तिमी र परिवर्तन

कवि

कृष्ण संघर्ष
एडिलेड, अष्ट्रेलिया

कोकिलको कुहु-कुहु,समीरको सुस्केरासँगै जिउने गोधूली
अन्योलग्रस्त छ,
उजाड छ प्राकृतिक रमणीयता
सडक सडकमा ढलेका छन् लासहरु
जता-ततै रगतको पोखरी भरिभराउ छ
बेचैन, विस्थापित छन्
स्वतन्त्र जलेवाहरु
रात्रीको मौनता चिर्दै बैगुनी तूफान वेग बढाउँदो छ
पश्चिम क्षितिजमा सूर्य ग्रहण भेष बदलिरहेछ
विस्थापित छन् लाखैँ-लाख घरभित्र
खोज्दै छन् निराश टोहोलाएका आँखाहरु
तिमी भन्ने !
सहिलाई गलत, गलतलाई-सहि
समानतालाई असमानता, असमानतालाई-समानता देख्छौ
पैसामा स्वयं बेचिँदै
कठपुतली झैं रगतको होली खेली,
आडम्बरको खाष्टो ओडी
शीतलाई दिनभरि थेग्न खोज्दै
संसारलाई हत्केलामा राखी
युगको परिवर्तन
गन्तव्यविहिन रुमलिएका बादलहरुमा
औंसीको कालरात्रीमा
चट्याङको गडगडाईमा
सागरको गहिराईमा
जल्दै गरेका चितामा खोज्छौ
अन्याय अत्याचारको जरा फैलाई
फुल्दै- नफुलेका शोषित,पीडित,थिचिएकालाई अझ थिच्दै
मदहोशमा डुबी अस्मिता लुट्छौ
स्यालको छाला ओढी बाघ बनी
राता- रात दीन, दि:खीका टहरा भत्काउँदै, सल्काउँदै
पोलेको घाउमा नुनचुक अर्पी
आँखकासामु बलात्कृत आमाको चित्कार
सुनेर- नसुने झैं, देखेर- नदेखेझैं गर्दै
लक्ष्यविहिन भविष्यको कालखण्डमा धकेल्दै
खण्ड- खण्ड भई जिउँछौ
गोमनझैँ डस्नबाहेक
के नै सिक्यौ र !
जहाँ !
छाँगा- छहराका प्रत्येक सुसेलीहरुमा
सहीदका आँसु तरंगित छन्
परिवर्तनका गगनचुम्बी सपनाहरु
कुना, कान्ला, कन्दरामा
पाटी, पौवा, मन्दिरमा
उकाली- अराली, भन्ज्याङहरुमा
शीतका थोपा- थोपामा निश्चल झर्नामा
अझै जीवित छन्
अलिकति तिमीमा मानवता मर्यादा
शब्द बाँकी छ भने
छाडी गंगटे, छेपारे भेष
आजैबाट कमिला, मौरीहरु जस्तै बन
जन्जिर, कुञ्जमा कुञ्जिएकी
काँडे तारमा बेरिएकी
फाँसिको प्रवाह नगरी
आँधीबेरी वर्षादमा जुध्दै
अट्ल स्तम्भ भई उभिएकी
गरीब, अबला आमाको लठ्ठी बनी हेर
त्यहाँ तिमीले जीवनको अर्थ पाउनेछौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *