तिलारूपा आचार्यका केही रूवाइत

तिलारूपा आचार्य (अधिकारी)
ओहायो, अमेरिका
सपनाहरू मौलिएछन् धोएँ कति कति
फूलहरू खोज्दा काँडा छोएँ कति कति
बिछोडिएर, तिमीबाट टाढा हुँदा खेरी
तिम्रो यादमा तड्पिएर रोएँ कति कति
टाढैबाट हेर्दा  फूलको मज्जा बेग्लै
अनजानमा गर्या भूलको मज्जा बेग्लै
माया दिएर त हेर्ने गर कहिलेकाँहि
हो! उमेरमा  चुल्बुलको मज्जा बेग्लै
तिम्रै मनमानी, तिम्रै मात्र विचार यहाँ
थाके, गले भो अब हुन्न प्रतिकार यहाँ
अत्याचार गर्नुको पनि सीमा हुन्छ महासय !
सावधान! असत्यको अवश्य हुन्छ हार यहाँ
आँखा आँखा बोलिरहे चुपचाप इसारामा ।
अनायासै पाएँ तिम्लाई जून अनि तारामा ।
किन हो! मुटु अनि धड्कन बढ्यो उसै बेला।
तिमी थियौ अनि म थिएँ मात्र त्यो अँध्यारामा ।
सम्झनामा बाँचेर जिउनु पर्ने जिन्दगी
यादहरू  साँचेर सिउनु पर्ने जिन्दगी
आफ्नै मुटु अचानक पराई भए पछि
पीडाको ज्वालो पिउनु पर्ने जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *