ढुंगा

टि आर रेग्मी
खुदुनाबारी, झापा

यस संसारको आरम्भ तिमीबाटै भयो रे
हामी मानिसलाई जलको पनि खाँचो थियो रे
आगोको पनि आवश्यकता थियो रे !
आगोपानी तिमीले नै दियौ रे
त्यसैले होला मानिसहरु तिमीलाई द्यौता भनी पूजा गर्दारहेछन्
तर म त तिमीलाई ढुङ्गै भन्दछु
जल भई रसाउँदा बाढी पहिरो ल्याउँछौ
आगो भई निस्कँदा ज्वालामूखी भइदिन्छौ
तिमी आफैं पानी दिन्छौ
त्यही पानीले तिमीलाई पहाडबाट बगाइदिन्छ
माटोदेखि तिम्रो साथ छुटाइदिन्छ ।
त्यही आगोले तिमीलाई विष्फोट गरिदिन्छ
तिम्रो पहिचान मेटाइदिन्छ,
वालुवा र माटो बनाइदिन्छ
संसार नै मरुभूमि  बनाइदिन्छौ,    
मानव अस्तित्व नै संकटमा पारिदन्छौ
त्यसैले होला मानिसहरु तिमीलाई निर्दयी भन्छन्
अरुले जे भने पनि म तिमीलाई ढुङ्गै भन्छु,
ढुङ्गो हुनु पनि आफैंमा नराम्रो होइन
गरीबको झुपडी होस् या त राजाको दरवार,
मठमन्दिर होस् या त खोलाको बगर
तिमीले आफ्नो धर्म छोडेका छैनौ,
उनीहरुको आवश्यकता पूरा गरेकै छौ
नादान तिमी न त निर्दयी न त देवता
न तिम्रो मन छ न त मुटु
त्यसैले तिमी ढुङ्गो केवल ढुङ्गो

 

नोबेम्वर २०, २०११

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *