तिमी धेरै महान छौ!
हरी उप्रेति
ओहायो, अमेरिका
दश महिना आमाको गर्भमा
ईश्वरलाई पुकार्थ्यौ
अनि भन्ने गर्थ्यौ
हे ईश्वर! म मेरी आमाको मुहार हेर्न पाउँ
मलाई बोक्दाको त्यो छट्पटाहट्
अनि पिठ्युँमा म सँगै त्यो गरुङ्गो भारी
निधारबाट तप्प तप्प चुईने पसिना
यी मेरा हातमा न्यानो कपडा राखी
सदा सदाको लागी पुछ्ने रहर छ
बाबाले शिरको टोपी झिकेर
निधारका ती जलविन्दुलाई
टोपीसँगै अञ्जुलीमा राख्दाको पिडालाई
त्यो गण्डकीको जलले सदा सदाको लागि
धुने रहर छ
तर आज तिमी तिम्रा आमा बाबा भन्दा
धेरै -धेरै कोष टाढा छौ
पराईको लागि आफ्नो बनेकी छौ
अनि तिमी जन्मँदा तिमीले टेकेको आगन्
आज तिम्रै पाइलाको प्रतीक्षा गरिरहेको छ
तर तर तिमी पटक्कै जान मान्दैनौ
सायद त्यसैले होला तिमी महान छौ
पुरुष भन्दा पनि धेरै महान्
फेरि मेरो सामु आएर भन्छौँ
म पनि आमाले जस्तै
दश महिना बोक्छु नि ?
म निशब्द छु
तिमी भित्रको हिम्मत देखेर
आज धर्ती मुस्कुराउदै छन्
आकाशमा बादल फाटेर
सूर्यको किरण सँगै अट्टहास छोडिरहेको छ ।
त्यसैले त तिमी म ,उ अनि हामी भन्दा
धेरै अनि सयौँ गुणा महान छौ ।