जोर्ज फ्लोइडको हत्यामा यौटा शोकगीत

यतिराज अजनबी
एड्लेड, अष्ट्रालिया

तीन महिनाभन्दा लामो समयदेखि
सर्वव्यापी महामारीको घनको कठोर मार खेपिरहेको मानव जातिले
भर्खरै भोगेको छ यौटा विक्षुब्ध, अत्यासलाग्दो, अपत्यारिलो, भयानक इतिहास—
जोर्ज फ्लोइडको क्रुर तथा निर्दयी हत्या

COVID-19 नामक अपहरणकारीले मेरा हात-खुट्टामा नेल लगायो
मेरो अनुहारमा पट्टी बाँध्यो
मलाई यसरी निरन्तर तीन महिनासम्म बन्दी बनायो
मैले लगातार ऊसँग जीवनको भीख मागेँ,
“मलाई सास फेर्न गारो भइरहेको छ, कृपया मलाई नमार।”
मलाई थाह छैन उसका कान छन् छैनन्
यद्यपि उसले मेरो प्रार्थना सुन्यो र म बाँचेँ
तर मिनियापलिसको स्ट्रिटमा पुलिसले
जिन्दगीको आखिरी क्षणसम्म प्राणको भीख मागिरहेको
यौटा याचकको अन्तिम विलाप सम्म सुनेन
त्यसैले लेखेँ समयको चिहानमा यो शोकगीत

जंगलको आदिवासी जनावर प्राण बचाउन
सिकारीको कुकुर र बन्दुकसँग डराएर भागे झैँ
मान्छेले जनसेवकसँग कहिलेसम्म भाग्नुपर्ने?
यौटा मान्छेले सास फेर्न अर्कोसँग कहिलेसम्म अनुमति माग्नुपर्ने?
प्रहरीले जनताको प्राण हरण गर्छ कि शरण दिन्छ उसलाई?
यौटा मान्छेले बाँच्नका लागि अर्को मान्छेलाई पुकार्नुपर्ने कुन युगमा छौं हामी?

जोर्ज फ्लोइडको अन्तिम प्रार्थना सुनिएन
तर त्यो बहिरो ईश्वरले नसुनुन्जेल र त्यसको कानको जाली फुटेर त्यो नमरुन्जेल
झनझन चर्को हुँदै जानेछ त्यो प्रार्थनाको गुञ्जन
उसको दबाइएको गलाबाट निस्किएको नश्वर, हृदयविदारक रोदन
नीलाम्मे समयको अँध्यारो सुरुङमा अनन्त प्रतिध्वनित भइरहने छ
उसका अन्तिम शब्दहरू कहिल्यै अन्त हुनेछैनन्
अभिलिखित हुनेछन् कालो इतिहासका सेता पृष्ठहरूमा
घोप्टो पारेर भुइँमा पछारी पुलिसले जोर्जको हात-खुट्टा बाँध्यो
र उसको डाढ र घाँटीमा घुँडा गाड्यो
मिनेटौं प्राणको भिक्षा मागिरहेको
अन्तिम सासको ठीक अघिल्लो पलमा पनि बिचरा उसले भनेको थियो—
पानी कृपया, म सास फेर्न सक्दिनँ । मलाई नमार न, ऐया ……।
अन्य केही पुलिसले चुपचाप हेरिरहे यो दृश्य

एक हिंस्रक सिंहले यौटा अफ्रिकी जङ्गलमा कमजोर हरिणलाई
उसको आफ्नै इलाकाको पृथ्वीमा पछारेर
ऊ रगताम्य भई उसका सहोदर तथा साथी-सँगीहरूलाई
र उसको मातृभूमिलाई उसले अलविदा नभनुन्जेलसम्म
निर्दयी नङ्ग्रा गाडिरहेको र
आफ्नो जातीय भोक मार्ने प्रतिक्षामा उत्तेजित हुँदै परभक्षी ओठ चाट्दै
त्यो हत्या र त्यसको वरिपरि हेरिरहेका अन्य सिंहरूको दृश्यभन्दा
एक अंश पनि कम नृशंस लाग्दैन यो दृश्य

यस ग्रहमा कुनै पनि मानिसले
पुलिसको पोसाकभित्र परिचय छिपाउने पिशाचलाई
फेरि कैल्यै भन्नु नपर्ने भइदिऊन् यी शब्दहरू
म कामना गर्छु कि जोर्जको हत्याले
देख्नेको आँखा ओसिलो हुने
सुन्नेको भक्कानो फुट्ने, हृदय विदीर्ण र कमजोर हुने
यस्तो अकथनीय पीडाको हत्या गरोस्

अर्को जातिलाई पिस्ने लिप्सा पैदा गर्ने
यौटा मानव जाति जब उग्र बन्छ अर्कोमाथि
मान्छेको मन फाट्छ अनि
पृथ्वीको गर्भबाट उम्रेको पानीजस्तो
प्रवाहित हुन्छ उसका आँखाबाट आँसुको नदी
जो अनियन्त्रित बग्छ भत्काउँदैभत्काउँदै भुइँ
जहाँ अडिएका हुन्छन् अनेक धरोहर
मानवीय सभ्यता, आस्था, अस्तित्व र संरचनाहरू

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *