ढुंगो

कवि

शिवलाल दाहाल
खुदुनाबारी, नेपाल

तिमीले मलाई
ढुंगाको उपमा दियौ
थाहा छैन
बुझेर दियौ कि नबुझी दियौ
ठिकै छ-
म तिम्रा लागि ढुंगा नै भइदिएँ
म तिम्रा लागि स्पात नै भइदिएँ
तर,
ढुंगो हुनु पनि नराम्रो होइन
यदि,
ढुंगो भनेको निष्ठाको प्रतीक हो भने
ढुंगो भनेको दृढ़ताको प्रतीक हो भने
फेरि ढुंगाको गुण तिमीलाई थाहा छ ?
यसको गुण विचित्रको छ,
पानी भएर रसाइदिन सक्छ
आगो भएर जलिदिन सक्छ,
ढुंगाको दोष पनि हुनसक्छ
तर ढुंगाको गुण पक्कै पनि
त्योभन्दा बढ्ता नै होला
अब त पक्कै बुझ्यौ होला
ढुंगाभित्र आगो पनि हुन्छ,
ढुंगाभित्र पानी पनि हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *