ढुङ्गा र म !

 कर्ण गुरुङ
 नेब्रास्का, अमेरिका 

मैले ढुङ्गालाई सोधेँ ;
उसले नबोली भन्यो-
म अहिले मूर्ति भएको छु
मेरो एउटा नाम छ
मेरो एउटा सान छ
मेरो एउटा स्थान छ
विनम्र नमस्कार गर
फूल चढा, पूजा गर
तेरो मनकामना भन
जे माग्छस् त्यो दिन्छु ।

ढुङ्गाले नबोली भन्यो-
मैले भनेको होइन
मेरो नयाँ स्वरुप नै यस्तो छ
कसैले सिन्दूर लगाई दिन्छ
कसैले लड्डु चढाउँछ
कसैले पैसा चढाउँछ
अचम्म लाग्छ
कसै कसैले मनकामना पुरा भएन अरे
भक्कु रुँदै गाली पनि गर्छ ।

मैले ढुङ्गालाई सोधेँ –
अनि तिमी किन नबोलेको ?
उसले नबोली भन्यो-
म मूर्ति भएको छु
कसैले स्वरूप मात्र अलग बनाइदिएको छ
आखिर जसले जे भने पनि
म त ढुङ्गानै हु
मेरो अस्तित्वलाई किन स्विकार्दैनन्?
उनीहरूलाई थाहा छ
म ढुङ्गा हो
म बोल्दिनँ !
म सुन्दिनँ !
म हिडदिनँ
म सर्दिनँ
मेरा हातहरू चल्दैन
अचल छु ।

मैले फेरि पनि सोधेँ उसलाई;
ढुङ्गाले नबोली भन्यो-
म अहिले मूर्ति भएको छु
मेरो छेउमा आइ गीत गाऊ, रमाऊ
मेरो स्वरूपको बारेमा अनेक कथा सुनाऊ
तर यति कुरा बुझ
वास्तवमा म ढुङ्गानै हुँ
बोल्दिनँ खाँदिनँ, हिडदिनँ
तिम्रो विश्वास नै मेरो परिचय हो
तिम्रो आस्था नै तिम्रो सत्यता हो
अहिले मूर्ति भएको छु
तिम्रो भावनाको चौतारी बनेको छु
तिमी जस्ता हजारौँको तीर्थ स्थल बनेको छु
शक्ति विहीन छु र पनि शक्ति दिने भएको छु
जे छु, जस्तो छु, उनीहरूकै मनमा छु
मलाई नसोध
जसले जे सम्झे पनि
वास्तवमा म ढुङ्गानै हुँ
अहिले मूर्ति भएको छु
तर मैले मेरो अस्तित्व गुमाएको छुइनँ
बोल्दिनँ, खाँदिनँ, हिडदिनँ, ढाटदिनँ
मैले ढुङ्गालाई सोधेँ
उसले नबोली भन्यो
म अहिले मूर्ति भएको छु !

(रचना मिति: शुक्रबार, दिसम्बर ३१, २०१८)

Leave a Reply

Your email address will not be published. Required fields are marked *