तिमी कति सम्झन्छौ?
डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
ओहायो, अमेरिका
सानैमा पछाडि छोडिएकाहरू
छोड्दा जस्तो थे, त्यस्तै रहिरहन्छन् जस्तो लाग्दो रहेछ
तिमीलाई सानैमा छाडेको थेँ
तिमी त्यस्तै छौ जस्तो लागिरहन्छ।
तिमी पछाडि छोडियौ या
म अगाडि गएर पछि परे
त्यो म भन्न सक्दिन
तर तिमीलाई चैँ सम्झिरहन्छु।
तिमी कति सम्झन्छौ त्यो त मलाई थाहा छैन
म भने मधुरो, हो कि जस्तो, बादल लागेझैँ
अलि अलि मात्रै सम्झन्छु तिमीलाई, तर सम्झिरहन्छु।
घरको उत्तर पटिको बरन्डामा उभिएर म
हरियो जामामा पहेँलै बुट्टा भरेको स्वेटर लगाएर
तोरीका बाला बालामा आफ्ना कलिला हात फिँजाई
तिमी नाचेको देख्ने गर्छु।
खले गराको परालको थुप्रोमा उफ्रिरहेकी तिमी
आरिस लागेर म पनि परालमा खेल्न त्यही जाँदा
रिसले अखने उठाई
अङ्कुसे परेकोतिरबाट ठ्वाङ्ग मेरो टाउकामा हिर्काएकी थियौ
सानो खाल्डो टाउकामा अझै छ निशानी मसँग।
अझै पनि तिमी त्यस्तै रिसाउँछौ?
मेरो रिस मात्र होइन तिमीले
कहिले कहिले माया गरेजस्तो पनि लाग्थ्यो
मासको ढुटो पातली गाईलाई दिन जाँदा
गाईले हानेर म तीन गरामुनि पुगेको थेँ
तिमी रुँदै आमालाई बोलाएर ल्याएको कुरा आमा अझै गर्नु हुन्छ।
स्कुल जान मन नलागेर भुँडी दुखेको बहाना मेरो
आमालाई पोल लगाई दिने बानी तिम्रो
भुँडी दुख्नु बेग्लै बहाना, गाई चराउन जाने अर्को इच्छा
“म पनि जान्छु गाई चराउन” रुन्चे स्वरमा तिम्रो बिन्ती
धमि……लो सम्झन्छु अझै पनि
गाई चराउन जाँदा बाटामा हर्राका दानाले
टाउकामा प्वाक्क हिर्काउने गर्थे म तिमीलाई
तिमी रुँदै गर्दा “मैले त होइन है” भन्दै आफूलाई बचाउँथेँ म
सायद अखनेको पालो फेरेको थिए मैले।
तिमीलाई चिठ्ठी लेख्न मन नलागेको होइन
भन्न मन थियो कि
खेतका गराका भित्ता-भित्तामा
गाडीको रोड बनाई
हाँगाका डाँक्ला चिरेर सानो गाडी
म एकोहोरो कुदाइरहँदा
तिमी छेउमै बसी मलाई हेरिरहन्थ्यौ
“मलाई पनि देऊ न गाडी कुदाउन”
मायालु स्वरमा तिम्रो आग्रह
मलाई लाग्थ्यो तिमी मलाई मायाले हेरिरहेछौ।
चिठ्ठीमा यो पनि भन्न मन थियो कि
मेरो स्कुल जाने साथीले (मधु) जङ्गलको बाटो सुरु हुँदा
उ मदेखि अलि अ..घि गई
झ्यासमा लुकेर मलाई तर्साउँदा
मलाई औधी नै रुन मन लाग्थ्यो, रुन्थेँ पनि
त्यस बेला तिमी मसँगै भए हुन्थ्यो जस्तो भइरहन्थ्यो
अहिले तिमी मसँगै भए हुन्थ्यो जस्तो भइरहन्छ।
उखु पेल्ने कोलको वरिपरि
सकी नसकी कोल ठेल्नलाई साना हात पुर्याउँदा
तिमी “मलाई पनि ठाउँ देऊ” भन्दै
म र आमाका बिचमा जबरजस्ती घुस्रिरहँदा
आमाको छेउमा बस्न नपाउनको आरिसले
म उखुका गिँड चुस्न तर्फ लाग्थेँ
राति हजुरबाले खुदो पकाएको ठाउँमा गई
म दुई वटा बटुकामा खुदो माग्दै गर्दा
“अर्को बटुका चैँ कसलाई?” भन्दा तर्सिन्थेँ
फेरि हजुरबा मेरो उत्तरको आसै नगरी
खुदो दुई वटै बटुकामा लगाइदिनु हुन्थ्यो
त्यो अर्को बटुका तिम्रै लागि थियो।
एका बिहानै सिमसिमे पानीमा
घुम ओढेर आमा बीउ काढ्न जाँदा
म पनि सँगसँगै निथ्रुक्क भिज्दै जान्थेँ
फर्केर घर आउँदा तिमीलाई नलगेको निहुँमा
तिमी दिनैभरि रोई बस्थ्यौ
तिमीलाई फकाउन हरेक बहाना गर्थेँ
घरै मास्तिरको सुन्तला, कसैले नदेखी टिपेर ल्याउँथेँ
आलमारीमा रहेको अलिकति सक्खरको टुक्रा
केहीले नभएपछि, सेतो मिस्री अलिकति
अनि मात्र चुप लाग्थ्यौ तिमी
तिमीलाई मिस्री औधी मन पर्थ्यो
अचानक महाप्रलय फैलँदा
हाहाकार मच्चियो
तिमी त्यही रह्यौ
म बाहिरिएँ
यो संसार एउटा ठुलो घनचक्कर जस्तो छ
एउटा ठुलो गोलाकार
तिमी र म
तिमी मात्र पनि होइन र म मात्र पनि होइन
तिमी र म
त्यो ठुलो गोलाकारको एउटै ठाउँबाट
छुट्टिनलाई विपरीत दिशातर्फ लागेथ्यौं
विपरीत दिशातर्फ जति टाढा गए पनि
एउटा कुनै मोडमा त पक्कै फेरि भेट हुनुपर्ने
तिमीसँग फेरि भेट होस जस्तो भइरहन्छ
तिमी भए हुन्छ जस्तो भइरहन्छ।
म जे हुनु थ्यो त्यो त म भै सकेँ
अब हुन बाकी रहेको भने बूढो हुन बाकी छ
तर हेर न
बूढो हुनलाई यो ठाउँ राम्रो रहेनछ
तिमी सँगै भए बूढो हुनु उपलब्धि हुनेथ्यो
तिमी सँगै भए हुन्थ्यो जस्तो भइरहन्छ
तिमीलाई न त आफ्नू बनाउन सकेँ
न नजिकै बाट हेर्न सकेँ
अहिले यिनी छिन मसँग
तर पचासौँ ताराहरू बिच रहेकी यिनीलाई
आफ्नू भन्ने मन पट्टकै भएन
आफ्नू भन्ने मन पटक्कै छैन
तिमी नै साथमा भए हुन्थ्यो जस्तो भइरहन्छ
तिमीलाई कस्तो लाग्छ??