तमोमय
नैन सिङ मगर/ न्यू योर्क, अमेरिका
दृश्य एक :पविमायाको घर
(समय बिहानको सात बजे चार जना नानीहरू स्कुल जान तरखर हुँदैछन्, चिया नास्ता खादै, कपडाहरू लगाउँदै । प्रत्येकका फोनमा अङ्ग्रेजी गीत, हिन्दी गीत, बजिरहेका छन्, नानीहरूका कपडाहरू पनि त्यति शरीर छोप्ने खालका छैनन् फेसनले गर्दा । त्यही लगाएर नानीहरू यताउति गर्दैछन् । कोही कपडा, जुत्ता, फोन भएन भन्दै स्कुल जाने समयमा गनगन गर्दैछन् आमालाई भान्सा कोठामा । आमाचही सबैलाई कराउँदै, सम्झाउँदै केही उपदेशात्मक कुराहरू पिन दिँदैछिन्, थालबोटुकाहरू धुँदै । एकैछिनमा पविमायाको ब्राभित्र फोन बज्छ) ( अलिक कान नसुनेकाले आत्तिँदै फोन ब्राबाट झिक्दै नेपाली भेष-भूषामा प्रवेश )
पविमाया = ए हरि, हरि……. हन यो केटो कहाँ गएछ नि ….! स्कुल जाने बेला त भएको छैन त….!
हरि = (स्कुल जान बाहिर निस्कन खोज्दै) किन आमा… के भयो ?
पविमाया = (झस्किँदै) हन यो त यहाँ पो रहेछ नि … बस आएको छैन किन हतारिएको हँ…….? यहाँ फोन आयो उठा-उठा कसले गरेको रहेछ, म त कान पनि सुन्दिनँ। स्वदेश फितीर्को माग गरेर मेची पुलमा बस्दा अश्रु ग्याँसले मेरा कानलाई प्रभाव पारेको थियो । तँलाई बोलाउँदा – बोलाउँदा दुई चोटी बजेर गइसक्यो घण्टी पनि …. ला..ला गर… गर.. को रहेछ…..
हरि = (झोकिएर फोन समात्दै) आमा पनि ……. लगनको बेलामा हगन, फेरि यो फोन पो रहेछ..! मलाई iphone बाहके अरू फोन चलाउनै आउँदैन । (भुइँमा फ्याँक्दै) अरू कसैलाई दिनु, म लागेँ स्कुल …………
पविमाया= (छक्क पर्दै) के रे…? केलाउनै आउँदैन रे…..?
हरि = (पर पुगेर) होइन, चलाउनै आउँदैन भनेको ।
पविमाया = (यसो कानमा हात थापेर निधो लिँदै) के भन्यो, भन्यो….. फोन यही फ्याँकेर….ऊ…… फेरि …..फोन आयो…पल्लो घरतिर पो जानुपर्यो ..( फोन बज्न थाल्छ अनि हतारिँदै दगुर्दै पल्लो घरतिर जान्छिन् )
दृश्य दुई : मैनाको घर
पविमाया = (एक हातमा फोन बजेको -बजेकै छ, अर्को हातले दैलोको घण्टी बजाउँदै ढक्ढक्याउँछिन्) ए, मैना बहिनी ! मैना बहिनी …. (केही उपाय नलागेपछि आफैले फोन उठाउँछिन् रिसाउँदै….) को हो…..? बोल्नुहोस् त, म नरेको बुढी । को हो…..?
