेरिका आउँदा २० केजी झोलामा अँटाएर ल्याइएको । खासमा हिउँमा टिकाउ हुने भनेर नेपालमा खरिद गरिएको त्यो पनि १८०० नेपाली रूपया मूल्यमा ।
त्यो जुत्ता देखेपछि मनमनै सम्झे यो जुत्ताप्रति मैले कति अन्याय गरेँ। कति बेवस्था गरेँ । कति अवमूल्यन गरेँ । फेरि सम्झे त्यसो पनि भएको होइन । हिउँमा लगाउन भनेर ल्याएको हिउँमा त त्यस्ता छोटा र चिप्लिने जुत्ता काम नलाग्ने रहेछ । मैले लगाउन कोसिस नगरेको पनि त होइन । एक दुईपटक सायद काममा जाँदा पनि लगाएको हुँ । लामाेसमयसम्म हिँडेर काम गर्दा ती अलिक गरूङ लाग्ने । बोझ हुने । हल्का खाल्काे चाहियो । एकबार त स्टिलटाे चाहिन्छ भनेर त्यो पनि किनेँ । त्यो कहिले फ्याँकेँ थाहा छैन ।
एकपटक त नेपालबाट ल्याएका यी क्यान्फिस जुत्ता मिल्क्याइदिनु पर्याे भनेर सोचेको पनि हो । कसो भएर फ्याँकिन । अहिले सम्झन्छु किन त्यत्तिकै ती जुत्ता फ्याँक्थेँ । न बिग्रिएको छ । न च्यात्तिएको छ । न काम नलाग्ने भएको छ । काम नलाग्ने भन्ने हुँदैन होइन, हो भने काममा पो नलगाएको ।
ठुटे हापिन र तिनै क्यान्फिस जुत्ता धडेर पिक्निक गएँ ।
त्यसपछि यी जुत्ताप्रति उसै माेहनी जागेछ । यसपटक ओहायाेकाे काेलम्बस जाँदा पनि यिनै जुत्ता लगाएर गएँ । आहा गाडी कुदाउँदा काइदा लाग्यो । धत्ततेरी कस्तो ग्वाँजे म माल पाएर पनि चाल नपाउने ।
आज कुसे औसीँ । बाबाको मुख हर्ने दिन ।क्यान्फिस जुत्ताको यति मोह जागेछ कि मैले बाबुको अनुहार होइन खुट्टा सम्झन पुगेँछु ।
कस्तो मूर्ख मान्छे म । बाबुको अनुहार होइन खुट्टा सम्झिने । कर्म गर्ने कहाँ अनुहार हो त ? मान्छेलाई उभ्याउने, शरीरलाई उभ्याउने खुट्टा त हो त । मान्छेलाई हिँडाउने, मान्छेलाई दौडाउने । कति छ कति खुट्टाको काम ।
बाबाले जुत्ता लगाएको मलाई कहिल्यै सम्झना छैन । खाली खुट्टाले नै उनले जिन्दगीको यात्रा गरेँ । सुन्तलाका काँडा, मैदलका काँडा त्यही खाली खुट्टाले भाँचे । बारी त्यही खुट्टाले टेके, खोला त्यसैले तरे । डाले त्यसैले हाने । चुलीभरि त्यसैले उक्लिए । ढाकरमा सुन्तला त्यसैले टेकाए । सेती भिरेकाे बाटो त्यसैले खने । तुर्सा पुलका लठ्ठा त्यसैले ताने । मालिङ्गा बिटा त्यसैले घिसारे ।
यति सम्झे पछि क्यान्फिस जुत्ताको फुर्ती त्यसै सेलायो ।
उबेला गाउँमा जुत्ता लगाउने चलनै थिएन । भएर पनि जुत्ता लगाउन सक्ने औकात कत्तिको हुँदो हो !
म आफैँले पनि जुत्ता टेकेको धेरै पछि हो । जुत्ताका बारेमा मेरा अनेक सम्झनाहरू छन् । कतै चसक्क बिझाउने, कतै मुटु कटक्क खाने ।
जुत्ताका बारेमा मेलै कहिल्यै सोचेको थिइन । लगाउनु पर्छ भन्ने पनि लाग्दैन थियो । अरूले पनि लगाउदैन थिए । न बाबाआमाले लगाउने, न दिदीबहिनी, न छरछिमेककी, न साथीभाइ । कतकता स्कुल, बजार र बाटामा हिँड्दा आँकाल झुक्कल देखेको मात्र हो ।
पहिलो चोटि जुत्ताका बारेमा मैले सोचेको त्यो बेला हो जतिखेर मेरा खुट्टामा सुन्तलाकाे काँडो रोपियो । हुन त सानातिना काँडाले नघाेरेकाे दिनै हुँदैन थियो, उबेला । बारीमा, खेतमा, सुन्तला बगानमा, जङ्गलमा । काँडाले कति घोच्यो कति ।
त्यो हप्ता हामी लोसे बगानबाट सुन्तला लिएर बजार जान हिँडेका थियौँ । लोसेमा पुगेर सुन्तलाकाे भारी हाल्यौ । हिँड्ने तरखरमा थियौँ । अचानक सुन्तलाकाे काँडा रोपियो खुट्टामा । त्यो सानो काँडो थिएन । पाइताबाट पसेको झन्डै खुट्टो छेडेर बाहिर निस्कियो । पुरै फ्याङर्याङगे भएँ । अब तीन दिनकाे बाटो सुन्तला बोकेर बजार जाने त कुरै भएन । अरू सुन्तला बोकेर बजारतिर लागे । म फ्याङरयाङ् फ्यङरयाङ् गर्दै घरतिर लागेँ । त्यो पनि लोसेबाट धमिले पुग्न थोरै बाटो थिएन ।
सायद त्यही घटनाले मेरो मस्तिष्कमा जुत्ता सुझायो । तर पनि धेरै वर्ष खाली खुट्टै हिँडे ।
खाली खुट्टाले दुख पाएको अर्को एउटा घटना पनि सम्झन्छु । त्यो पाली बजार (साम्ची)बाट घर फर्किर जाने क्रममा एउटा खुट्टा टेक्नै नहुने गरेर दुख्न थाल्यो । फेदी खोलो अनेक पटेक तर्दै चुन्द्वार पुगेपछि अति नै दुख्न थाल्यो । म पछि पर्न थालेँ । त्यो हप्ता कोनि कुन कारणले घरका दिदीहरू बजार आएका थिएन । फेदीमा पुगेर बिहानको खाना खाने भनेर हिँडेका थियौँ । ठाडेमा पुगेपछि खुट्टा दुखेर सहनै नसक्ने भयो । हिँड्नै सक्न छोडे । बरबर आँसु झर्न थालेछन् । मलाई सम्झना भएसम्म मसँग खन्तरेकाका र अधिकारी दिदी थिइन् । अरू को को थिए थाहा छैन । सानो मान्छे धेरैपछि परेपछि अधिकार्नी दिदीले पर्खिन् र के भयो भनेर सोधिन् । मैले खुट्टाको पाइताला देखाए । उनले दम्को परेको रहेछ नुन र खरानी पानीले सक्नु पर्छ भनिन् । थिलथिल परेको खुन जमेको ठुलो फाेको परेको रहेछ । ठाडे ओडारमा खाना खाने भयौँ । त्यहाँ नुन र खरानीपानीले सेकेँ । त्यसपछि धेरै सञ्च भयो र खाना खाएर घरतिर लाग्यौ ।
यी घटनाहरूले मलाई जुत्ता लगाउन उत्प्रेरित गरे हुन् तर मैले पहिलो चोटि जुत्ता कहिल्यै लगाए थाहा छैन । मेरो सम्झनामा रहेको जुत्ता किनेको पहिलो घटना हो -एस्एल्सी (कक्षा दश) को परीक्षा गर्न गरामनी जाँदाको । सन् १९९८ मा । चप्पल चाहिँ सन् १९९३ देखि लगाएको हो । कक्षा ६ मा पढ्दादेखि । त्यो पनि शरणार्थी क्याममा आएपछि ।
जुत्ता -चप्पल आवश्यकता होला – धेरै हिसाबले । स्वास्थ्यका दृष्टिले । सुरक्षाका दृष्टिले । सुविधाका दृष्टिले । बाबाले जुत्ता आवश्यक हो भन्ने कुरा महसुस गर्नु भएन । गर्नु पनि भयो होला तर खाली खुट्टा नै बानी परेपछि उहाँलाई जुत्ताको मोह जागेन । हामी सबैले चप्पल जुत्ता लगाउन थालेपछि उहाँलाई चप्पल लगाउन कर गर्न थाल्यौँ । एचेसरले (एकजना स्वास्थ्यकर्मी तथा बाबाका तास खेल्नी साथी) मलाई भेटेपिच्छे भन्नु हुन्थ्यो “आपालाई चप्पल लगाउन लगाउनु है । बुढेसकाे दमकाे बिमार छ, चिसो लाग्छ चप्पल लगाउन मान्दैन ।”
घरमा उहाँलाई चप्पल लगाउन भनिरहन्थेँ । एचेसरले गरेको अनुरोध पनि सुनाउथ्येँ । हदै भएपछि बेलाबेला घर बाहिरभित्र गर्दा चप्पल लगाउन थाल्नु भयो । एकदिन दुईदिन लगाएपछि फेरि छाेडी हाल्ने । नबुझेर पनि होइन बानी हो भन्ने कुरा मैले बुझेको थिएँ । कुनै समय थियो होला जुत्ता चप्पल लगाउन सक्ने आर्थिक हैसियत नै थिएन । त्यही कारणले बसेके बानी थियो त्यो ।
घरमा सबैले जुत्ता चप्पल लगाउन थालेपछि त्यो प्रतिष्ठाको विषय बन्न पुग्यो । सभ्यताको विषय बन्यो । व्यक्तित्वको विषय बन्यो । स्वास्थ्य र सुरक्षाको विषय त छँदै थियो । त्यो भएर बाबाको खाली खुट्टा हिँड्ने बानीप्रति घरमा सबैको विमति थियो । अरूलाई खुसी बनाउन भए पनि बेलाबेला लगाइदिनु भयो चप्पल यसो बाहिरभित्र गर्दा । त्यति बेलासम्ममा उहाँ निकै अस्वास्थ्य हुनु हुन्थ्यो । धेरै टाढा जान सक्नु हुन्न थियो ।
यता अमेरिका आएपछि एकबार केटाकेटीलाई लिएर म लुइभेलकाे क्षेत्रीय पुस्तकालय गएको थिएँ । भित्र निकै फराकिलो ठाउँ रहेछ । त्यहाँ केही खेल्ने कुरा पनि रहेछन् । खेल्ने पनि सिक्ने पनि प्रकारका । नानीहरूले अघि नै कतिखेर जुत्ता खोलेर खेलिरहेका रहेछन् । त्यहाँका सुरक्षा गाडले स्क्रिनमा बच्चा जुत्ता नलगाई खेलिरहेको देखेछन् । म नजिकै आएर उनले भने ‘नानीहरूले जुत्ता गलाएका छैनन् । बिना जुत्ता यहाँ बस्न पाइन्न । यो पुस्तकालयको नियम हो ।’ हामीले हतार हतार केटाकेटीलाई जुत्ता लगाइदियौँ । यस्तो सफा चिटिक्क परेको ठाउँ छ । कतै छोइए पनि हातको चक्र बस्ला जस्तो । किन यत्राे आपत्ति । फेरि सम्झे देश गुणाको भेष ।
चुपचाप लागाएर त्यहाँबाट निस्कियौँ । कस्तो हिलो, महिलाे, धुलो, चट्टान जुत्ता बिनै हिँडियो । थिएन कुनै आपत्ति । नानीहरूका कारणले आज अनायास लज्जाबाेध गर्नु पर्याे । एकक्षण पनि जुत्ता खोल्नु नहुने । त्यो पनि अनजानमा । कताकता नरमाइलो पनि लाग्यो ।
अचेल बेलाबेला केटाकेटीहरू जुत्ता बिनै घरबाट बाहिर निस्कन्छन् । बिना जुत्ताचप्पल केटाकेटीहरू बाहिर निस्किएको देखेर स्थानीय छिमेकीहरू कोर्से नजरले हेर्न थाल्छन् । लज्जाबाट बच्चन देख्ने बित्तिकै केटाकेटीलाई हकार्छु । बल्लबल्ल बाहिर निस्कन पाएका । हत्तपत्त भित्र गएर जुत्ता लगाउन मान्दैनन् । निकै पटक भनेपछि बल्ल टेर्छन् ।
यी घटनाहरू सम्झेपछि । बाबाका खाली खुट्टाको झन् व्यग्र सम्झना आउँछ । त्यसपछि मेरा बाबा कै दाैतरीहरू सम्झन्छु । आमालाई सम्झन्छु । अघिल्लो पुस्ताका मैले देखेका बुढापाकाहरू सम्झन्छु । ती सबका खाली खुट्टाले छोडेका पदचापहरू कहाँ हराए हुन् । समयको कुन गर्तमा पुरिए हुन् । हिँड्दा हिँड्दै उनीहरू कहाँ पुगे हुन् । हामी कहाँ पुग्याैँ ।
यो लेख्ता लेख्तै ढोकामा कसैले घण्टी बजायो । ढोका खोलेर यसो यता हेरेँ । मेरा ती क्यान्फिस जुत्ता त्यही लडिरहेका रहेछन् । मेरा खुट्टाका पर्खाइमा हाेला सायद ।
फेरि उही क्यान्फिस जुत्ताले मेरो ध्यान आकृष्ट गर्याे ।
हामी अमेरिका हिँड्ने तयारी गर्दै थियौँ । एकदिन बाबाले सोध्नु भन्नु भयो ‘जुत्ता किनिस् के ? उता हिउँ धेरै पर्छ रे । राम्रा जुत्ता किनेर लानु ।’
मैले तिनै क्यान्फिस जुत्ता देखाएको थिएँ । ‘अहो यस्ता छोटा जुत्ताले हिउँमा काम देला के ?’ उहाँको छोटो प्रतिक्रिया थियो । आजभोलि यी क्यान्फिस जुत्ता समाएपछि बाबाको यही वाक्य सम्झिन पुग्छु । जुत्ताप्रति उहाँको अज्ञानता कहाँ थियो र ? मूर्खता कहाँ थियो र ? सानादेखि लागेको बानी बाहेक त्यसमा कुभाव कहाँ थियो र ?
यता अमेरिका आइपुगेर हिउँको रास देख्नु भएको भए भन्नु हुने थियो ‘धत् मूर्ख यस्ता क्यान्फिस जुत्ताले हिउँमा पार लगाउँछ ?’
तर दुर्भाग्य ती महामनाको उतै अवसान भयो । खाली खुट्टा नै जन्मिएर, जिन्दगीको सारा यात्रा खाली खुट्टाले नै पार गरी, खाली खुट्टा नै यो लोकबाट महाप्रस्थान हुनु भयो ।
आज कुसे औँसी । तिमीलाई खोइ कसरी सम्झौँ म । मलाई यो क्यान्फिस जुत्ता लगाएर हिँड्ने बनाउने तिम्रा खाली खुट्टा नै थिए । तिनै खाली खुट्टामा मेरा श्रद्धाका यी शब्दगुच्छाहरू समर्पित छन् ।
तिम्रो सङ्घर्षले हामीलाई सधैँ प्रेरित गरिरहोस् ।
आज त औँसी भयाे । जून लाग्दा तिम्राे अनुहार आकाशमा हेर्ने छु ।
“जुत्ता” सुन्दर कथा । दार्जीलिङे कथाकार शिवकुमार राईको झल्को दिने । Loved it. Worth reading.