तिमी बादलभित्र लुक्ता

कवि
कवि

ओम पोख्रेल
क्यानाडा

तिमी बादलभित्र लुक्ता
म पहरा छाम्दै थिएँ
पाखो भिरमा कुटो गाड्दै थिएँ
टेक्ने खुड्किलो, समात्ने लहरो खोज्दै थिएँ
यौटा झुप्रो उभ्याउन म घडेरी सम्याउँदै थिएँ
डोब बनाउँदै किल्ला गाड्दै थिएँ
करेंसोबारी बनाउन पाटा बिराउँदै थिएँ
बर्खे धान रोप्न गरा हिल्याउँदै थिएँ
हिउँदे मकै छर्न ढाँडे बारी जोत्दै थिएँ
कोदो- मस्याम रोप्न प्रत्यक बोट कोट्याउँदै थिएँ
फोक्टा बनाउन आली चुल्याउँदै थिएँ
गाई ग्वाली र पाली बनाउन पूर्वतिर एउटा सुर्को खन्दै थिएँ
गैरी खेतदेखि घरसम्म पुग्ने एउटा गोरेटो खन्दै थिएँ
दाउराको भारी बिसाउँने चौतारो बनाउँदै थिएँ
भरियाले पानी पिउने ढुङ्गे धारो बनाउँदै थिएँ
गाईलाई डाले काट्ने बिरुवाहरू लगाउँदै थिएँ
हिउँदे घाँस र पराल राख्ने एउटा माच बनाउँदै थिएँ
भिरालो पाखामा घर छाउने खर काट्दै थिएँ
बजार पुर्याउन बारीका कान्लाको अम्रिसो काट्दै थिएँ
बगानको सुन्तला बजार पुर्‍याउन घोडा लाद्दै थिएँ
वस्तु खर्क लैजान सामले पेरूंगो बुन्दै थिएँ
अगेनाको छेउमा बस्ने खोसेलाको पिरा तुन्दै थिएँ
यति बेला मलाई च्वास्स घोच्यो तिमी भैदिएको भए आज !!!
सायद तिमी मलाई एउटा फुरूमा मकै- भट्मासको खाजासँगै
कालो चिया लिएर आउँने थियौ
दाउराको भारी आँगनमा बिसाएर
पटुकीमा कसेर ल्याएको ठोट्ने त्यो खाजासँग दिनेथ्यौ
पोल्टोमा च्यापेको अलिकति टिम्मुर पिसी अचार बनाई दिनेथ्यौ
दाउराको भारी माथि बोकेको दुईवटा फून्से झिकी खाजासँगै दिनेथ्यौ
गुल्फो फुटाएर राम्रो पाकेको रहेनछ भन्दै आधा-आधी बाँडेर दिनेथ्यौ
म थाकेको बेला मझेरीमा बसी म नि निकै गलेँछु भन्दै सँगै ढिँडो हुँडल्थ्यौ
गाईको दूध तताएर ढिँडोसँग मुछेर खान दिनेथ्यौ
तर तिमी बादलबाट चिहाएर मैले खायो-खाएन भनेर हेर्छ्यौ
केही भन्दिनौ केही सोध्दिनौ
म पल पल तिम्रा आकांक्षहरू रोप्दैछु
म तिम्रा इच्छाहरू फलाउँदै छु
म तिम्रा आशाहरू फूलाउँदैछु
म हाम्रा सम्झनाहरू जोगाउँदै छु
तिमी बस यसरी नै मुस्कुराउँदै बादल भित्रबाट चिहाईरहु
म तिमीलाई नियालेर जिउँदो रहने कोसिस गरिरहन्छु ।

                                                                                           

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *