त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती

के.सी.सान्दाइ
एडिलेड, अस्ट्रेलिया

कर्म गरे पसिनाको मोती फल्छ भन्छन्,
वीरले शक्ति देखाइदिए ढुंगा बोल्छ भन्छन् |
पौरखीका हत्केलामा जगमगाउँछ ज्योति,
त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती |

भित्री मदेश तराइ पहाड हिम शिखरको फेदी ,
विश्व पनि दङ्ग पर्छ जसको छटा देखी |
स्वर्ग जस्तो मातृभूमि रमाइलो ज्योति,
त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती |

उषा लाली किरणले चाँप गुराँस हाँस्छन्,
हिम शिखर तराइमाँझ डाँफे मुनाल नाँच्छन् |
प्यारो मेरो जन्मभूमि सुवर्णझैं ज्योति,
त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती |

वसन्तको मोहनीले कोइली गीत गाउँछ,
पवनको मन्त्र जप्दै झरना बहिआउँछ |
छात्तीभित्र जन्मभूमि हिँड्छु देश बोकी,
त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती |

One Reply to “त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती”

  1. Sushil Pokhrel

    सी के जी,
    तपाइको कविता शैली माधवप्रसाद घिमिरेको जस्तो चाख लाग्दो लग्यो | सजिला शब्द र मिठो भाका अनि शब्द चित्रण नै खुबै रमाइला, बान्की परेका ………..|
    अग्रिम रचनाको प्रतीक्छ्या सहित /
    शुभेच्छा प्रकट गर्दछु
    सुशील पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *