डम्बर ओस्तीसंग शिवलाल दाहाल
हाम्रा लागि विश्वसाहित्यमा समाहित हुने अवसर पनि हो -ओस्ती
शरणार्थी अवस्था दुःख र घृणाको कहानी मात्रै होइन, यसभित्र पनि अनेक राम्रा र प्रेरणादायी काम भएका छन् । भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा जे जति काम भए तिनै काम, शरणार्थी जीवनका उपलब्धि हुन् र स्मरणीय छन् । दुःख, पीडा र अभावसँग जुझ्दै र संघर्ष गर्दै धेरै मानिसहरुले आफ्नो सीप, जाँगर र कलालाई तिखार्न अनेक प्रयत्न गरेका छन् । अभाव र पीडाग्रस्त शरणार्थी जीवनमा कोही साहित्य सिर्जनातर्फ लागे, कोही गीत–संगीत क्षेत्रमा प्रवेश गरे, कोही समाज सेवातर्फ क्रियाशील भए औ कोही खेलकुद, नृत्य र अध्ययनतर्फ प्रेरित भए । यसरी दुःख, पीडा, निराशा र अभावभित्र पनि सुख, आशा र जाँगरको खोजी हुँदोरहेछ । सुखभित्रको दुःखभन्दा दुःखभित्रको सुख वास्तवमै हृदयग्राही हुँदोरहेछ । असलमा भन्नु पर्दा शरणार्थी शिविरको बसाइमा पनि आफ्नो ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न निष्ठापूर्वक लागिरहनेको संख्या कम रहेन । त्यस्तै उर्जाशील र जागरुक व्यक्तित्व हुन् – श्री डम्बर ओस्ती । शरणर्थी शिविरको नेपाल बसाइमा यिनले आफ्नो क्षमताले, बलले भ्याइन्जेल समाजको सेवा गरे, साहित्य सिर्जना गरे र समुदायको शिक्षा र चेतनाको विकासका लागि निरन्तर क्रियाशील भइरहे। भूटानको सामडुपजोङखरको वकुल्लीमा जन्मेका ओस्ती क्यानाडामा पुनर्स्थापनाको निम्ति प्रस्थान गर्नुअघि २६–७–२०१० मा बिर्तामोडमा भेट हुँदा मैले उनीसँग विविध विषयमा कुराकानी गरेको थिएँ (हुन त पछि काठमाडौमा पनि विदाई–भेट गर्ने अवसर पाएको थिएँ) जसको केही अंश तल प्रस्तुत गरिएको छ ।
तपाईले शरणर्थी शिविरमा रहँदा कुन–कुन क्षेत्रमा काम गर्नु भयो ?
मैले शरणर्थी शिविरमा रहँदा अनौपचारिक शिक्षा, औपचारिक शिक्षा, साहित्य र पत्रकारिता क्षेत्रमा काम गरें । सन् १९९५ देखि निरन्तर सन् २००५ सम्म भुटानी समुदाय विकास केन्द्र (BCDC) खुदुनावारी क्याम्पामा सह–इन्चार्जका रुपमा काम गरें, सन् १९९७ देखि डीएमएसमा शिक्षकको रुपमा पनि काम गरें । नेपाली भाषा परिषद्ले सञ्चालन गरेको भूटान जागरण पत्रिकाको खुदुनावारी संवाददाताका रुपमा पनि काम गरेको छु ।
तपाई एक साहित्यसर्जक पनि हुनुहुन्छ । यहाँको साहित्यिक संलग्नताका बारेमा बताइदिनु हुन्छ कि?
म एउटा साहित्यको विद्यार्थी हुँ । खुदुनाबारीमा मैले नेपाली भाषा परिषद्को शाखा साहित्य संयोजक भएर नेपाली साहित्यको अध्यापन गरें-गराएँ । खुदुनाबारीमा साहित्य साधना अलंकार गुठीको स्थापना गर्न पनि मैले भूमिका खेलेको छु । पछि गएर भूटान गजलमञ्चसँग पनि सम्बद्ध भएर काम गर्ने अवसर पाइयो ।
यहाँले साहित्यालंकार गुठीको प्रसंग उठाउनु भयो । यसको पृष्ठभूमिका बारेमा केही भनिदिनुहुन्छ कि ?
शरणार्थी अवस्थामै भए पनि केही साहित्यिक संघ-संगठनहरु जन्मिए तर कामको मूल्याङ्कन गर्ने र सर्जकहरुलाई उत्प्रेरणा दिने काम गर्न ती संस्थाहरुले खासै ध्यान दिएनन् । फलस्वरुप विषेश गरी साहित्यिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई वार्षिक रुपमा सम्मान गर्ने र पुरस्कार दिने हेतुले खुदुनाबारीका साहित्यिक सर्जकहरु मिलेर सन् २००३ मा आइत कुलुङ्गको अध्यक्षतामा साहित्य साधना अलंकार गुठीको स्थापना गर्यौं । गुठीको स्थापनापछि साहित्य र समाजको सेवा गर्ने व्यक्तित्वहरु श्री लाकजीत राई, डिल्लीराम आचार्य, याम थुलुङ्, शिवलाल दहाल आदिलाई सम्मान र पुरस्कार प्रदान गरियो ।
खुदुनाबारी शरणर्थी शिविरमा भएका साहित्यिक गतिविधिलाई कसरी सम्झिनु हुन्छ ?
खुदुनाबारीका साहित्यिक मित्रहरुमाः– डम्बर खरेल, शेखर खनाल, लीला निशा, टीकाराम राई, मणिराम राई, शिवलाल दहाल आदिलाई सम्झिन्छु । खुदुनाबारीमा जति पनि काम गर्यौं सबैको सहकार्यमा गर्यौं । एक समयमा हामीले साहित्य चौतारी गठन गरेका थियौं, जहाँ हामी साप्ताहिक रुपमा आ-आफ्ना रचनाहरु सुन्ने-सुनाउने गथ्र्यौ । नेपाली भाषा परिषद्ले बेल्डाँगीमा गरेको वृहत साहित्यिक-सांस्कृतिक कार्यक्रम २००४ लाई सम्झिरहन्छु ।
तपाईंहरुको संयुक्त कविता संग्रह ‘त्रिवेणी’ लाई आफैले फर्केर मुल्याङ्कन गर्नुपर्दा ?
त्यो हामी तीन जना युवा-डम्बर खरेल, नारद खरेल र मेरो अभ्यासिक कृति हो । त्यहाँ भएका कविता हामीले साहित्य बुझेरभन्दा पनि बढ्ता आफूभित्रका गुम्सिएका भावनाहरु उजागर गर्ने अभिव्यक्ति हुन् । ती हाम्रा पीडा, दुःख र आक्रोशका अभिव्यक्ति हुन्, रचना हुन् ।
नेपाली भाषा परिषद्-भूटानले पन्ध्र वर्षजति नेपाली भाषा र साहित्यको उत्थान र श्रीवृद्धिका लागि काम गरेको छ । यहाँले परिषद्को भूमिकालाई कसरी हेर्नु भएको छ ?
नेपाली भाषा (सहित्य) परिषद्-भूटानले जुन परिस्थितिमा काम गर्यो त्यो अति प्रसंशनीय छ । विविध काम गर्ने क्रममा केही कमी-कमजोरी पनि भए होलान् तर, कमजोरीको कुरा गर्नुभन्दा असल कामको प्रशंसा गर्नु राम्रो हुन्छ । परिषद्को कामप्रति म सन्तुष्ट नै छु ।
समग्रमा भूटानको नेपाली साहित्यको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
भूटानको साहित्यिक अवस्था भन्नाले अहिले देशभित्रै रहेर लेख्ने स्रष्टा साह्रै थोरै होलान् र त्यहाँ सिर्जना गर्ने सर्जकले आफ्ना भावनालाई कुण्ठित गरेर लेख्छन्जस्तो लाग्छ । भूटानबाहिर रहेर लेख्ने भूटानी स्रष्टाहरु उन्मुक्त भएर लेखिरहेका छन् । यसरी लेखिएको साहित्यले निकै फड्को मारिसकेको छ र मूलधारको साहित्य लेखनभन्दा फरक छैन । यो हामीले भन्नेभन्दा पनि नेपाल तथा भारतका नेपाली साहित्य सर्जक, आलोचकहरुले भन्ने कुरा हो । मूल्याङ्कन गर्ने विषय हो ।
साहित्य, संस्कृति र कलाको विकासका लागि शरणार्थी क्याम्पहरुमा निकै नै काम भएजस्तो देखिन्छ । यहाँलाई कस्तो लाग्छ ?
शुरुमा हामी धेरै दुःख, पीडा र वेदनाले ग्रसित थियौं । शिक्षा र चेतनाको विकासले मानिसलाई साहित्य, संस्कृति र कलाको उन्नति र प्रगतिमा प्रेरित गर्यो । यसले हामीलाई सभ्यताको दिशातर्फ डोर्याएको पनि छ । यो सबभन्दा सुखद कुरा हो ।
विगतमा शरणर्थी क्याम्पहरुमा धेरै साहित्यिक गतिविधिहरु भए, अहिले शरणर्थीहरको पुनर्वाश पछि पनि वेबसाइटमार्फत साहित्यिक रचनाहरु आइरहेका छन् । यसलाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
यो एकदम राम्रो कुरा हो । आज हामी परिस्थितिवश विश्वका विभिन्न देशमा छरिएका छौं, बाँडिएका छौं । साहित्य लेख्ने मान्छेहरुको मन मरिरहेको अवस्थामा यो वेबसाइटमा प्रकाशन गर्ने माध्यमले फेरि एकचोटि लेखक-कविहरुलाई एक ठाँउमा उभिने अवसर प्रदान गरेको छ । यस्तो अवस्थामा हाम्रो साहित्य त हराएर जान्छ होला भन्ने डर लागेको थियो तर, अब यस किसिमको विद्युतीय साहित्यले हाम्रो भाषा-साहित्य मर्न दिनेछैन भन्ने लागेको छ । यो हाम्रा लागि विश्व साहित्यमा समाहित हुने अवसर पनि हो ।
यहाँले पत्रकारिता क्षेत्रमा पनि कार्य गर्नुभएको छ नि, होइन ?
हो, मैले नेपाली भाषा परिषद्-भूटानले प्रकाशित गरको पाक्षिक समाचार-पत्र ‘भूटान जागरण’ मा खुदुनाबारी सम्वाददाताको रुपमा सन् १९९९ देखि सन् २००४ काम गरें । पत्रकारिता क्षेत्रमा मेरो योगदानको कदर गर्दै विपियू (भूटानी प्रेस युनियन) ले सन् २००४ को पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । त्यसपछि परिस्थितिवश क्याम्प बाहिर गएँ र त्यसपट्टिको मेरो लगनशीलता टुट्यो ।
तपाईको भूटान गजलमञ्च र भूटान साहित्य संस्कृति तथा कला केन्द्रप्रतिको संलग्नताका बारेमा बताइदिनुहोस् न ?
म विषेश गरेर कविता र कथा मात्र लेख्छु । गजल मेरो लेखनको विधा नभए तापनि याम थुलुङ, पुरानाघरेजस्ता मित्रहरुको आग्रहलाई स्वीकारेर म गजलमञ्चको संस्थापक सदस्य बनें र छु । भूटान साहित्य संस्कृति तथा कला केन्द्रमा प्रवेश गरेर मैले साहित्य र उद्घोषण कलाको विकासका लागि सक्दो सहयोग गरें ।
अन्त्यमा केही भन्नु पर्ने कुरा छ कि ?
विशेष केही छैन । विगतलाई सम्झिने र मन बहलाउने अवसर प्रदान गर्नुभएकोमा तपाईंलाई धन्यवाद। समयले साथ दियो भने एउटा कविता संग्रह निकाल्ने विचार गरेको छु । जाने बेलामा खुदुनाबारीका सबै मित्रहरु र प्रियजनलाई सम्झन चाहन्छु । –अस्तु
२७–०७–२०१०
बिर्तामोड, झापा
shiva sir,
i am really glad to go through the interview of mr.Damber osti that you had taken.its a praise worthy job.