त्यही हो मेरो देश
शिवलाल दाहाल,
खुदुनावारी
जहाँ हिमालबाट विस्तारै
हावाको बुई चढेर कस्तुरीको सुगन्ध बेंसी झर्दछ
जहाँ पहाडबाट झर्ने पानीका फोहराहरु
मोतीका दाना भएर अञ्जुलीभरि झर्दछन्
त्यही पहाड र हिमाल हो मेरो देश ।
जहाँ बारीका डिल–डिलमा
ओठभरि मुस्कान छरेर आरुका फूलहरु फुल्दछन्,
जहाँ खेतका गरा– गरामा,
सुनबालाहरु हावामा बयली खेल्दछन्
त्यही खेत र बारी हो मेरो देश ।
जहाँ धुपी र सल्लाहरु
आफ्नो छाँया हिमनदीहरुमा हेरेर मुस्कुराउँछन्
जहाँ बाँसुरीको धुनमा गोठालाहरु
जीवनको सारङ्गी रेट्दछन्
त्यही धुन र ‘सारेगम’ हो मेरो देश ।
(यो रुपका कविता भूपि शेरचन र भिमदर्शन रोकाका पनि छन्– त्यसो हुनाले यस कवितालाई तिनीहरुकै पूरकका रुपमा लिनुहुन अनुरोध छ ।–लेखक )
देश प्रतिको माया ब्यक्त भएको यो कवितामा प्रकृतिको पनि राम्रो वर्णन छ | मन पर्दो लेखन शैली, सजिला शब्द अनि रुचिलो भाका छ | यो क्रम नारोकियोस |
सुशील पोखरेल