डढेलो
डिल्लिराम रेग्मी
ओहायो, अमेरिका
रमेश! तँलाई त थाहा नै छ
म जस्तो देख्छु त्यस्तै भन्छु
म आफूलाई आजकाल
अरू कसैभित्र
श्वास फेरेझैँ पाउँछु
एकतमासको ऐँठन भइरहन्छ।
बाहिर, पर परसम्म
सन्नाटै सन्नाटा मात्रै देखिन्छ
शहर मुर्छित भएझैँ भएको छ
यो शहर
अब कहिल्यै सामान्य हुन्छ जस्तो लाग्दैन मलाई।
यहाँ उधुम मच्चाउने डढेलो लागेको छ
धुवाँ फैलिरहेछ चारैतिर
आकाशभरि, फोक्सैभरि
श्वास-प्रश्वास रोकिरहेछ
कालो धुवाँ, धमिलो धुवाँ, धारिलो धुवाँ
जो रेटिरहेछ मानव अस्तित्व।
चारैतिर लास डढेका, लडेका छन्
सार्वभौम फैलिसक्यो, हाहाकार मच्चाइसक्यो
नैतिकता हत्या भइरहेछ दिनानुदिन।
हो,
यो फैलावट
अन्तिम तहमा पुग्नै आँट्यो भन्छन्
सगरमाथा छोप्नै आँट्यो भन्छन्
र फेरि भन्छन्
धुवाँदेखि बचाउन
शहर मुर्छित हुनबाट बचाउन
म्वाला पाइन्न रे !
त्यही भएर होला
आजभोलि
हरेक बिहान, हरेक साँझ, हरेक रात
त्यही धारिलो धुवाँ
मलाई घिसार्दै, पछार्दै
मेरो फोक्सो नै फुटाउला झैँ गरी
अजिङ्गरले सरह डसिरहन्छ।
अहिले यो समयमा
समयको समय धेरै छैन
यस्तो लाग्छ
मानौँ
समयका तीनै वटा काँटा
सामूहिक आत्महत्या गर्दैछन् ।
मलाई त यस्तो लाग्छ
यो डढेलो आफैँमा आफैँ लाग्या त हैन होला
झुक्किएर लाग्यो भनौ भने
यतिका बिघ्न?
यो उर्वर धर्ती
छ्यान्द्रै छ्यान्द्रा भइसक्यो, झुलजस्तै
यहाँको सामान्य अब सामान्य नहुने रहेछ
आजभोलि धेरै असजिला दिनहरू
थुप्रै असजिला पलसहित
विभिन्न अप्ठ्यारा सपना बोक्न थालेका छन्
आफ्नै इच्छाहरू मार्ने
अभियुक्त बनेका छन्
यहाँको सामान्य अब सामान्य नहुने रहेछ।।