“टुक्काको जीवन”……..
शेखर कोइराला
पेन्सिल्भेनिया, अमेरिका
वास्तविकतामा जिउनु पर्ने, परिवेशपनि साथमा छ,
समय, काल, परिस्थिति कति हो कति……..
यद्यपि “खोकीको दबाई नरिवलको तेल” जीभरि घसेर
चैतको घाममा छेपाराले झैँ उत्तानो पसारिदा नहुने..
यथार्थ नै यही होला..”घडीको समय नाडीले दिन्छ” भन्थे..
भूत्रो दिन्थ्यो………
तै पनि “भिरको चिण्डो उधो न उँभो” अडेकै छु
अनि ” दुई घरको कुत्ता यता न उता” पनि भएकै छु
“नमच्चिने पिङ्गका सय झट्का” लाउनेहरू मौरी झैँ भन्भनाउँछन्…….
भाग्य र कर्मको चक्र कसले बुझ्ने…..आखिर त्यो
“बाँदरको पुच्छर लौरो न हतियार” न हो..के काम लाग्छ र…..?
खान ख्वाउन, लाउन, लाइदिन..पसिनाका धारा छुट्दा पनि
“कर्म गर्नु फलको आस नगर्नु” अरे…यत्रो?..
जीवन कसरी चल्छ अनि चलाउनु?…तर फेरि
“पैसा न कौडी बजार-बजार दौडी” गर्दा पनि त भएन
हे दैव..जे होस् “माग्दा राज्य पाइन्छ” भन्थे ….घण्टाको?…
एक कौडी पनि कमाई भएन…त्यो नि फापेन मलाई
अब के त अरू…हे मेरा मन्दिरका देउता?
अब जे होस्..”फाईबरको जामा पिउरीको सुरुवाल” जस्तै छ जीवन
भ्वाङ्ग परेको भए नि सञ्च त हुन्छ…त्यसैले ..छ नि..
“रोपाँईमा गाउँछन् कोदाको गीत” भने झैँ..आनन्द छ
“दु:खको पोइ रोइदेला कोही”……..आपतमा
साथ पाएकै भरमा..नाउ जस्तै तर्दै छ….जवानी!
काँहा र कहिले किनारा लाग्छ…थाहा छैन…
अदृश्य, अटल र अचल …समुन्द्र जस्तै…अनि
वायुमण्डलको अदृश्य हावासरि….हाम्रो जीवन…..यो जीवन…
मेरो जीवन……….