ताल्वे ‘श…’
हेम गुरागाईं
नेपाल
“ताल्वे श
मुसाले दुलो खुन्देस (खन्दैछ)
आमाले गिट्टी कुट्देस
बाटोमा आप्पा आउँदेस…!”
प्राय: हरेक रात अबेरसम्म यही गीत गाइरहन्छ सन्ते आफ्नै मौलिक भाकामा । बहिनीलाई ढाडस दिने गीत। उसले आफैँ रचेको। बहिनी कल गरिरहन्छे कमसेकम पनि आधा रातसम्म।
बिचरा सन्ते! आफू स्वयं पनि बालकै छ। १२ वर्षको। आइते र शुकुको दोस्रो सन्तान र जेठो छोरो हो सन्ते।
शरणार्थी शिविरको उकुसमुकुसमा एक्लो सन्तेको काँधमा ५ जना भाइ-बहिनी हेर्ने जिम्मेवारीको बोझ छ। आमा र दिदी शिविरदेखि ६-७ कि.मि. पश्चिममा बस्छन्, चिसाङ् बगरमा गिट्टी कुट्न।
दात्री संस्थाले दिएको एक जना बराबर साढे चार किलो गुणस्तरहीन उसिना चामल, चिनी जस्तै गुलियो आलु लगायतको रासन-पानीले नपुग्ने हुँदा शिविर बाहिर सस्तो श्रम गर्नु सबैको बाध्यता हो।
सधैँ झैँ आज पनि शिविरै थर्किने गरी रोइरहेकी छे बहिनी।
“ताल्वे श
मुसाले दुलो खुन्देस…”
सन्ते एकोहोरो गाइरहन्छ आफैँले रचेको गीत। बहिनीलाई ढाडस। लोरी जत्तिकै हो उसको यो मौलिक गीत।
कहिले कथा भन्छ। कहिले डर देखाउँछ भूतको।
बेला-बेला गीत पनि गाउँछ। कुनै तकनीकले काम गर्छन् त कुनैले केही असर गर्दैनन्।
आज शनिवार। आधा दीन पछि स्कुल छुट्टी हुन्छ । आइतबार पुरै दीन छुट्टी।
“कोला खाने…नाइँ… भात नखाने। आची जस्तै गनाउँछ यो भात त। ” डोकामा फल-फूल र सब्जी बेच्न हिँडेका बस्तीका मान्छे देखेपछि बहिनीले निहुँ झिकी।
“पैसा भा पो। पैसा नतिरी कसले दिन्छ? पछि म ठुलो भएपछि धेरै पैसा कमाउँछु। अनि किन्दिम्ला जे खान मन लाग्छ त्यही। आज चैँ भातै खा ल!”
“अस्ति दाल बेचेको पैसाले किन्देऊ न ” आँसु, र्याल र सिँङ्गान सरी रुँदै भन्छे बहिनी।
“त्यो त तँलाई दूध किन्नु भनेर पो। त्यै पनि सकियो।”
बहिनी दूध कटुवा बच्ची हो। आमाको स्तनमा लामो समय सङ्क्रमण हुँदा भुटानदेखि नै दूध कटाएको। उसलाई पानी थपेरै भए पनि गाइको दूध खुवाउनु पर्ने बाध्यता छ।
“त्यसो भा यो स्टोभ बेचुँ न त!”
