झुप्रो

ओम पोख्रेल
विन्डसोर, क्यानाडा

मेरो सानो झुपडी मलाई आज पनि सम्झन्छ होला
मझेरी र आँगनले भुलेको छैन होला
चित्रा र खरका छानाहरु बाडुलीमा
मायाका कोसेलीहरू साट्छन् होला
बॉंसका खॉंबा- बलाहरू मक्किँदै जॉंदा
अब त मलाई फेर्छ भन्दा होलान्
धमिराले खाएर धुलै-धुलो भएका बारका भाटाहरू
कागज टालेर हामीलाई नि नयॉं बनाउँछ भन्लान्
अगेनाका खाडलहरू, आज त झिरीमिटी दाउरा बाली
मेरो ओस्सी सकेको भुईँ तताउला भन्लान्
मझेरी; लिप-पोत गरी मलाई नि
राम्री बनाउलान् भन्दी होली
आँगन मेरो स्वागत गर्न अझै पर्खिरहन्छ होला
दैलाका ठेलाहरू आँखा नथाकुन्जेल
मेरै बाटो हेरिरहन्छन् होला
बलेँसी पनि गह भिजाएर टोलाई रहन्छ होला
सिकुवा  चढ्ने खुड्किलाहरू
मेरा पाइला पर्खिरहन्छन् होला

मेरो प्रिय झुप्रो
मेरो बाल्य कालका नादानी सम्झिँदो होला
मेरा बाल-सखाहरूसँगको बालकृँडा याद गर्दो होला
अनि अलिकति मुस्कुराएर
मुटु गॉंठो पार्दै भक्कानिदो होला
मेरा हज्जारौँ गल्तीलाई माफ गरी दिने
मेरा भुलहरूलाई लुकाई दिने
अनि आपत्-बिपतमा, सुख सयलमा
सधैँ भरी मेरै जुगाडका निम्ति तत्पर मेरो प्यारो झुप्रो
मलाई आज पनि सम्झिरहन्छ होला

तर अब त म टाढा
क्षितिज पारिको गाउँमा छु
बादल पारिको ठाउँमा छु
बिरानो सहरमा छु
नयाँ पथको यात्रा गर्दैछु
जीवनलाई नयाँ बनाउँदै छु
नयाँ सङ्घर्ष थाल्दै छु
अँध्यारोमा पुल्ठो बाल्दै छु
बिउँझिएर होस सम्हाल्दै छु
फेरि पहिलो पाइला चाल्दै छु

त्यो झुप्रो भन्छ होला म बदलिएँ
त्यो झुप्रो सोच्छ होला म अर्कै भएँ
मेरो सोच बदलियो
मेरो बिचार अर्कै भयो
म नयॉं परिवेशमा रमाएँ
म विगत भुलेर हराएँ

तर म बदलिएको छैन
परिस्थिति बदलियो
समय बदलियो
हावा-पानी बदलियो
जीवन शैली बदलियो
सपना बदलियो
तर म बदलिएको छैन
याकिनन म बदलिएको छैन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *