डार्विनको विकासवादभित्रको आस्तिकता
विकाश धमला ‘प्राञ्जल’
अस्ट्रेलिया
यस संसारमा प्राणी र वनस्पतिहरूको सृष्टि कुनै ईश्वरीय शक्तिको सहारामा स्वतःस्फूर्त रूपमा भएको हो भन्ने मान्यता प्राय सबै धर्महरूमा रहेको पाइन्छ । संसारमा अस्तित्वमा रहेका सम्पूर्ण प्राणी र वनस्पतिहरू कुनै ईश्वरीय शक्तिमार्फत चमत्कारकै रूपमा सृष्टि भएको मानिन्छ । ईश्वरीय तत्त्वले चाहेकै कारण सबै प्राणी जगत् छिनको-छिनमै सृष्टि भएको विश्वास धर्मवादीहरूले गर्ने गर्दछन् ।
इसाईहरूको गर्भमा रहेको बेलायतमा जन्मेका वैज्ञानिक चार्ल्स डार्विनले अठारौँ शताब्दीको अन्त्यतिर प्राणीहरूको सृष्टि र विकासको बारेमा जुन सिद्धान्त अघि सारे, त्यसले विज्ञानको क्षेत्रमा त आधारशिला सृजना गर्यो नै, ईश्वरीय सृष्टिको धार्मिक मान्यताभित्र ठुलै भूकम्प पनि ल्याइदियो । विशेष गरी इसाई धर्मसँग जोडिएको गोस्पेलियन सृष्टिसँग सम्बन्धित साहित्यमाथि डार्विनद्वारा प्रतिपादित सिद्धान्तले ठुलै प्रश्न उब्जायो ।
मात्र ६ दिनमा ब्रह्माण्ड र प्राणी जगतको सृष्टि गरिएको कथन इसाई धर्म ग्रन्थ बाइबलमा छ । यो अवस्थामा डार्विनको मानव विकासको सिद्धान्तले इसाई धर्मभित्रका दुई आधारभूत मान्यतालाई चुनौती दिएको पाइयो ।
१) पृथ्वीको र ब्रह्माण्डको उमेर
बाइबलीय विश्वास अनुसार र त्यहाँ बताइएका जिजसका पुर्खाहरूको आयु सबैलाई जोड्ने हो भने पृथ्वीको रचना जिजसको जन्मभन्दा करिब ४००० वर्षअघि अथवा आज भन्दा करिब ६००० वर्षअघि भएको पाइन्छ ।
तर डार्विनको सिद्धान्त अनुसार ब्रह्माण्डको सुरुवात ६००० वर्ष नभएर करोडौँ वर्षअघि भएको तथ्य अघि सारिन्छ । आजको मानव विज्ञानले नै पनि पृथ्वीमा भेटिएका प्राणी र वनस्पतिका अवशेष र तिनका उमेरको अध्ययन गर्दा ६००० वर्षलाई निकै छोटो समय मान्न सकिन्छ । कार्बन डेटिङ भन्ने प्रविधिबाट जमिन मुनि पुरिएर रहेका अवशेषहरूको उमेर पत्ता लगाउन सकिन्छ । आधुनिक विज्ञानमा यो प्रविधिको सहायताले पुरिएर रहेका यस्ता कतिपय जीवाश्महरू लाखौँ वर्ष पुराना रहेको पत्ता लाग्छ ।
२) स्वतः स्फूर्त सृष्टि
डार्विनको विकासवादी सिद्धान्तले चमत्कारिक सृष्टिको पक्षपोषण गर्दैन । हालको प्राणी जगत् जुन स्थान र अवस्थामा छ, यो अवस्थामा आउन उसलाई लाखौँ, करोडौँ वर्ष लागेको मानिन्छ । जीव र वनस्पतिहरू समयसँगै क्रमिक रूपमा परिवर्तन हुँदै धर्तीमा विकास भएको कुरा विकासवादी सिद्धान्तले भन्दछ । सुरुमा सूक्ष्म र सरल जीवको रूपमा उत्पत्ति भएको र त्यो नै लाखौँ करोडौँ वर्ष पछि आफ्नो रूप र आकार परिवर्तन गर्दै बिस्तारै बिस्तारै कम्प्लेक्स प्राणीमा रूपान्तरित भएको मानिन्छ । यसरी क्रमिक विकासको रूपान्तरणको क्रममा प्राणीहरू विभिन्न वातावरण अनुकूल आफ्नो शरीर बदल्दै कालान्तरमा आफ्नो वरिपरिको वातावरण र परिवेशमा मिल्न सक्ने गरी भिन्न-भिन्न प्रजातिहरूको रूपमा विकास भएको मान्यता छ ।
यहाँ बाइबलीय दृष्टिकोण ठिक उल्टो छ । बाइबल अनुसार परमेश्वरले पहिलो दिन सूर्य र पानी बनाएका थिए । दोस्रो दिन आकाश, तेस्रो दिन धर्ती, समुद्र र वनस्पति, चौथोमा ताराहरू, पाँचौँ दिन जीवजन्तु र उड्ने पक्षी, र छैटौँ दिनमा मानिसको रचना गरेको कथन छ जुन प्राणी विकासको लागि चाहिने करोडौँ वर्षको डार्विनियन मान्यता विपरीत छ ।
उसो त डार्विनको सिद्धान्त इसाई मात्र नभएर अन्य धर्मका मान्यताहरूसँग पनि उसै गरी बाझ्ने गर्छ । हिन्दु ग्रन्थ अनुसार ब्रह्माजीबाट जसरी सृष्टि भएको कथन छ, त्यो इसाईहरूको ६ दिने स्वतः स्फूर्त सृष्टिको अवधारणाभन्दा सैद्धान्तिक रूपमा त्यति भिन्न देखिन्न ।
धेरै विषयान्तर नगरी अब मुख्य विषयमै प्रवेश गरौँ । लेखको शीर्षकमा भनिए अनुसार हामी डार्विनको विकासवादी सिद्धान्त जसलाई अधिकांश धर्मवादीहरूले नास्तिक सिद्धान्त भन्ने गर्छन्, के यस सिद्धान्त भित्र पनि कुनै आस्तिकताको आधार छ ? के यहाँभित्रबाट आस्तिकताको जन्म हुन्छ ? भन्ने प्रश्नलाई केन्द्रमा राखेर केही चर्चा गरौँ ।
सुरु गरौँ बौद्ध धार्मिक सिद्धान्तबाट:
बौद्ध धर्ममा सृष्टि कसरी भयो र किन गरियो भन्ने प्रश्न र जिज्ञासालाई त्यति प्राथमिकता दिइँदैन । यहाँ सृष्टि र ब्रह्माण्ड सबै अनित्य मानिन्छ । र ईश्वर तत्त्वको अस्तित्व हुन्न । यहाँ न आत्मा हुन्छ न परमात्मा । भए जति सबै अनित्य हुन्छ । आत्मा-परमात्मा भन्दा पनि कर्म र त्यसको परिणामको आधारमा प्राणीको उत्पत्ति हुन्छ भन्ने मानिन्छ । मानिसले जन्मे देखि मृत्युपर्यन्त गरेको कर्मले कुनै ठाउँ र समयमा नयाँ सृष्टिको सुरुवातको तयारी गर्दछ । नयाँको सृष्टिको स्वरूप उसको जीवनभरको कर्मले निर्धारण गर्दछ । यहाँ मृत्युपश्चात् मानिस एउटा शरीरबाट अर्को शरीरमा प्रस्थान गर्दैन । बरु जीवनभर गरेको कर्मको जगमा उसले कहीँ कतै अर्को जीवनको सृष्टि गरिरहेको हुन्छ । यसरी व्यक्तिले आफ्नो कर्मानुरूप मानौँ कुनै मैन बत्तीको रचना गर्छ । मैनबत्तीको रङ्ग र विशेषता उसको कर्ममा निर्भर रहन्छ । जब उसको मृत्यु हुन्छ अनि त्यो मैनबत्ती जल्छ । र त्यसरी जलेको मैनबत्ती (जीवन) ले फेरि अर्को जीवनको सृष्टि गर्दछ । यहाँ एउटा व्यक्तिले गरेको कर्म उसको मृत्युपश्चात् अर्को शरीर भएर फेरि भुलुक्क उम्लन्छ । एउटा फोका फुट्छ र अर्को फोका उम्लन्छ, र यो चक्र चलिरहन्छ । कर्म नै त्यसको फलको रूपमा अर्को शरीर बन्दछ । यहाँ एउटा जीवमा गरिएको कर्मले परिणामतः अर्को जीवन बनाउँछ र त्यो जीवनले फेरि नयाँ कर्म । तर यहाँ न कर्म नित्य छ न त जीवन । तसर्थ, ईश्वर र ईश्वरको सृष्टि तथा जीव र प्राणीहरूको स्थायित्वलाई नमानेपछि बौद्ध धर्ममा डार्विनको विकासवादी सिद्धान्तले खासै मतलब राख्दैन । ईश्वर र ईश्वरीय सृष्टिको मान्यता नभएको कारण बौद्ध धार्मिक मान्यता र डार्विनको विकासवादी सिद्धान्त खासै बाझ्दैनन् ।
अब हिन्दु धर्मका केही मान्यतालाई हेरौँ । हिन्दु पौराणिक मान्यताहरूमा भगवान् विष्णुका १० अवतारको बारेमा कुरा गरिएको छ । कतिपयले यी दश अवतारका विशेषताको आधारमा डार्विनको विकासवादी सिद्धान्त हिन्दु धर्मसँग मिल्न गएको र हिन्दु धर्म वैज्ञानिक रहेको तर्क गर्छन् । के हुन् यी दश अवतार र कहाँ भेटिन्छ डार्विनको सिद्धान्तभित्र हिन्दुत्वको अंश ?
मत्स्य: भगवान् विष्णुको पहिलो अवतार मत्स्य अथवा माछाको रूपमा लिइन्छ । डार्विनको सिद्धान्तबाट हिन्दुवादको पक्षपोषण गर्नेहरूले डार्विनले पनि सर्वप्रथम जलचर नै अस्तित्वमा आएको कुरा गर्छन् ।
यहाँ निष्पक्ष भएर केलाउनु के पर्छ भने जलचर प्राणीहरूको विकास थलचरको भन्दा पहिले मानिए पनि माछा नै पहिलो प्राणी भनेर डार्विनले कहिले भनेका छैनन् । उसो त भगवान् विष्णुले मत्स्य रूप धारण गर्नुभन्दा पहिले नै मानिसहरू अस्तित्वमा थिए । मनु राजा को राज्यमा मानिसहरू, देवताहरू नै बसोबास गर्दथे । माछा भन्दा अझ विकसित प्राणीहरूको उत्पत्ति भइसकेको शास्त्रीय प्रमाण हुँदा-हुँदै भगवान् विष्णुले पहिलो पटक मत्स्य रूप धारण गरेकै आधारमा सृष्टिमा माछा पहिलो भन्नु त्यति तर्कसङ्गत हुँदैन ।
कूर्म: दोस्रो अवतार कछुवा जुन उभयचर जीव थियो । आफ्नो विकासवादी सिद्धान्तमा डार्विनले जीवनको बसाइँ सराई जलदेखि थलतर्फ भएको बताएका छन् । प्रतिकात्मक रूपमा मिल्न खोजेजस्तो देखिए पनि अन्य वस्तुगत तथ्यलाई अध्ययन गर्दा कुर्म रूपको बेलामा पनि विकसित मानव, देवताहरूको जन्म भइसकेकोले समय क्रमको यो विन्दुमा प्राणी विकसित हुँदै कूर्ममा आइपुगेको कुरा तार्किक सुनिँदैन ।
वराह: यहाँसम्म आइपुग्दा सरल र अल्पविकसित हात खुट्टा भएको कछुवा भन्दा जमिनमा अझ धेरै विकसित भएको बँदेलको विकास भएको मानिन्छ ।
नरसिंह: निरन्तर विकासको क्रममा अब प्राणीबाट मानव हुने प्रक्रियाको चरणलाई नरसिंह (आधा मानव, आधा सिंह) अवतार मानिएको छ ।
वामन: मानव बन्ने क्रममा भर्खर चार खुट्टाबाट दुई खुट्टाले हिँड्न सुरु गरेको होचो कदको प्राणी भनेर व्याख्या गरिएको पाइन्छ ।
परशुराम: विकास क्रममा यति बेलासम्म मान्छेले हतियार र औजारहरूको प्रयोग गर्न थालिसकेको अवस्था मानिन्छ ।
राम: परिवार र राज्यप्रति जिम्मेवार हुन थालिसकेको समय ।
कृष्ण: देश र राज्य निर्माण भइसकेपछि त्यसका लागि चाहिने शासन व्यवस्था, सेना र राजनीतिको विकास भएको अवस्था ।
बुद्ध: सामाजिक व्यवस्थाको निर्माण भइसकेपछि मानिस ज्ञान, ध्यान र तपको माध्यमबाट थप ज्ञानी बन्न सक्ने अवस्था ।
कल्की: अन्तिम अवतार वा अति विकसित मानवको रूपमा भविष्यमा जन्म हुने विश्वास गरिन्छ ।
विकासवादी सिद्धान्तको जगमा रहेर तर्क गर्दा प्राणीले विकासको क्रममा परशुरामको अवस्थामा आइपुगेपछि मात्र पूर्ण मानवको स्वरूप पाएको मान्नुपर्ने हुन्छ । तर परशुराम त के पहिलो अवतार मत्स्य रूपमै माछा भन्दा विकसित मानव र देवताहरू रहेको शास्त्रीय कथन भएकोले भगवान् विष्णुका दश अवतारले मानव विकासको क्रमिक प्रक्रिया र विभिन्न चरणलाई प्रतिनिधित्व गर्छ भन्नु तर्कसङ्गत ठहरिँदैन । शास्त्रकै आधारमा त फेरि ब्रह्माजीले एकै समयमा सबै प्राणी र वनस्पतिको सृष्टि गरेको विश्वास पनि छ । यदि भगवान् विष्णुका दश अवतारले मानव विकासको प्रक्रिया र त्यसका विभिन्न चरणहरूलाई प्रतिनिधित्व गर्थ्यो भने, त्यसलाई स्पष्ट रूपमा शास्त्रमा कहीँ कतै उल्लेख गरिएको हुनुपर्थ्यो । तर त्यस्तो भेटिँदैन । यस्तो दाबी हिन्दुवादको नभएर हिन्दुवादीहरूको हो भन्दा अत्युक्ति नहोला ।
त्यसो भए कहाँ छ त डार्विनको सिद्धान्तभन्दा बाहिर आस्तिकता । यसको लागि मन अलि फराकिलो बनाएर चिन्तन गर्नु पर्छ । स्थापित धार्मिक मान्यता अन्तर्गतका सिद्धान्त र परिभाषाभित्र आस्तिकता नभेटिन पनि सकिन्छ । ज्ञान र चिन्तनको अनवरत खोजी गर्नाले नै नयाँ-नयाँ कुराको आविष्कार हुन्छ र सत्यको समीप पुग्न बल पुग्छ । अब एउटा संज्ञानात्मक दृष्टान्तको सहारामा सृष्टि र सृष्टिको विकासलाई बुझ्ने कोसिस गरौँ ।
हामी सबैलाई थाहा छ एउटा नवजात शिशु कति कमजोर हुन्छ । भर्खरै जन्मेको शिशुले केही हप्ता सम्म त आँखासम्म देख्न सक्दैन भनिन्छ । वृत्ति (अन्त)का माध्यमबाट उसले पहिलो पटक आफ्नी आमाको स्तनपान गर्दछ । अनैच्छिक रूपमा (involuntarily) आफ्ना हात खुट्टा चलाउँदछ । बिस्तारै बिस्तारै आफ्ना छेउछाउका दृश्यहरू देख्न थाल्दछ । दृश्य देख्न सक्ने भएपछि, गन्ध थाहा पाउन थालेपछि, र आवाज सुन्ने भएपछि शिशुले आफू र आफ्नो वरिपरिको वातावरणको भिन्नता महसुस गर्न थाल्छ । त्यसरी शिशु हुर्कँदै र आफ्नो वरिपरिको वातावरणहरूसँग क्रिया-प्रतिक्रिया गर्दै भावनाको विकास गर्दछ । भावनाको विकास सँगसँगै मनको विकास हुन्छ । अब उसले घरको झ्यालबाट बाहिर हेर्न थाल्दछ । आमाको कोखको अन्धकारबाट बाहिर निस्केपछि समयको विकाससँगै उ कोक्रामा प्रवेश गर्दछ, र सुस्तरी सुस्तरी कोक्राबाट बाहिर निस्कन्छ, त्यसपछि कोठाबाट बाहिर निस्कन्छ । बामे सर्दै, लड्दै र अथक प्रयास पछि ऊ बिस्तारै हिँड्न थाल्छ र घरबाहिर निस्कन्छ । उसको बुद्धिको तीव्र विकास हुँदै जान्छ । गर्भबाट सुरु हुने उसको यात्रा अब कोक्रो, कोठा, घर, गाउँ, देश, परदेश र विश्वसम्म फैलन्छ ।
नवजात शिशुको यस्तो निरीहता र निर्बलता देखेर कसले कल्पना गरेको हुन्छ कि ऊ एक दिन विश्वको कुना कुनामा पुग्न सक्दछ । आमाको स्तनपान गर्नसमेत सहारा चाहिने यस्तो शिशु जसले आँखासमेत देख्न सकेको हुँदैन, कसले कल्पना गरेको हुन्छ कि समयको विकास क्रमसँगै ऊ एक दिन गाउँ, सहर, हुँदै विश्वसामु पुग्न सक्दछ । कल्पनाभन्दा बाहिरको सम्भावना भए पनि आखिर ईश्वरको सृष्टि र योजना उसले पूरा गर्छ नै । समयको विकास सँगै उसले आफ्नो तागत र बौद्धिकताको यति विकास गर्छ कि गर्भको अन्धकारबाट सुरु भएको उसको यात्रा विश्वसम्म पुग्दछ ।
यहाँ माथिको दृष्टान्त मार्फत के भन्न खोजिएको हो भने जसरी ईश्वरले एउटा निरीह र अज्ञानी शिशुको जन्मबाट नै एक बलवान, ज्ञानी र बुद्धिमान मानवको भविष्य निर्धारण गर्छन्, के त्यसै गरी यो प्राणी जगतको सृष्टि पनि एक सभ्य, विकसित र उन्नत मानवको विकासको निम्ति गरिएको हो भन्न सकिन्न? जसरी नौ महिनाको गर्भको अन्धकार र अज्ञानताको अवस्थाबाट एउटा शिशुको जन्म हुन्छ, के करोडौँ वर्षको विकास पछि पशुको अवस्थाबाट मानवको जन्म भएको मान्न सकिन्न? के गर्भको नौ महिनालाई पशुबाट मानवसम्म आउँदाको करोडौँ वर्षसँग तुलना गर्न मिल्दैन? अवश्य पनि मिल्छ । गर्भभित्रको अँध्यारो र बुद्धि र ज्ञानरहित पशु युग उस्तै उस्तै हो ।
पशुबाट मानवको विकास भएको प्रक्रियालाई अवश्य पनि गर्भबाट शिशुको जन्म भएको प्रक्रियासँग जोड्न सकिन्छ । भलै सामान्य शिशुको जन्म हुन मात्र नौ महिनाको समय लाग्छ भने मानवको जन्म हुन करोडौँ वर्ष लागिसकेको छ । ब्रह्माण्डीय समय रेखामा एउटा घटना देखि अर्को घटनासम्मको समय अवधि निकै नै ठुलो हुन्छ । तसर्थ करोडौँ वर्षपछि बल्ल मानवको जन्म हुन्छ । शिशुले विकसित हुँदै जाने क्रममा जन्म लिएको दुई चार हप्ता पछि घरको झ्यालबाट बाहिर हेर्न सुरु गरेझैँ, बल्ल मानव जातिले आफ्नो जन्म भएपछि संसारदेखि केही टाढाको विषयवस्तुमाथि चिन्तन मनन गर्न सुरु गर्छ । शिशुले आफू वयस्क हुँदा विश्वसम्म पुग्ने यात्रा तय गरेझैँ मानव जातिले धेरै लामो समय पछि अति विकसित भएर ब्रह्माण्डको कुना-कुना सम्म सयर गर्न सक्नेछ । शारीरिक र बौद्धिक विकाससँगै जसरी शिशु विशाल विश्वसँग परिचित हुन्छ र विश्वलाई नै आफ्नो सामान्य गाउँ वा घर सम्झन्छ, त्यसै गरी मानव जाति आफ्नो बौद्धिकताको विकास गरी अब यो विशाल ब्रह्माण्डको यात्रामा निस्कन्छ र ब्रह्माण्ड नै उसको घर वा गाउँ बन्दछ । यही ईश्वरीय सृष्टिको योजना हुन सक्दछ । तर त्यसको लागि धेरै लामो समय कुर्नुपर्नेछ ।
आस्तिकताको त्यस्तो दृष्टिकोणबाट मनन गर्दा डार्विनको विकासवादी सिद्धान्तलाई नास्तिक मान्न पर्दैन । बरु यसले आस्तिकताको त्यस्तो दृष्टिकोणलाई पक्षपोषण गर्छ । विकासवादबाट नै मानव जातिको जन्म भएको र बुद्धिको विकास गर्दै भोलि यही मानव अति विकसित जाति बन्दछ । विश्वबाट ब्रह्माण्डको यात्रा सुरु गर्ने र ब्रह्माण्डका कुनै आयामभित्र लुकेर रहेका रहस्यहरूको समाधान खोज्ने पनि भविष्यको अति विकसित मानवले नै गर्दछ । आज हिँड्न नसकेको शिशु भोलि हिँड्न सक्नेछ, मोटर गुडाउनेछ र हवाईजहाज उडाउनेछ । अहिले त मानव जातिको जन्म मात्र भएको हुन सक्दछ ।
त्यसो त ब्रह्माण्डीय समय स्केलमा हिन्दु शास्त्र अनुसार संसारमा घट्ने चार युगको समय अवधि ४३.२ लाख वर्ष हुन आउँछ । यसलाई १ दिव्य युग भनिन्छ । संसारमा घट्ने हजार दिव्य युग बराबर सृष्टिकर्ता ब्रह्माको १ दिन हुन्छ जो संसारको ४.३२ अर्ब वर्ष हुन आउँछ । ब्रह्माको आयु ब्रह्मलोकमा सय वर्ष हुन्छ र त्यसपछि ब्रह्माण्डको अन्त्य हुन्छ । पृथ्वीमा मानव विकासको क्रममा बितेका पछिल्ला केही अर्ब वर्षहरू करिब-करिब ब्रह्माको १ दिन बराबर हुन आउँछ । यो हिसाबले पृथ्वीमा वर्तमान मानवको उत्पत्तिपछि ब्रह्मलोकमा करिब १ दिन बितेको देखिन्छ । यो धेरै छोटो समय हो । त्यसैले मानव जाति यो बेलासम्म शिशुकै अवस्थामा छ भनेर बुझ्न सकिन्छ । शिशु अवस्थामा भएको मानव जातीले ब्रह्माण्डको पूर्ण रहस्य अहिले नै बुझ्न सक्ने सम्भावना रहँदैन । यद्यपि समय क्रमसँगै मानव जाति थप विकसित हुँदै गएपछि आज देखिएका रहस्यहरूको समाधान भोलि फेला पर्नेछन् । आज नबुझिएको ‘आत्मा’ र ‘ब्रह्म’ पनि भोलि घाम झैँ छर्लङ्ग बुझिनेछ । यो नै सृष्टिको योजना हुन सक्दछ ।