“कसले किन्छ र स्टोभ? बिक्दैन नि।”
“यो तिर्पाल (त्रिपाल ) बेचुँ न त। बिक्दैन?” बहिनीको निर्दोष बाल सुलभ प्रश्नका अगाडी सन्ते निकै बेर निःशब्द हुन्छ।
“हुँदैन बेच्नु। पानी पर्दा कहाँ जानु? पछि बाँसको घर बनाउनु पाइयो भने बेचुम्ला नि। ऐले चेन् भात खान न हौ! “
भातको कुरा गर्यो कि बहिनी त झन् जोडले रुन थाल्छे, “नाइँ, खान्नँ…आका गनाउँछ।”
हुन पनि नसेलाएसम्म गन्हाउँछ, सेलाएपछि धेरै नै जर्रो हुन्छ गुणस्तरहीन उसिना चामल।
“त्यसो भए पिठो भुटी दिन्छु ल!” सन्तेले युक्ति निकाल्छ। शरणार्थीले सातुलाई पिठो भन्छन्।
बहिनीले सातु समेत खान मान्दिन। त्यसपछि दिउँसो माछा मारेर बेच्ने र केरा किनी दिने आश्वासन दिएर जसो तसो मनाउँछ बहिनीलाई। तेलमा भुट्छ चीनी र पानी हालेर मुछेको सातु।
दूधमा पानी थपेर दुगुना बनाउँछ। भुटेको सातुमा पातलो दूध हालेर खुवाउँछ बहिनीलाई। धन्य हो, त्यही सातु छ खान लायक र स्वास्थ्यकर! सुँक्क-सुँक्क गर्दै बहिनीले अलिकति सातु खान्छे।
सन्तेले हतार-हतार घर धन्दा गरी सक्छ। सानी बहिनीलाई अलिक पर आफन्तको घर छोडेर उनीहरू स्कुल जान्छन्।
***
दिउँसो स्कुलबाट सबै घर आउँछन्। झोला राखेर फटाफट खोल्सातिर जान्छ सन्ते। हिले माछा मारेर डोरीमा झुत्त्याउँछ। बेच्न हिँड्छ। बहुत मुस्किलले बिक्छ माछा।
बेलुका चार कोसा केरा लिएर घर आउँछ सन्ते। बहिनीले चारै कोसा खाइ सक्छे। सन्ते र अरू भाइ-बहिनीहरू चाहिँ वरिपरि बसेर हेरी रहन्छन्। थुक निल्छन्। चित्त बुझाउँछन्।
साँझ सन्ते साथीसँग छिमेकीको घर छेउ गुच्चा खेली रहेको हुन्छ । उसको नाकमा मासुको वासना ठोकिन्छ। “ओइ, बिरे, सुन न…!”
“के?”
“आज तिमेरकोमा मासु छ हो?”
“हो त?”
“ओइ, सुन न! भरे भात खाँदा एक चोक्टा मासु सुटुक्कै गोजीमा हाल कि, अनि खाइ सकेपछि मलाई ल्याइ दे न ल! म पनि हाम्रोमा मासु ल्याको दिन तँलाई त्यसरी नि ल्याइ दिउँला नि!”
“ल ल!”
सन्ते आश्वस्त हुन्छ।
नभन्दै बीरेले बचन राख्छ । ठुलो साँझ पनि बितिसकेपछि बीरेले सन्तेलाई बाहिर बोलाउँछ। गोजीबाट झिकेर एक चोक्टा मासु दिन्छ। सन्तेले मासु गोजीमा लुकाउँछ।
सबैसँग बाँटेर खान पनि नपुग्ने। सानी बहिनीलाई मात्र दिँदा पनि नअघाएर कल गर्ने डर। एक छिन यस्तै सोचेर सन्तेले लुकेर एक्लै खान्छ एक चोक्टो मासु।
***
भोली पल्ट बेलुका सन्तेका आमा र दिदी आइ पुग्छन् छाप्रोमा। बेलुका भान्सै उज्यालो हुन्छ । चिसाङ् खोलाको माछामा गुन्द्रुक मिसाएर झोल तयार पारिएको छ। भात सेलाएपछि सबै केटाकेटी खान बस्छन्। सेलाएको भात तेलमा भुटेर सानी छोरीलाई पनि खुवाउँछे सुकुले। त्यसो गर्दा गन्धे चामलको दुर्गन्ध धेरै कम हुन्छ।
आज सबैले पेटभरि खाना खान्छन्। सन्तेले बीरेको पैँचो पनि तिर्छ। सानी बहिनीको पेट पनि साता दिनपछि बल्ल उक्सिन्छ। केही बेर आमाको काखमा लुटपुटिन्छे। साता भरिका पोल सुनाउँछे। भुसुक्क निदाउँछे।
सबै केटाकेटी निदाउँछन्। तर खुकुलाई भने निद्रा पर्दैन सधैँ झैँ। विगतका चोटहरू चहराउँछन छातीभरि।
भोलीपल्ट बिहान सलाई-साबुन इत्यादिको रिन तिरी नसक्दै रित्तिन्छ शुकुको थैली। खाना खाएर मोटर बाटो भएर ५-६ कि.मि पैदल हिँडेरै चिसाङ् फर्किने सुरसार गर्दै गर्दा ढोकैमा बोलाउँछ कसैले, “शुकु दिदी!”
“हजुर! को हो?” शुकु ढोकासम्म आउँछे।
ढोका बाहिर सव-सेक्टर प्रमुख, धने मगर, उभिएको छ।
“किन भाइ?” यति के सोधेकी थिई धनेका पछाडि त जमाने पो उभिएको देख्छे सुकुले। जामाने भुटानमा छँदाको छिमेकी हो । आइतेसँगै पक्राउ परेको।
शुकु झसङ्ग हुन्छे। उसका उत्सुक आँखाले आइतेलाई खोज्छन्। यता-उता। जमानेको पछिल्तिर—अहँ, कतै देखिँदैन आइते।
“पाहुना लेर आको नि दिदी। चिन्नु भयो होला नि!” जमाने एक कदम अगाडि बढ्छ, “सेवा है, नाना!”
हात जोडेर चुप-चाप उभिइरहन्छ मुर्तिवत। मलिन मुद्रा। झुकेको शीर। जमाने स्वाभाविक मिजासमा त छँदै छैन। आज धने पनि हाँसेर बोल्दै छैन। शुकुको मनमा खट्पटी बढ्छ।
हात जोडेर ‘सेवा’ फर्काएपछि शुकु एकोहोरो टोलाउँछे। अक्क न बक्क!
त्यतिकैमा वरिपरिका छिमेकी पनि फाट्ट-फुट्ट भेला हुन्छन्। शुकु हत्तपत्त सम्हालिन्छे। दुवै पाहुनालाई भित्र बोलाउँछे।
जमाने अन्कनाउँदै भित्र पस्छ। उसलाई माटोको ढिस्को उठाएर बनाइएको खाटमा बसाइन्छ। केही नबोली अन्कनाउँदै बस्छ जमाने। माटोको खाटलाई हातले सुमसुम्याउँदै अचम्मित भए झैँ गर्छ। सबैका उत्सुक आँखा जमानेतिरै सोझिएका छन्।
अनि कैले छुट्यौ त, भाइ? भेनाको खबर के छ? उसलाई चैँ छोडेन?” सुकुले सोधी हाली।
निकै असहज भावमा जमाने बोल्छ, “खोइ, भनूँ भने कसरी भनूँ , नभनूँ त भन्नै पर्नेछ। खबर त सुभो छैन है, नाना…!” जमानेको गला अवरुद्ध हुन्छ।
सबै एकाएक स्तब्ध हुन्छन्। शुकु त झन् आत्तिन्छे। “सिधा-सिधा भन, भाइ! भएको के हो?” कम्पित स्वरमा सोध्छे सुकुले।
“दुखो नमान्नु, नाना, आ-आफ्नै लेखान्त त होला। भेना त छैन है यो संसारमा। आबो पिर मानेर पनि फर्की आउँदैन। नआउने ठाउँतिरो गै गो। हाम्रो चेन दुखो सक्केको रैन रछ र यी यसरी जिउँदो लास भ’र बाँच्नु परेको छ…।”
शुकु चिच्याउँदै रुन थाल्छे। रोदन र चिच्याहट सुनेर छाप्रो भरि मान्छे भरिन्छन्।
“कैलेको घटना हो, भाइ? लास त पठाइ दिन्छ होला नि!” हत्केलाले आँसु पुछ्दै शुकुका बाउले सोध्छन्।
“के दिन्थ्यो हौ पापीले। आजको कुरा हो र? दुई वर्ष पो हुनु लाग्यो त। तपाईंहरूलाई लखेट्नु भन्दा पहिलेकै कुरा हो नि। पापीले लास त दिएन दिएन, घरमा खबर सुद्धो गरेनछ।” जमानेले थप प्रष्ट पार्यो।
तरक्कै रोए शुकुका बाउ।
“तिमीले के कति था’ पायौ, भाइ? कालगतिले त पक्कै मरेन होला मेरो ज्वाइँ।” मन थामेर सोधे शुकुका बाउले।
“कुटेरै मारेछ। भेनालाई छुट्टै राखेको थियो चार बाइ छको साँघुरो कोठामा। जति यातना दिए पनि मुख नखोलेपछि कुटेरै मार्ने निधो गरेछ पापीले । घाउ-चोट पाकेर पिपै-पिप हुँदा समेत उपचार गरेनछ। टट्टी-पिसाब एकै ठाउँ हुँदा पनि कुट्नु छोडेनछ। थला परेर वाक्य बस्नै लाग्दा घिसारेर बाहिर निकालेछ। अनि पेटीमा पल्टाइ दिएछ। त्यसपछि त्यो यातना दिने अफिसर हाम्रोतिर आउनै छोड्यो।
प्राण नजाँदै जिउभरि औँसा परेको थियो। पर-परसम्म दुर्गन्ध फैलेको थियो। हामी पाइखाना जाँदा कैले पानी मागेको सुन्थ्यौँ, कैले छोरा-छोरी र नानाको नाम लिइरहेको। कहिलेकाहीँ आमा-बाउ पुकारेको पनि सुन्थ्यौँ। हरेक पल्ट पाइखाना जाँदा मुखमा पानी लगाइ दिन्थ्यौँ। दुर्गन्ध र झिँगाले सार्है सताएपछि जसो-तसो स्याउला ल्याएर ढाकी दियौँ। त्यसपछि केही दिनमै वाक्य बसी गो ।
नाइन्टी वानको डिसेम्बर १७ तारिखको दिन हामीले हेर्दाहेर्दै पेटीबाट पुर्लुक्क लडी खस्यो। एकै छिनमा थाहा भयो परान गएछ। दुई दिन सम्म कसैले लास उठाएन। उता भोटेलाई न्यास्नल डेको रमझम थियो, यता हामी चेन शोक मनाउँदै थियौँ। दुई दिन पछि लास उठाएर कहाँ लग्यो थाहा भएन।”
जमानेको कुरा सुनेर भेला भएका सबै रुन्छन्।
बेलुका केटाकेटी स्कुलबाट फर्किन्छन्। आइतेको काज किरियाको तयारी भइरहेको हुन्छ। सबै कुरा बुझेपछि सन्ते र उसका भाइ-बहिनीको पनि सपना चकनाचुर हुन्छ। सन्तेको हृदयमा गहिरो चोट लाग्छ। बलिन्द्र धारा आँसु झार्दै रुन्छ। भाइ-बहिनी पनि रुन्छन्। अरू रोएको देखेर सानी बहिनी पनि कुरा नबुझी रुन्छे।
आज त सन्तेले भाइ बहिनी सम्हाल्न पनि सक्दैन।
अब उप्रान्त सन्तेको बहिनी फकाउने गीतबाट अन्तिम हरफ हट्नेछ। “…बाटोमा आप्पा आउँदेस” —यो हरफ छुटाउनु पर्नेछ। या त गीत अधुरो रहनेछ, या त अरू नै केही रचेर परिमार्जन गर्नु पर्नेछ।
जिन्दगीको गीत गाउँदै जिउने नयाँ तरिका खोज्नु पर्नेछ। यो स्वाभिमानको लडाइँमा नजन्मिँदै उत्री सकेका सन्तेहरू कति खरो उत्रनेछन्? हेर्न बाँकी छ।
*
[प्रस्तुत कथा सत्य घटना र निश्चित कालखण्डको इतिहासमा आधारित छ। केही इतिहासका किताबमा वर्णित घटना र केही आफैँले देखे भोगेका अलग-अलग पात्रका जीवन भोगाइलाई छासमिस पारिएको छ। स्थान र पात्रका नाम परिवर्तन गरिएको छ। साथै संवादमा काल्पनिकता प्रयोग गरिएको छ- लेखक]