तिम्रो याद

डिल्लीराम रेग्मी 
ओहायो, अमेरिका
हेर,
तिमीलाई जहिले देखि जान्न सुरु गरेँ मैले
मलाई यो थाहा थिएन कि
म तिमीमा आफूलाई खोज्नेछु।
आज म आफैँमा आफैँलाई खोजिरहेको छु।
मलाई यस्तो लाग्थ्यो कि
साँच्चै,
कसैलाई प्रेम गर्नु अत्यन्त मुस्किल हुनेछ होला
आज सच्चै बाच्न मुस्किल भइरहेको छ।
तिमीले मलाई यो बुझाइदिएकी थियौ कि
प्रेम कुनै सम्झौता होइन
जहाँ आफू भन्दा अर्कोलाई
आफैँभन्दा धेरै माया गर्नुपर्ने हुन्छ
तिमी सत्य थियौ त्यस बेला र अहिले पनि
म तिम्रो भ्रम तोड्न चाहन्थेँ
आज आफैँलाई तोड्न पुगेको छु।
तिमीले मलाई यो पनि सम्झाई दिएकी थियौ कि
प्रेम कुनै सागर होइन
जहाँ डुब्नु नै जरुरी हुन्छ
तिमी सत्य थियौ त्यस बेला र अहिले पनि
म तिम्रो त्यो जिद तोड्न चाहन्थेँ
आज म आफैँमा डुबेर हराएको छु।
तिमीलाई म के भनौँ
तिमी सधैँ सही थियौ
र त तिमी उस पार छौ
म सधैँ गलत र यस पार
र सायद आजभोलि प्रायजसो
मेरा तिनै तिमीलाई हराउने जिदको
तुवाँलो फैलने गर्छ चारैतिर
मुस्लो सरहको तुवाँलो
झ्याल र ढोकाहरू सबै जबरजस्ती खुलाएर
मलाई गाँज्ने गर्छ
उज्यालो बन्द गराएर, कोठा सुनसान बनाउँछ।
उज्यालो हुनासाथ, एक अनौठो आवाज गुन्जिएको महसुस हुन्छ
कोठा सबै अस्त व्यस्त देखिन्छ
झ्यालका सिसाहरू चर्किएका हुन्छन्
ढोकाहरूमा प्वाल देखिन्छ
कोठामा सबैतिर विद्रोह फैलिन्छ।
यसरी नै धेरै जस्तो तिम्रो याद आउने गर्छ आजकाल
र सबै अस्त व्यस्त बनाएर जाने गर्छ।
आजभोलि आफू समालिन
केही तिमीलाई पढेर लेख्ने गर्छु
केही तिमीलाई लेखेर पढ्ने गर्छु
यसरी नै हरपल म तिमीमा जिउने गर्छु
केही तिमीलाई हराएर खोज्ने गर्छु
केही तिमीलाई खोजेर हराउने गर्छु
यसरी नै हरपल म तिमीमा जिउने गर्छु।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *