जोखना
डा. शान्ति छेत्री
सिक्किम
सिक्किम
बजार पछिल्तिरको गल्लीको एउटा कोठामा चार जना स-साना छोरा-छोरीसित एक जना भरिया दाइ आएर बस्न थालेको थियो। केटा-केटीसित केटा-केटीहरू नै पहिला झ्याम्मिए।
‘तिमेरू काँ’ बाट आ’को?’ मानवीरले सोधिहाल्यो।
‘हामी उ पारिबाट आ’को। किन सोधेको?’ दिदीले उत्तर दिइन्।
‘घरमा आमा छैन?’ रमाले पुनः सोधी।
‘आमा त…. आमा त… माथि भगवानको घरमा गइन्- पोहोर।’ ठुलो केटोले भन्यो।
‘यो सानु भाइ कत्ति लुते नि!’ रेणुले भनी।
‘आमाको दूध खानु पाएन नि बिचराले।’ दिदीले फेरि भनिन्। मालाले गोजीबाट पेपरमेण्ट मिठाई र बिस्कुट निकालेर भाइलाई दिइन्। उसको मुख एक छिन उज्यालो भयो।
धनबहादुर हो उसको नाम। मण्डलका माहिला छोरा- अर्काकी स्वास्नीलाई घर ल्याउनु हुँदैन भन्दा भन्दै एउटी छोरीसहित घरभित्र पस्दा रातभरि मण्डल बाबु राँकिएर बसिसक्नु भएन। भालेको डाक सीतै उनीहरू सुटुक्क निस्के- धन-सम्पत्ति, रवाफ, कुल-कुटुम्ब पछि छोडेर सिमाना काटेर हिँडेको धनबहादुर अहिले धने दाइ भएको छ। चार सन्तान जन्माएकी उसकी प्रेयसी बिन्दु अब उसित छैन-उसले कसै गरी बचाउन सकेन न त आकाशका जून-तारा नै बन्धक राखेर उसलाई सुख दिनु सक्यो। उ कहिलेकाहीँ घोरिन्छ-“बाबु-आमाले पो सरापेर हो कि? कि त बिन्दुकै लोग्नेले ‘कसरी गरिखान्छ हेरुँला नि’ भनेर दागा धरेर हो कि! आमा बाबुले किन पो सराप्थे र? तर चित्त त निश्चय दुखाएँ नै!”
यो कान्छो जन्मँदा ज्योतिषीले भन्थे- ‘यो कि राजा हुन्छ कि जोगी!’ खै, यो जन्मेपछि राजा हुने लक्षणै देखिएन। आमा चैँ पनि अघि लायो- मलाई पनि दश ठाउँ सरिरहनु पर्यो। यै ठुली छोरीको भरमा यी चल्लाहरू हुर्किरहेछन्। मैले अरूको भारी बोकेर कतिन्जेल थेग्न सक्छु होला र! “हे ईश्वर! दया गर।…”
अनि, ईश्वरले महिना दिन भित्रै दया गरे-धने दाइ रहेनन्। ती केटा-केटी त्यसै त्यसै हुर्के। दिदी-भेनाले उनीहरूलाई बाटो देखाए-उनीहरू अब त्यो गल्लीबाट एक दिन हराए। कसैलाई केही फरक परेन।
झन्डै 15 वर्षपछि त्यस बजारमा एउटा हल्ला चल्यो- ‘धने दाइको कान्छो छोरा त फौजी भएर आएछ। क्या रवाफ छ पराइको। साथीहरू भेट्न आएको रे।’ हातमा कुसुमे रुमाल, आँखामा कालो चस्मा र काँधमा ट्रान्जिस्टर भिरेको। गोपाल, मानवीर र रघुनाथलाई सोध्दै थियो रे। एक दुई घरमा गएर भलाकुसारी सोध्यो। त्यो ठाउँको माया लाग्छ भन्यो। बाबु र दिदीको खुबै याद आउँछ भन्यो। उसको एक दाजु चैँ धरानतिर लाग्यो रे। अर्को चैँ सिक्किममै छ रे। दिदी भेनालाई पनि भेटेर आएको रे। अब 10 दिनपछि पल्टन फर्कन्छ रे। उसको गफ सुन्न बजारका रौसेहरू चौतारामा साँझसम्म बसिरहेका हुन्थे। ‘पल्टनमा क्या मजा छ केटा हो!’ भनेर गफ जोत्थ्यो। अरूहरू पक्क परेर हेरेका हेरेकै हुन्थे।
दुई दिन पछि धने दाइको छोरो जीतमान त्यहाँबाट कसैलाई केही नभनी हरायो। कसैसित टा-टा बाई-बाई नभनी कस्तरी जुरुक्क उठेर हिँड गा’को? कस्तो बेसुरको मान्छे भनेर कुरा काटे अनि भुसुक्क बिर्से। संसारमा यस्ता आगन्तुक कति आउँछन् कत्ति जान्छन्। हिसाब राखेर साध्य छ र! मै हुँ भनेर गर्जनेहरूको त ‘खोज-खबर हुँदैन। सबै जना आ-आफ्नै गोरख- धन्धामा लीन मानव-समाजले ईश-चिन्तन त गर्ने समय पाउँदैनन् भने जाबो फौजीलाई कसेले सम्झना गरिरहोस्। आजकल त्यस ठाउँमा कसैले पनि उसको सम्झना गर्दैन।’ आयो गयो माया-मोह, आएन गएन को हो- को हो? हरे कस्तो समय आएछ!
दुई वर्षपछि त्यही ठाउँमा हिउँदको बेला स्कुले भुरा-भूरिहरू एउटा बौलाहाको पछि-पछि कराउँदै कुदिरहेथे- ‘औ दाइ! औ जितु दाजु! यो तिम्रो बजार हो? यहीँ तिम्रो बाबा र दिदी-भेना छन्? तिमी उनीहरूलाई भेट्न आ’को?’
कालो चस्मा लाएको जितु भनिरहेको हुन्छ- ‘हो त, म जन्मेको ठाउँ यै हो। मेरो आमा-बाबु मरेको ठाउँ यै हो-जा पर जा: नाथेहरू! मलाई खेद्नु सक्छ तिमेरले?”
माइत आएकी मालाले छोरीलाई आफूतिर तान्दै भनिन्- ‘बिचरा जितु भाइ त! के भएर बौलाएछ नि? कठै! मान्छेको भाग्य पनि।’ मिठाई दोकानमा चिया-सिँगडा खाँदै गरेको बहिदारले भन्यो, ‘त्यै त दिदी! पल्टनबाट छुट्टीमा घर आउँदै गर्दा जलपाइगुड़ीका ठगहरूले माल-सामान सब लुटिदिएछ। बिचरा! एक्लै कराउँदै हिँड्दै थियो अरे। हाम्रो ड्राइभर मामाले चिनेर गाडीमा चड़ाएर यता ल्याइदिएछ। यता आएपछि अलिक होस आए जस्तो छ। बजारका सबै मिलेर अस्पताल लैजाने सल्लाह गर्दै छन्।’
‘लौ है, धर्मै हुन्छ। (मद्दत) सहयोग गर्नुपर्छ सबैले। बिचरा, आफू हुर्केको ठाउँको मायाले आएछ चुः चुः बिचरा!
जितु एक्लै फत्काउँदै थियो-‘म यो ठाउँको राजा! मेरो जीउ र ज्यानको मै राजा! किन जानु अस्पताल! मलाई यत्तिकै मज्जा छ हाःहाःहाः!!!
उत्तरबङ्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेकी डा. शान्ति क्षेत्रीका ‘केही विचार’, ‘माया-जाल’,’कथा-संसार’ र ‘समावेशी कथाहरू’ जस्ता एक दर्जन सङ्ग्रह प्रकाशित छन् ।