ट्रेकिङमा यसपालि

शुकदेव अधिकारी
ओहायो, अमेरिका

खुल्ला राजमार्गजस्तो पर्दा विहीन मेरा आँखामा छिरेको त्यो दृश्य आँखाबाट निस्कन पटक्कै मानिरहेको छैन । कानमा छिरेको त्यो वेदनाको आवाज फर्केर बाहिर आउनै सक्तैन । मुटुमा बिझेको त्यो काँडा जस्तोसुकै शल्यक्रियाले पनि निकाल्न नसक्ने भएको छ ।
हेलिकप्टरबाट ओर्लिएर सेती नदीको झोलुङ्गे पुल तरियो । नदी तरेर करिब चार घण्टाको ठाडो उकालो छिचोल्दा त्यो गाउँमा पुग्यौँ हामी । खडेरी, रोग र भोकमरीले पिल्सिएको गाउँ । पातला घरहरू । कान्लै–कान्ला भएको खेत । तराईका खेतहरूमा यसबेला लहलह धान देखिन्छ तर यो विकट गाउँका खेतमा भने धाँजा फाटेर खुट्टै अड्केलान् भन्ने डर ।

एक मान्छे अग्ला कान्लाका टुप्पामा तीन भित्ते चौडाइ भएका गरामा कति धान फल्दो हो । ढुङ्गै–ढुङ्गाले भरिएको खेत । यिनै ढुङ्गामा नङ्ग्रा खियाएर ज्यान पाल्ने यहाँका किसानहरूले न बियाड नै राखे न धानै रोपे यसपालि । यही गाउँ भएर अघि बढ्दै थियो हाम्रो ट्रेकिङ ।

गाउँका पुछारमा एउटा खरले छाएको झुप्रेघर छ । साँगुरो आँगनका एक कुनामा अवस्थित यो झुप्राका अगाडि सिकुवा छ । सिकुवाका डिलमा दुई आकृति देखिन्छन् । लाग्छ उनीहरू आमा–छोरी हुन् ।

मसँगै गएका दुईजना साथीहरू मभन्दा अलि अगाडि हिँड्दै थिए । उनीहरू त्यस घरको आँगनका बिचमा मात्र के पुगेका थिए, ती ठूलीचाहिँ महिला चिच्याएर उठिन् र मुस्ली लिएर लखेट्न थालिन् उनीहरूलाई । साथीहरू आँगनका डिलबाट उछिट्टिएर तीन कान्ला तल पुगे । फर्केर आउने साहस रहेन उनीहरूमा । मेरो हंसले ठाउँ छोडिसकेको थियो । आँगनको पल्ला छेउको ठुलो ढुङ्गामा छेलिएर ज्यान बचाउने धन्दामा थिएँ म ।
केही बेरपछि चिच्याइ रोकियो । मुस्ली ल्याएर सिकुवाका डिलमा ठड्याइन् उनले । लामो सास तानेर एउटा ठुलो सङ्कटबाट बचेको अभिनय गरिन् । ती सानी केटीको टाउकोमा सुमसुम्याइन् र घरभित्र पसिन् ।

बाटामा खाजा खान बोकेको बिस्कुटको एउटा प्याकेट हातमा झिकेर ती सानी केटीलाई देखाएँ । उनी डराउँदै डराउँदै मनेर पुगिन् । प्याकेट हातमा राखिदिएँ । उनी कुदेर घरभित्र पसिन् । केही क्षणमै दुवै जना बाहिर निस्किए । त्यस बेला म छेलिएको ढुङ्गाबाट निस्किएर देखिने गरी उभिएको थिएँ । ठूली महिलाले मलाई राम्ररी नियालिन् । उनी थचक्क बसिन् भूँइमा । त्यो प्याकेट च्यातेर उनीहरू दुवै जनाले कपाकप खान थाले । ममा केही साहस थपियो । अर्को एउटा बिस्कुटको प्याकेट र एउटा चाउचाउको प्याकेट निकालेँ मैले झोलाबाट । ती प्याकेटहरू एउटा हातमा बोकेँ । शरीरभन्दा केही अगाडि हात लम्किएको थियो ताकि उनीहरूले बुझुन् म त्यो पनि दिन गइरहेको छु ।

बिस्तारै उनीहरू अगाडि पुगेँ म । ती महिलाको आक्रोशित प्रतिक्रिया नपाएपछि सिकुवाको छेउमा बसेँ । धूलै–धूलाको बिछ्यौना लगाएको सिकुवा । सिकुवाकै पल्लापट्टिको कुनामा एउटा फुङ्चो छ । फुङ्चामा एक मुठी सिस्नाका मुन्टा छन् वैलाएका । दस पन्ध्र दिन अगाडि नै टिपिएका हुनुपर्छ ती मुन्टा । घरका छानाका प्वालबाट घाम छिरिरहेको छ । घरका भित्ताको लिपपोत धेरै दिनदेखि भएको छैन भन्ने सङ्केत गरिरहेका छन् त्यहाँबाट उक्किएर झरेका पाप्राले । छानाको ठिक तलतिर माकुराको जालो छ मान्छे नै अल्झाउने ।

उनीहरूका आँखा मेरा हाततिर सोझिए । मैले हातमा भएको खानेकुरा दिएँ । उनले समातिन् । समात्ने क्रममा उनका आँखा मेरा आँखासँग जुध्न खोजे तर आफ्ना आँखालाई अर्कै मोड दिन सफल भइन् उनी ।

केहीबेरको बसाइमा थाहा हुन आयो कि ती ठूली महिला सानी केटीकी आमा नभएर दिदी रहिछन् । उनको नाम दिलमाया माझी रहेछ ।

मेरा साथीहरू किन लखेटिएका रहेछन् भन्ने अनेकौँ तर्कनाले पिङ खेलिरहेका थिए मेरो दिमागमा । यो प्रश्न उठाउने हिम्मत पुगिरहेको थिएन ममा । कुनै प्रसङ्गमा जोड्न सकिएला भन्ने कुचेष्ठाले नम्र आवाजमा सोध्ने प्रयास गरेँ ।
“घरमा को को हुनुहुन्छ ?”
“बहिनी र म ।”
“बा आमाचाहिँ ?”
एक्कासि ठूलठूला आँखा बनाएर हेरिन् उनले मेरो अनुहारमा । मेरो ढक्क फुलेको छातीभित्र हलचल आउन थाल्यो । एकटकले दागा धरिरहेका आँखाका किनारकिनारबाट रातो रङ भरियो किनारभरि । टिलपिल भएर आए, पल्टिए आँसु । आशङ्कै–आशङ्कामा गुजुल्टियो मेरो दिमाग । मनमनै क्षमा याचना गर्न थालेँ । लाग्यो यिनका बाबा आमासँग सम्बन्धित कुनै भयानक घटना हुन सक्छ ।
बीस–बाइस वर्षकी यी युवतीको चेहरा देखेर साह्रै टीठ लागेर आयो । आँखाभित्र भासिएका छन् । अनुहारभरि मुजैमुजा । भय, चिन्ता, शोक र रोगले खर्लप्पै भएको अनुहार । नकोरिएको गुजुल्टे कपाल । अनुहारभरि समस्यैसमस्याको जालो बेरिएको देखिन्छ । खुट्टाका पैताला चिरैचिरा छन् फुटेर, लाग्छ यी खुट्टाले जुत्ताचप्पलको दर्शन नै पाएका छैनन् । भोकमरीले पिल्सिएका तन । यही उमेरका शहरिया युवतीहरूको हाउभाउलाई सम्झेँ । केही अनुत्तरित प्रश्नहरू ठडिए आफैंप्रति । ‘के यो ठाउँमा जन्मनु नै यिनीहरूको गल्ती हो ?  जन्मँदै रोग, भोक र द्वन्द्वको सजायको भागिदारी हुनुपर्ने के त्यस्तो अपराध गरेका छन् यस गाउँका बासिन्दाले ?’
एक प्रकारको मार्मिक हार्दिकताले जन्म लियो मेरो मनमा, “यिनीहरूको उद्धार गर्न सके ठूलो पुण्य हुँदो हो ।”
अर्काको पीडामाथि आक्रमण गर्नु सायद मान्छे जातिको मौलिक अधिकार रहेछ । मलाई उनका बाआमाका विषयमा जान्ने कौतुहल अझै बढ्यो । सोधेँ, “तिम्रा बा–आमा कहाँ गएका छन् ?”

यसबेला उनका रसविहीन ओठहरू उघ्रिए करुण आवाजमा । “दाइ तपाईंले बुझ्न चाहनुभयो, अब म भन्छु, मेरा बा–आमा कहाँ गए ।” व्यथा सुनाउन लायक पाइन् सायद उनले मलाई ।

“दस वर्षजति पहिला मलाई यो गाउँ स्वर्गजस्तो लाग्दथ्यो । मेरो घर पवित्र मन्दिर, जुन बेला बा र दाइ हामीसँग थिए । मेरो दाइ जनमुक्ति सेनामा हुनुहुन्थ्यो । बाबा खेतीपातीको काम गर्नुहुन्थ्यो । खोलामा जाल हानेर माछा मार्ने काम पनि गर्नुहुन्थ्यो । खेतीमा थोरै अन्न उब्जिए पनि माछा बेचेर हाम्रो गुजारा चलेको थियो ।
एक दिन बाबा सेती नदीमा जाल हाँन्दै हुनुहुन्थ्यो । घाम पहेँलो भएर डाडामाथि चढिसकेको थियो । फुर्के डाडाको खोँचबाट चिसो हावा आइरहेको थियो । त्यस दिन जालमा माछा खासै परेका थिएनन् । जाल पानी हानेर तान्न लाग्दा अचानक बाका आँखा त्यहाँ पुगेछन् जहाँ दर्जनौँ लासहरू पानीको बहावसँगै बगेर आइरहेका थिए । बा झसङ्ग हुनुभएछ । उहाँको आङ फुलेर आएछ र शरीरभरि काँढा उम्रिएछन् ।

बाको कुन इन्द्रियले काम गर्यो कुन्नि लासहरू घिसार्दै किनारमा निकाल्नुभएछ । वास्तवमा त्यो सपना थियो कि विपना, केही बेरसम्म ठम्याउनै सक्नु भएनछ । त्यो यथार्थ हो भन्ने बुझेपछि सारा शरीर गलेर आएछ । कहाँका को मान्छेका लासहरू हुन् यी । कसले खोलामा बगायो भन्ने प्रश्नले बालाई उठाएछ । लासहरूका नजिक गएर एकएक गरी नियाल्न थाल्नुभएछ । लासहरू आला थिए । शरीरमा नील डाम र आला घाउहरू थिए । कसैका शरीरमा धारिला हतियारका चोटहरू थिए ।
पहिलो लासलाई उत्तानो फर्काएर राम्ररी अनुहारमा हेर्नुभएछ । त्यो मान्छे उहाँले कतै देखेको हो तर ठ्याक्कै यै हो भन्न सक्नु भएनछ । दोस्रो लास राम्ररी हेरेपछि त्यो आफ्नै गाउँको कुनै युवक हो भन्ने ठम्याउनु भएछ । अनि बडो कठिनले तेस्रो लासको अनुहार आफुतिर फर्काउनुभएछ । मुर्छा परेर त्यै लासको माथि ढल्नुभएछ मेरो बा । त्यो लास उही मेरो दाइ दलबहादुरको थियो ।

त्यसबेलासम्ममा साँझ परिसकेको थियो । यता घरमा म, आमा र बहिनी पर्खेर बसिरहेका थियौँ । बाले माछा लिएर आउनुहुन्छ र खाना खाने भनेर ढिँडो पकाएर बसिरहनुभएको थियो आमा ।
साँझ ढलिसकेको थियो । आकाशमा ताराहरू देखिएका थिए । कुनै एक कुनामा मधुरो जून पनि चियाइरहेको थियो । बालाई कुन दैवी ऊर्जाले साथ दियो दाइको लासलाई काँधमा बोकेर आइपुग्नु भयो घर । त्यो साँझ मलाई अहिलेजस्तो लागिरहन्छ । त्यो घटना मेरो दिमागमा बासी बन्नै सकेको छैन । दाइको लासलाई यही सिकुवामा लडाएर छाती पिटीपिटी रुन थाल्नु भयो बाबा । बा आइपुग्नु भयो भनेर उज्यालो भएको आमाको अनुहारमा चट्याङ् पर्यो । उहाँ गर्ल्याम्मै ढल्नु भयो यहीनेर । आमा बेहोस नै रहनुभयो दुई दिनसम्म । म घरी बालाई घच्घच्याउँथेँ त घरी आमालाई उठाउने प्रयास गर्थेँ ।

आफ्ना दुवै हात मेरा टउकामा राखेर घुँकघुँक गरेर रोइरहनु भयो बा । “सत्यानाश भयो! दिले, सत्यानाश !!” भनिरहनुहुन्थ्यो । घुँकघुँकको रुवाइमै खोलाको सारा वृत्तान्त सुनाउनुभयो उहाँले । बहिनीलाई देखाउदै अझ हृदयविदारक स्वरमा भन्दै गइन् उनी । “यो बहिनी दुई वर्षकी थिई होला त्यसबेला । रातभरि रोइरही भोकले । सारा रात यसरी नै बित्यो ।
बिहानको उज्यालोसँगै गाउँका केही मान्छेहरू पनि आए हाम्रो घरमा । आएका मध्ये धेरैले सान्तवना दिन खोजे तर ती सान्तवनाका शब्दले तिखो शूल बनेर घोचिरहे ।
दाइको सद्गति गरेर फर्किँदै गर्दा चार पाँचजना युवाहरू एक्कासि देखापरे बाटामा । उनीहरूले बाबालाई समाते । भन्दै थिए,  “हामीले गायव गरेका लासहरू निकाल्ने तैँ रहिछस्, हिँड् हामीसँग ।” उनीहरूका खुट्टा समाएर आग्रह गरेँ बालाई छाडिदिनलाई । ‘सोधपुछ गर्नुछ’ भन्दै लिएर गए । अलि पर पुगेर ‘तिमीहरू घर जाओ, म पछि आउँला’ भन्नुभयो बाबाले ।

त्यस दिन उनीहरूले लिएर गएका मेरा बाबा आजसम्म फर्केर आउनुभएको छैन । त्यसै दिनदेखि विपत्ति सुरु भयो हाम्रो जिन्दगीमा । आस्था र भरोसाको स्तम्भ टुट्यो । पहिरो गयो हाम्रो सपनामा । हामी आमा छोरीहरू हरदिन बा आउने बाटो हेरेर बसिरह्यौँ । हररात रगतका आँसु पिएर बाँचिरह्यौँ । मेरो बाबा आउनुहुन्छ भन्ने आशा अझै जीवितै छ ममा । पटक पटक उनीहरूलाई सोध्दा तेरा बाबुको हत्या भइसकेको भने उनीहरूले । आखिर मारिएकै भए पनि लास भेटिएको भए चित्त बुझाउने थियौँ भन्दै रुँदै गर्नुहुन्थ्यो आमा हरेक साँझ । तर मलाई भने बा आउनुहुन्छ भन्ने नै लागिरहन्छ । बाको नाम न बेपत्ताको सूचीमा छ न मारिएकाहरूकोमा नै ।

यी बिचराको व्यथा सुनेर छाती गाँठो परेर आयो । न मैले आँसु झारेर उनको पीडा नै पखाल्न सकेँ न कुनै सहानुभूति दिन नै । न मीठो पीडा झ्याङ्गियो मनभरि । मनका बादलहरू ठोकिए एक अर्कामा नराम्रो गरी ।

उनको व्यथा पोखिइसकेकै थिएन । बोल्दै गइन् “अन्यथा नलिनू होला दाइ । मेरो भतभती पोलिरहेको घाउमा तेरा बाबुआमा खोइ भनेर चुक थप्न आउनेहरूलाई लखेट्ने गरेकी छु मैले ।”
टिलपिल भरिएका आँखा मजेत्रोको छेऊले पुछ्दै भनिन्,“यसपालिको झाडापखालाले मेरी सानी बहिनीलाई चुँडेर लग्यो । त्यो बिचरा बाको अपहरण हुँदा गर्भमै थिई । त्यो अबोध नानीले आफ्ना बाबुको अनुहारै देख्न नपाई लग्यो दैवले ।”

उनको आवाज हल्लिरहेको थियो । शब्दहरू स्पष्ट उच्चारण भइरहेका थिएनन् । अब उनको पीडा शब्दमा मात्र पोखिइरहेको थिएन, शरीरका प्रत्येक अङ्ग अङ्गमा वेदना भरिएको देखिन्थ्यो । जीउ लुलिउर डल्लाझैँ देखिन्थ्यो । सकी नसकी लटपटिएको आवाजमा आफ्नो व्यथा पूरा गर्न चाहन्थिन् उनी ।
दर्दनाक पीडामा मुछिएको आवाज निस्कियो ,“बहिनीको मृत्यु भएको चार दिनपछि झाडापखालाले नै मेरी आमा ………………”  वाक्य पूरा नहुँदै एउटा विचित्रको आवाजसँगै गर्लम्म ढलिन् उनी मेरो काखमा ।
ममा एउटा सोच्न सक्ने सामर्थ्य नै रहेन । ओठमा कुनै शब्द नै बन्न सकेनन् । केवल मेरा हातहरूले उनको टाउको मुसारिरहेँ,  मुसारिरहेँ ।
ट्रेकिङ यसपालि एक दुखी दिगान्तमा टुङ्गियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *