तिमी, म र अस्तित्वको प्रश्न
देउकुमार तामाङ,
खुदुनावारी
म तिमीलाई खै कसरी सम्झाऊँ
तिमी र मेरो बोक्रो एउटै हो
उही खोक्रो बोक्रोभित्रको म, तिमी, हामी एकै हौं
तिमीले ओडेको आकाश नै हो मैले ओडेको पनि
तिमीले टेकेको धर्ती नै हो मैले टेकेको पनि
एउटै प्रसव पीडा सहेर जन्मेका हौं तिमी पनि म पनि
एउटै आमाका सन्तान हौं तिमी पनि म पनि
त्यसैले तिमी अमर र म नास्वान पक्कै पनि होइन होला
यस अर्थमा,
जुन सुकै धर्म, संस्कृति अनि सम्प्रदायका भए पनि
नेपाली, भूटानी, अमेरीकी जुन सुकै मुलुकको नागरिक भए पनि
सडक र महलमा जहाँ रहे पनि
हामी मान्छे हौ
हामी मात्र मान्छेका सन्तान हौं
ज्ञानले यही भन्छ,
सद्भावनाले यही भन्छ,
प्रकृतिले यही भन्छ,
यति बुझ्दा बुझ्दै पनि
यस जगतमा विभिन्न भू– सिमारेखा निर्मित छन्
मानव जाति विभिन्न जात,रङ्ग र सम्प्रदाय विभक्त छ
उही खोक्रोपनामा हामीलाई गर्व छ
तिमी एक ध्रुवको म अर्कै
मेरो रास्ट्रियता,
मेरो जातियता,
मेरो धर्म,
मेरो पहिचान,
मेरो अस्तित्व
यसरी विभाजित छौं हामी
यो सब खोज्ने हामी को हौं ?
मेरो परिचय, मेरो राष्ट्रियता इङित गर्नु
तिम्रो मौलिक अधिकार होला
त्यसैले तिमी वरको म परको
मलाई राम्ररी थहा छ
यो सबै
तिम्रो मूर्खताले अर्जेको हुनुपर्छ
तिम्रो अहमताले अर्जेको हुनुपर्छ
तिम्रो स्वार्थले अर्जेको हुनुपर्छ
तिम्रो अनुकुलताको लागि अर्जेको हुनुपर्छ
किन भने,
म पनि, तिमी पनि कारण हौ कर्ता होइन
यस अर्थमा कारण कतै कर्ता भएको भ्रम पर्छ
त्यसैले मानिस अहमकारी, आडम्बरी र स्वार्थी हुन्छ
त्यो भन्दा पर कर्ता–निस्पक्ष छ, अनि अमर पनि
अनादिदेखि अनन्तसम्म उसकै राज छ
किन भने ऊ सत्य हो
सत्य समाधान हुन्छ, समस्या होइन
त्यसैले म भन्छु
तिमीलाई मेरो रास्ट्रियाता,सम्प्रदाय, मेरो धर्म
खोज्नुको कुनै अधिकार छैन, अर्थ छैन