जून र म
डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
जिन्दगीले पनि धेरै चलाखी गरिरहन्छ
हरेक दिन नयाँ भविष्यको अास्वाशन दिएर
आफैँबाट एक दिनको जिन्दगी छोट्याएर लान्छ
यही चाल-चलाखि खेलमै
यही जिन्दगीले मेरो आधा जिन्दगी टुक्र्याएको एक वर्ष भयो
मलाई थाहा छ
हजुर अाउनुहुन्न
तरै पनि मेरा कयौँ जिन्दगी अनिँदा यी आँखाहरू
हरेक रात हजुरकै बाटो हेर्छन् ।
आज फेरि त्यो रातझैँ यो रातमा
हजुरको उपस्थितिको आभास भइरहेछ
यो रातमा मेरो साथमा अनि यो जून
जुन जून रातभर यो उर्भर आकाशमा
अलग पहिरनमा सेताम्मै दौडिरहन्छ
अनि म त्यही पहिरनमा
मेरा आँखालाई दौडाइरहन्छु यही जूनसँगै
त्यो माथिको जून र झर-झर ताराको
अनि मेरो यो पहिरनमा के भिन्नता छ र?
मेरी छ वर्षकी छोरीले मेरो
सेताम्मै पहिरनमा मलाई “बेहुली” देखिरहँदा
यही पहिरनलाई यो सत्य र असत्यको परिवेशले
बेरङ्ग देख्छ अनि “विधवा” उपनामले बोलाउँछ।
हजुर नभएर
आज फेरि त्यही रातझैँ यो रातमा
हजुरको उपस्थितिको आभास भइरहेछ
“जाँउ हिँड, सबैबाट लुकाएर लान्छु
अनि प्रणय साट्नु पर्छ मुटुभरि”
हजुरले साटेका यी सपना
आज म यो नाङ्गो रातमा
यो जूनलाई
मेरो निन्द्रासँग साट्न अाग्र्ह गर्दैछु
म कोसिस गर्दैछु यो जुनलाई सम्झाउने कि
उसबेला, जुनबेला हजुर मेरो साथ हुनुहुन्थ्यो
उसबेला झैँ अहिले पनि म सत्य नै छु
त्यस बेला हजुर भएर म हुनुमा सत्य थियो
र त्यो साथ पनि सत्य नै थियो
मात्र फरक, उसबेला हजुरको काख थियो
यसबेला यो रातको काख छ
उसबेला म हजुरलाई छोएर महसुस गर्न सक्थें
अहिले म यो जुनलाई कोशौं टाढा बाट
महसुस मात्र गर्न सक्छु
दुनियालाई छाडेर
हजुरले भनेझैँ हजुरकै साथ हुँदा
मेरो दुनियाँ नै हजुर हुनुहुन्थ्यो
आज त्यही दुनियाँ छ, यो जून छ र यो रात पनि छ
तर पनि सन्नाटा छाइरहेको छ
आज हजुर नभएर
फेरि त्यो रातझैँ यो रातमा
हजुरको उपस्थितिको आभास भइरहेको छ
तर थाहा छ हजुर
हाम्रो विवाहको जन्तीमा दुनियाले साथ नदिँदा
साथ दिने यो जून र यी ताराहरू
मेरो एक्लोपनलाई साथ दिन
फेरि आज जाग्राम बसिरहेछन्………..