तारिख बदलिएर के भो र?
डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
मसँगै ब्युँझने यो बिहानी
सधैँ जसो मलाई भेट्न आउने
उही घाम लिएर आउँछ
मेरो जीवनको लयहरुले
त्यही क्यान्भास लिएर आउँछ
केही बदलिदैन
तारिख बदलिएर के भो र?
म हार्ने क्रम जारी नै छ
तिमीलाई हरेक बिहानी
विजेता बनाउने उपायहरू
खोज्ने काम जारी नै छ
चुँडेर फालेको मेरो बिरुवामा
अझै पनि जरा सलबलाउँदै गर्दा
जरैसँग मेरो बिनास गराइने उपक्रम
जारी नै छ
तारिख बदलिएर के भो र?
हरेक बिहानीसँगै पलाएको
मेरो दिनभरको ऊर्जा
एकै क्षणमा खपत गरेर
मेरा सपनाहरू बेचेर
रमाउनेहरुको सङ्ख्या उतिकै बढ्दो छ
न समय रोकिन्छ
न ताराहरुको बिलाउने क्रम सकिन्छ
मात्र तारिख बदलिएर के भो र?
संवेगको अावेगले मन छुँदैन
वेदना, वियोग अनि पीडाले मन रुँदैन
खस्रो सहर जस्तो भएको छ मन
जीवननाशक जहर जस्तो भएको छ मन
उही खिया लागेका सोचाईहरु मात्र
बिग्-बिगी दौडिरहेछन्
तारिख बदलिएर मात्र के भो र?