झ्यालखानको भतिजो
विद्यापति मिश्र
काठमाण्डौं
“अंकल आउनोस् माथि हाम्रोमा जाऊँ,” बबिनले भन्यो । उसले त्यसो भनिरहंदा उसका कलिला आँखाबाट आँसु बरर झरिरहेका थिए ।
त्यसपछि उसले मेरो दाहिने हात समातेर आफूतिर तान्न खोज्यो । म कुर्सीबाट उठ्न सकिनँ तर उसले लगाएको बललाई असहज बनाउने पनि कोसिस गरिनँ । बरु, उसैतिर मेरो हात लम्काइदिएँ । उसलाई पक्कै मलाई आफूतिर तानेको भान भयो क्यारे । तर मैँले कुर्सी नछाडेको उसले बिस्तरै थाहा पायो ।
“अंकल नजाने?,” बबिनले फेरि प्रश्न ग—यो ।
हामी दुईबिचको त्यो अनौठो र पीडादायी सम्बन्ध देखेर नजिकै कुर्सीमा बसेका अन्तराष्ट्रिय आप्रवाशी संगठनका सुरक्षाकर्मी पनि छक्क परे । अवाक भएर उनले मतिर टुलुटुलु हेरिरहे ।
“माथि नजाने भए तपाईँको बाइकमा मलाई घुमाइदिनु ल अंकल ?” बबिनले फेरि प्रश्न ग—यो । पाँच पुगरे भरखर छ वर्ष टेकेको भतिजोलाई उसको परिवारसंग पुनर्वाश कार्यक्रमअन्तरगत अमेरिका जान भनेर शिविरबाट काठमाडौ ल्याइएको थियो ।
उसका दुबै प्रश्नको उत्तर मेरालागि असम्भव थिए । “के भनौँ र उसलाई,?” मैँले मन—मनै प्रश्न गरें । मलाई नरमाइलो मसुश भयो । मन खिन्न भएर आयो । आँफैलाई धिक्कारेँ ।
बल्ल—बल्ल काठमाडौं आइपुगेको प्यारो भतिजो यस्तो अवस्थामा त्यहाँ आइपुगेको थियो जसको हिँडाइ, धुमाइ, बसाइ, खुवाइ आदि सबै परिवारको नियन्त्रणभन्दा बाहिर थिए । त्यसमा पनि मेरो त कुनै महत्व नै थिएन ।
न त ऊ मेरो बाइकमा चढन पाउँथ्यो न त म ऊसंग उसले भनेको माथि कोठामा जानसक्थेँ । तर यी सबै कुरा उसलाई पत्तै थिएन, न म बयान गर्नसक्ने अवस्थामा नै थिएँ ।
त्यसपछि, मैँले झोलाबाट क्यामरा झिकें । क्यामराको कबर उसलाई समाउन दिएँ । अनि उसको तश्विर खिच्न खोजेँ ।
यसअघिका सबै भेटमा फोटो खिच्न भनेपछि धेरै रमाउँदै आउने बबिन आँखाभरि आँसु पारेर हेरिरह्यो । तर हाँस्न भने सकेन । उसका दुबै आँखा रसाइरहेका थिए । सायद उसले केही क्षण मै मलाई छाडेर जानुछ भन्ने बुझेको थियो होला ।
उसकालागि मैँले लगिदिएको सन ग्लास लगाइदिएँ । तर पनि ऊमाथि मैँले कुनै खुसीको क्षण देखिनँ । परिस्थितिलाई सम्हाल्न गाह्रो होला जस्तो भयो । भित्रैबाट मन पग्लेर आयो ।
“ल भाइ हामी जाउँ, अंकल भोलि आउनु हुन्छ,” यी सबै अवस्था नियलिरहेकी बबिनकी आमाले उसको हात तान्दै भनिन् । मतिर पुलुपुलु हेर्दै बबिन उसकी आमाको पछि—पछि आइओएमको झ्यानखानतिर लाग्यो । अनि मेरो बल्ल बोली फुट्यो, “ल बबिन राम्रोसंग जानु, म पनि चाँडै आउने छु ।”
वबुरो बबिन पनि बोल्न सकेन । मतिर हेरिरह्यो । उसकी आमाको आँखा पनि रसाए । त्यो कारुणिक दृष्य देखेर आइओएमका सुरक्षाकर्मी पनि अवाक भए । सबैले उसैलाई हेरिरहे । अनि, पर पुगेको बबिनले हात हल्लाउँदै “हुन्छ अंकल” भन्ने इसारा ग—यो र भित्र पस्यो ।
त्यसपछि, टेबुलमाथिको ह्याल्मेट टिपेँ र निस्कन मात्र के लागेको थिएँ, एक जना सुरक्षाकर्मीले प्रश्न राखे, “बिचरा, आज तपाईँलाई साह्रै खल्लो भयो है ?” मैँले उनीतिर फर्केर हलुका हाँस्ने प्रयास गरेँ तर सकिनँ । अनि, बबिनले चढ्न खोजेको मेरो बाइक चढेर म बाँसबारीबाट कीर्तिपुरमा रहेको डेरातिर लागेँ । बाटोमा विभिन्न भावना उकुस–मुकुस भएर आइरहे, आइरहे ।