फोनवाला = काकी नमस्कार म पले, वाल्मार्टबाट बोलेको ।
पविमाया= के को काशी ….? यो यु एस ए हो, म पले होइन पवि हुँ, पवि … मलाई फोन नगर मेरो बुढाले चाल पायो भने तिमीलाई मार्छ ।
फोनवाला= काकी म नरेको साथी । आज काममा नरे दाइ आउनु भएन त्यसैले मलाई मेनेजरले कल गर भनेर कल गरेको काकी । घरमै हुनुहुन्छ भने छिटो पठाइदिनुहोला नत्रभने फायर हुनेछ ।
पविमाया= (रिसाउँदै) तँ पो लाटा, म त नरेको लाटी होइन, बुढी हो ….. हाम्रो बिहे भूटानको गोसीमा भएको थियो १९९० मा । नत्रभने के खयर…? हामीले खयर बालेर भात पकाएको कति -कति बेल्डाँगीमा ………..उसलाई खयर पनि थाहा रहेनछ ।
मैना = (भित्रबाट हतारिएर दैलो खोलेर बाहिर सट प्यान्टमा प्रवेश) एʼ हरिकी आमा, तिमी के को उल्टा-उल्टा बोली राखेकी हँ ? कान नसुन्नु पनि साह्रो रहेछ नि ….मैले सबै सुने त्यो फोनका कुराहरू ….राख अनि भित्र आऊ (पस्छन् भित्र अनि बसेर कुरा गछर्न) सुन पवि, त्यो फोनवाला भाइ म चिन्दिन तर त्यो भाइको नाम पले हो, वाल्मार्टमा काम गर्छ रे ….
पविमाया =(चाख लिँदै, मुहार कुरूप पार्दै) वाल्माटमा लर्छ रे! को ? नरे ! त्यहाँ त नरेले पो काम गर्छ त आमै नि, नरेलाई कुट्यो होला मेरो नरे (भक्कानिएर रुन थाल्छिन्)
मैना = (रिसाउँदै, झकझक्याउँदै) होइन लाटी …। (झन् घरै उचालेर )
पविमाया = (गुनासो गर्दै र कपाल जिङ्गृङ्ग पार्दै) अघि फोनवालाले पनि लाटी भन्यो अहिले तिमीले पनि मलाई लाटी भन्यौ हाँ ..हाँ …हुँ …हुँ हुँ…
मैना = (मिलन हुँदै) एʼ मैले तिमीलाई त्यसो भन्न खोजेकी होइन राम्ररी सुन भनेकी पो त …
पविमाया = (रुन्चे स्वरमा) अनि यहाँदेखि कति सुन्नु ….सुनिरहेकी नै छु नि हुँ हुँ हुँ हुँ…
मैना= (हरशे खाए जस्तो गर्दै) ल त्यसो भए म गएँ सुत्न अहिले कामबाट आएकी, मिलनको बाबा त म नगई सुत्नै हुन्न । तिमीले एकाबिहानै घण्टी बजाउँदै दैलो ढकढक्यायौ अनि पो के भएछ भनेर हतार-हतार उठेर आएकी त। तिमीलाई सम्झाउँदा पनि लाग्दैन भने मेरो केही चल्दैन ।
पविमाया = (मैनाका आँखामा एकोहोरो हेर्दै बिग्रेका कपाल मिलाउँदै, अलिक चनाखो हुँदै) ल भन मैना म तिम्रै मुखमा कान थापेर सुन्छु ।
मैना = (अलिक प्रसन्न हुँदै ) ध्यान दिएर सुन है फेरि पनि उल्टो-उल्टो कुरा गर्यौ भने म सुत्न हिँडेकी फकेर्र आउँदिन नि ….।
पविमाया = हुन्छ, भन्नुहोस् ।
मैना = नरे भाइ काममा जानु भएन रे भनेर फोनवालाले फोन गरेको पो त । त्यो भाइ पनि नरे भाइसँगै काम गर्छ रे…….
पविमाया = (झिस्कदै मुहार बिगार्दै) होʼ र…..! मेरी आमै… मैले त नानीहरूलाई भन्दा पनि अगाडि खाजा पानी लगाई दिएकी थिएँ । घरमा गाडी छैन अकार्को गाडीमा जाने गर्नु हुन्थ्यो । कहाँ जानुभयो होला नि …..! अब कहाँ जानु… कसलाई सोध्नु ? एʼ मैना तपाईँलाई ईङ्लिस बोल्न आउँछ ?
मैना = (पविमायालाई हेर्दै) किन आउँदैन ? नेपाली जस्तै हो त उनीहरूले ‘वाटʼ भनेछ भने ‘काँसे गिलास प्वाटʼ भन्नुपर्छ (दुवैजना गललल हाँस्छन् ) । हारेर हुँदैन, मलाई बोक्सी हुन्छेस् भनेर स्कुल पठाएनन् उस बेला र पनि म त बोल्छु लटरपटर गरेर । अस्ति टप बजारमा मलाई देखेर एक जना कालेले हात हल्लाउँदै ‘हे गाई भन्योʼ मैले पनि ‘हे गोरु भनेʼ (फेरि दुवै हाँस्छन्) अनि मलाई हेर्दै हाँस्दै गयो उता । किन … नरेलाई खोज्नु जानु भन्न लागेकी ?
पविमाया= (रुन खोज्दै) के मलाई बोक्सी भनेकी मैना ?
मैना = (रिसाउँदै) ऊ….ऊ …मैले त यस्तै भिन्छन भनेर मनमा सोच्दै थिएँ नि ….(अलिक झर्किँदै) तिमीलाई भनेकी होइन … मलाई पो बाबा आमाले बोक्सी हुन्छे भनेर पढाएनन् भनेकी ।
पविमाया =(छट्के आँखा लगाउँदै) नरिसाउन मैना ! कान नसुनेपछि सबैलाई यस्तै हो । अब नरेलाई खोज्न वाल्मार्टतिर जाऊँ मलाई सहयोग गरिदेऊ, गरिदेऊ ।
मैना = (पविमायालाई पुलुक्क हेर्दै) त्यसो होइन पवि, त्यहाँ जानुभन्दा यहीबाट फोन गर्नु पर्छ अघिको फोनवालालाई अनि उसले बताईिदहाल्छ नि नरेको बारेमा । खै फोन ल्याउ त….
पविमाया= ई लिनु ।
मैना = (फोन लगाउँछिन्, पविमाया मैनाको मुखमा हरेकेो हेरेकै गर्छिन् ) हेल्लो …. हेल्लो भाइ ……!
फोनवाला = हेल्लो … को बोल्नु भएको ?
मैना = (हाँस्दै) भाइ, म नरेको छिमेकी दिदी, नरे दाइ काममा पुग्नुभएको छैन अरे भनेको सुनेर फोन गरेकी नि। नरेकी स्वास्नीलाई सोध्दा बिहानै हिँडेको कुरो गरिन ।
फोनवाला = एʼ…..दिदी, आउनु भएन नि ! अघि कल गर्नुभएको थियो दलेको फोनबाट….म बिरामी भएँ भनेर ।
मैना = ल भाइ फोन राख ल…. म कुरा गर्छु पविसँग ।
फोनवाला = हुन्छ दिदी ल राखिदिएँ ।
मैना = ल हुन्छ ।
पविमाया = (आित्तदै, रुन खोज्दै) के रे…के…रे मैना नरेलाई कुट्यो अरे……?
मैना = (ठुलो स्वरले कराउँदै, कुटुड्ला झैँ गरेर तिमीलाई पछार्छु अहिले, के खालकी आइमाई हौ ? (पविका कानमै मुख पुयार्एर) के को….. कुट्छ नरेलाई….. अघि दलेको घरबाट फोन गरेको थियो अरे म बिरामी भएँ भनेर । अब दलेको घरमा जानुपर्छ अनि लुकेर हेर्नुपर्छ। नखोक्नु नि त्यहाँ पुगेर । बुझ्यौ अहिले ?
पविमाया = हुन्छ, बुझेँ….अँ…..अँ….. दलेलाई बिरामी भयो अरे अनि नरेले अस्पताल लिएर गयो अरे ?
मैना = (आँखा ठूला-ठूला पार्दै, रुन पनि खोज्दै ) ए लाटी, बुझ्यौ भन्दा बुझेँ भनेकी होइन अघि ? तिमी पनि होइन अब त तँ हो । काबु नै भइसके म त के चाही गर्नु पर्ने
पविमाया = मलाई लाटी भनी… मलाई नरेले पनि अहिलेसम्म लाटी भन्नुभएको छैन हाँ….हाँ…हा हा हा ….
मैना = अनि किन उल्टा-उल्टा बोलेकी त ?
पविमाया = मैले अहिलेसम्म कहिल्यै उल्टा बोलेकी छैन हाँ हा हा हा हा…
मैना = (मनमनै के गर्नु र यस्तै हो कान नसुनेपछि भन्दै) सुन … तिम्रा कान यहीँ मेरो मुखैमा ल्याऊ । होʼ..भयो,अब सुन है, दलेको घरमा जानुपर्छ सुटुक्क त्यहाँ हुनुपर्छ नरे, लु हिँड, डर लागेको छैन पवि ?
पविमाया = (डराए जस्तो गर्दै) पटक्कै डर लागेको छैन नि …. किन ? म त भेटाएँ भने जगटा सबै छरिदिन्छु नि एʼ……….जगटा त छैन त दाह्री जुँगा सबै उखाली दिन्छु । लाखे न त्यसलाई मैले जानेकी छु ।
दृश्य तीन: दलेको घर
(दुवै जना हिँडेर गाडीहरूसँग तर्किँदै दलेको घरमा पुग्छन् । घरभित्र दले, नरे, हैदर, लेडिया, भुटुवा र सेकुवा, बिएर खादै, पिउँदै तास खेलिरहेका हुन्छन् एक ध्यानमा हाँस्दै, रमाउँदै भित्र कुनामा )
मैना = (सानो स्वरमा बोल्दै हातले सङ्केत गर्दै) ए, पवि यो झ्यालबाट हरे तेरो लोग्नेको चाला तर नखोक है…..खोकिस भने चाल पाउँछन् अनि हामीलाई खेदाउँछन् त्यसैले सानो स्वरमा बोल्नु नि ।
पविमाया = (घाँटी तानी-तानी खुट्टा उचाल्दै, थरथर काम्दै) यसलाई घर मात्रै आओस् न मैले ठिक पार्न जानेकीछु । राति -राति खाना पकाएर दिएको त यसो पो रहेछ …. म त के जान्नु र काममा जानुहुन्छ भन्थे नि । फेरि बेलुका समयमै आउनुहुन्थ्यो । चेक पनि हेर्न जाने पो …. कति घण्टा काम ? कहिले जानु भएन कहिले जानुभयो काममा मलाई के थाहा ….? (भन्दाभन्दै ख्वाक्क खोकी हालिन्)
मैना = (मुर्छा पर्दै) मरे नि म त…. भन्दा भन्दै खोकी हालिन् ।
नरे = (भित्रबाट) हन यो खोकाई त पविकै छ त …! कि , यता पनि पविकै खोकाइका मानिसहरू छन् हौ…..! छन् हौ…..!
दले= कहाँ एक जनाले खोक्छन् त ? त्यस्ता दुनियाँ हुन्छन् नि …
हैदर = No Nepali talk okay, only talk English please !
नरे = (मिस्कदै, थुक निल्दै ) Oh….. ! no…no अलिक -अलिक नेपाली and अलिक -अलिक English okay हैदर…
हैदर = (रिसाउँदै) what ?
दले = (अँगालो हाल्दै) Nothing
हैदर = चुपचाप play okay ……and ram मासु eat, rum drink ला……
मैना = (हातका इसाराले) अब जाऊँ …तिनीहरूले चाल पाए ।
पविमाया = (मैनालाई पुलुक्क हेर्दै) हुन्छ जाऊँ । (अघि गएकै बाटो हुँदै पविको घरमा आइपुग्छन् )
मैना = अब पवि यसो गर्नु पर्छ। म केटो बन्छु अनि तिमी र म एकै खाटमा सुतिरहेका हुनुपर्छ, ऊ आउने समय भएपछि केही केटाहरूलाई पल्लो कोठातिर लुकाएर राख्नुपर्छ ।
पविमाया = के…के केरे केरे ….मैले केटो ल्याएर सुताउनु रे ?
मैना = यस्तो अकड़ोलाई के गर्नु र….! त्यसो होइन…. म केटो बन्छु भनेकी, उसले तिमीलाई छक्याउन पाउने ….तिमीले नपाउने ? त्यसैले हामी एकै ओछ्यानमा सुतिरहनु पर्छ दैलो खुल्ला राखेर के गर्दो रहेछ हेरौंन ।
पविमाया = हुन्छ लु छिटो आउने बेला भयो ।
मैना = लु लुगा लगाऊँ, (सबै सकेर ओछ्यानमा पस्छन् दुबै जना; सधाकै समयमा सरासर भित्र पस्छ गले जस्तो गर्दै)
नरे = (झसङ्ग हुँदै) अरे, सँदाको यसरी दैलो खुल्ला हुँदैन थियो त । … आज किन ? (अचानक ओछ्यानमा केटाकेटी सुतिरहेको देख्छन् अनि निकै बेर हेरेर) आज यसलाई छिनाउँछु खुकुरी …ले ….खुकुरी …ले….. खुकुरी …ले……. (कोठामा लुकिरहेका केटाहरू आएर समाउँछन् )
नरे = तिमीहरू को हौ ?
मैना = म मैना, नरे भाइ ! तिमी चाहीँ काममा बिरामी भएँ भनेर दिनभरि तास खेल्दा हुने हामीले यति गर्दा तिमीलाई खुकुरी चाहियो ?
नरे = मैले कहाँ तास खेलेँ ? म सरासर कामबाट घर आउँदै छु । तासको नाममा ‘ ताʼ पनि जानेको छैन किन मलाई आज दोष ?
मैना = दलेको घरमा अघि के गरेको ?
नरे = ए…… अघि यो पवि नै खोक्दै थिइस त्यहाँ पख भरै ….
मैना = के पख नरे भाइ ? तलमाथि मात्र गरिरहे न पविलाई … क़ानूनी उपचार हामीले पवि खोज्न जानेका छौँ ।
नरे = (झोक्किँदै पाखुरा सुकाउँदै) के यसले मैले भनेको टेरेकी छे र मैले यसको उपचारमा बस्नु ? भनेको टेरेकी छे र मैले यसको उपचारमा बस्नु ?
मैना = अँʼ भन त्यस्तो के गरेकी छे त ?
नरे = यसले यो घरमा टेकेदेखि सिन्दुर र पोते सेलाई…. म त जिउँदै छु । अब म मर्दा सेलाउने के…..? अनि मेरो गल्ती कि , यसको गल्ती ? त्यसै कारणले गर्दा मलाई कामतिर गएको हो कि बनतिर गएको केही थाहा हुन छोड्यो ।
मैना = केʼ ….सिन्दुर र पोते समाएर बस्दा लोग्ने मान्छेहरू सत्मा अडिएला त ….? आजसम्म सिन्दूर र पोते नलगाएका स्वास्नीहरूका लोग्नेहरू मात्र बिग्रेका हुन त….?
नरे = स्वास्नीहरू त खूब सप्रेका छन् नि …..अहिले लोपारी पो दिन्छु नि ।
मैना = (झोक्किँदै) लु लोपार त साले ….
नरे = (झन् झोक्किँदै) सक्दिन जस्तो लाग्यो ? तँ ज्याउँखिरीलाई यही निमोठनामाठ पारिदिनछु भने मलाई नरे नभनेपनि हुन्छ बुझिस्
मैना = (केश गाँठो पार्दै) लु आईज …(नरेको घाँटीमा झुण्डिन पुग्छिन् । अरूले शान्त भन्दै छुट्ट्याउँछन् )
पर्दा खस्छ ।