त्यो रात

कथाकार
कथाकार

रमेश दियाली
वासिङ्टन, अमेरिका

अफिसको काम सकेर सिधै कोठमा आईपुगेँ। आङ तनक्क तन्काएँ। लामो सास फेर्दै सोफामा थचक्क बसेँ। पुरै थाकेँछु। स्याउको जुस धट…धट..पिएँ। शीतल महसुस भयो। लामो सास फेरेँ। सिगरेट सल्काएँ। धुवाँ उडाउदै गर्दा जुत्ताको लेस खोलेँ। चिसो पानीमा नुहाउन मन लाग्यो। कपड़ा खोले। नुहाउन पसे। सोचे केही खानु पर्‍यो। अहं ,केही खान मन भएन। सम्झे ! सुत्नु पर्‍यो। वेडमा पल्टे। निन्द्रा पटक्कै लाग्या हैन। यसो घड़ी हेरेँ, ९ बजिसकेछ। एक छिन पारिजातको “सिरीषको फूल” किताब पढ़न थालेँ। एक पाना पढ़ेपछि खासै मन लागेन। ह्वात्त किताब टेबलमा फ्याकिदिएँ। बिचारा!! पारिजात….!! सोचेँ !

फेसबुकमा बस्नु पर्‍यो। धेरै भएको थियो, फ़ेसबुक नखोलेको। नेपालदेखि हिँडेपछि कति साथीहरूसँग कुरा गर्न नै पा छैन। कोही अनलाइन भए आज खुब कुरा गर्नु पर्‍यो। ल्याप्टप खोलेँ। फेसबुकमा युजर नेम र पासवार्ड लगाउँदै गर्दा फेरि अर्को सिगरेट सल्काएँ। साथी भने पनि आफन्त भने पनि साला !.. यही सिगरेट त छ नि….!!!! सिगरेटलाई हेर्दै धुवाँ झ्यालबाट बाहिर उडाइदिएँ। जुनेली रातको प्रकाशमा धुवाँ त्यो माथि बादललाई भेट्न आतुर थियो। निधारको भाग अलिकति खुम्चियो। उँभो हेरेँ। कस्तो ! पासवार्ड त इनकरेट भन्छ त? किबोर्डमा अौँला हल्लाउँदै गर्दा याद भयो। सेट !!! पासवार्ड त यो पो त!!!!!! “नेपाल २००८”। फेरि लग इन गरेँ। फ़ेसबुक ओपन हुन साथ, वाट्स इन ह्योर माइन्ड भन्छ। बेस्सरी रिस उठ्यो। सिगरेटको टुक्रा एसट्रेमा रगेट्दै, गर्दा मैँले पनि भनिदिएँ। तेरो चैँ माइन्डमा के छ नि ? नोटिफिकेसन र मेसेजमा रातो देखिहालेँ। १४ वटा मेसेज रहेछ र २० नोटिफिकेसन। हैन ! यो गेम रिक्वेस्ट कति पठाएको ह ? सिधै इन बक्स मेसेजमा क्लिक गरेँ। हाई… !! लेखेको रहेछ। सन्दीप क्षेत्रीले। सम्झने कोसिस गरेँ। को रहेछ यो सन्दीप ? अहं , मेरो कोही सन्दीप नाम गरेको साथी छैनन्। हेलो !!!!….अनुको अर्को मेसेज रहेछ। अनु …? फेरि दिमागमा झट्का लाग्यो। आ ……!! जो सुकै होस्। यसलाई चैँ रिप्लाई गर्नु पर्‍यो। रिप्लाई गरी हालेँ। हेलो …!!!😀

अरू मेसेजहरू पनि हेर्दै जान थालेँ। प्रज्वलध्वज राणाले पनि सम्झिन भ्याएछ। टाउको हल्लाउँदै मन मनै यसो भनेँ- सम्झिन्छ केटाले। फोन नम्बर मागेको रहेछ। नम्बर छोड़िदिएँ। अनुको मेसेजको पर्खाइमा बसेँ। पटक्कै रिप्लाई गर्या हैन। घडी हेरेँ। १ घण्टा भइसक्यो। अत्तोपत्तो छैन। अब सुत्नु पर्‍यो भन्दै गर्दा प्रोफाइल चेक गर्न मन लाग्यो। कभर फोटो त बच्चाको पो छ। सोचेँ विवाहित होला। मुख लोपारेँ।  बुढो चैँ विदेशमा होला। हामी जस्तो अविवाहित केटाहरूलाई लाइन मार्छे कति न भर्जिन भए झैँ ! अझ जान्न मन लाग्यो। एबाउटमा क्लिक गरे। डिसेम्बर ८, १९८८ बोर्न डेट रहेछ। केटी त कलिलै छे। करेन्ट सिटी काठमांडू उल्लेख गरेकी थिई। प्रोफेसनल स्किल त खासै केही थिएन। स्टास पनि सिगंल छ। फेरि यो बच्चा? ….. फोटो हेर्नु पर्‍यो भन्दै गर्दा टिगं…..टिगं…आवाज आयो। उसैको मेसेज रहेछ। हल्का हासेँ..,साइडबाट। सिगरेट सल्काएँ। नमस्ते लेखेँ। उताबाट नमस्कारको 🙏ईमो पठाइन्। तिम्रो म्यूज़िक भिडियो हेरेको थिएँ। राम्रो लाग्यो। त्यसैले फ़ेसबुकमा सर्च गरेर एड गरेको। नाम ? उसैले लेखिन्…!!! मैँले पनि लेखिदिएँ – “समीर”। अनि फ़ेसबुकमा त अर्कै छ त ? फेरि सोधिन् । साथीहरूले जिस्काउने नाम हो …, “झापाली केटो” अनि तिम्रो ? मैँले सोधेँ। अनु…….!!!!! अनु के नि ? लाष्ट नेम छैन ? अहिलेको जमानामा पनि जात सोध्ने ? तिमी त पुरै रेसिस्ट रहेछौ। सोचे जति स्मार्ट रहेनछौ। रिप्लाई गरिन्। सरी लेख्दै डिलिट गरेँ। के लेखौँ, के लेखौँ भो। सोधेको मात्र …!! नरिसाउन यार। जवाफ फर्काएँ। इट्स ओ के। रिप्लाई गरिन् ।”प्रेम नबुझिदिनेहरूलाई प्रेम गरेर समय बर्वाद नगरेकै राम्रो, प्रेम उसैलाई गर जसले तिम्रो प्रेमलाई कम्तीमा पनि बुझिदियोस्” 🌹रातो गुलाबको फोटो सहित फ़ेसबुकको वालमा स्याट्स लेख्न भ्याइसकिछिन्। क्रेडिट साया उपन्यासलाई दिएकी थिइन्। मैँले पढ़ेँ। खुब पढ़ेँ। लाइक पनि गरेँ। घर कहाँ नि? मैँले सोधेँ। सुकेधारा, काठमांडू। तर अहिले चैँ त्यहा बस्दिन। पोखरामा बस्छु। रिप्लाई गरिन्। अनि तिम्रो ? वासिन्टगं सेटल भनिदिए। 👍 थम्पस् अपको इमो पठाइन्। सोध्न मन लागेको थियो!!!! तिमी बिबाहित हौ? अहं सोधिन। अनि त्यो बच्चाको फोटो चैँ? त्यो पनि सोधिन।

“हाम्रो शरीरको सब भन्दा सुन्दर वस्तु नै मन हो। मनमा माया भएपछि प्रेम आफैँ हुन्छ।” उनको स्ट्समामा कमेन्ट पनि लेखेँ। मेरो कमेन्टमा लाइक गरिन्। उनीसँग कुरा गर्दा कमफटेबल फिल भइरा’छ। फेरि मेसेज गरिन्। के गर्छौ यु. एसमा ? ग्राफिक डिजाइनको स्टुडेन्ट हो। उत्तर दिएँ। तिमी चैँ के गर्छौ? मैँले सोधे। जवाफ फर्काइन् – आकाशमा उड़छु। छक्क परेँ . .. , निधार अलिकति खुम्चियो। सिगरेट फ्यात्त भुइँमा झर्यो। के ? फेरि सोधेँ। बुद्ध एयर लाइन्समा एयर होस्टेज गर्छु। सिंधा उत्तर दिइन्। सिरियस्ली! मैँले लेखेँ। एयर होस्टजको ड्रेससँगै क्याप्टेनसँगको सेल्फी फोटो सेन्ड गरिन्। वाओ नाइस …लेखेँ। रमाइलो हुन्छ होला है आकाशमा उड़दा? जिज्ञासा सहित प्रश्न गरेँ। सधैँ आमाले भन्नु हुन्थ्यो – “छोरी, पढी-लेखी ठूलो मान्छे बन्नु पर्छ।” ठूलो मान्छे कस्तो हुन्छ मलाई थाहा थिएन। बाबाको स्वार्गवासपछि आमाले नै दु:ख गरेर आज म यो ठाउँमा छु। वैशाख १२ गतेको भूकम्पले दाइकी सानी छोरीलाई पुर्यो। त्यो तोते बोली अझै पनि मेरो कानमा गुन्जिरहन्छ। मेरो फ़ेसबुकको कभर फोटोमा राखेको छु। हेर न। मैँले हेरिसकेको थिएँ तर मैँले भनिन्। मेरो सानै देखिको सपना खुल्ला आकाशमा पन्छी झैँ उड़ने। आज सानोमा देखेको सपना पुरा गर्दै छु। तिमीसँग कुरा गरेर खुसी लाग्यो। भोलि बिहानै जोमसोमको फ्लाईट छ। नमरी बाँचे फेरि कुरा गरौँला। उनको अन्तिम मेसेज पढ़दै गर्दा मन भारी भएर आयो। शुभ यात्राको मेसेज सेन्ड गर्दै गर्दा अफलाईन भइसकिछिन्।

रात निक्कै छिप्पिसकेको थियो। म पनि फ़ेसबुक साइन आउट गर्दै चुरोट सल्काएँ। दुई सर्को ताने र फ्याकिदिएँ। अब सुत्नु पर्यो। टाउको दुख्ला -दुख्ला झैँ भयो। आँखा बन्द गरी सुत्ने प्रयास गर्दा गर्दै निदाएँछु। मलाई अलार्मले घरी-घरी हिर्काउन थाल्यो। बिहानको १० बजिसकेछ। जुरूक्क उठ्दै गर्दा फोनको रिङ बज्यो। उही प्रज्वलध्वज राणा रहेछ। न्यु योर्कमा होटेल ब्यवासाय गर्छ। हामी ११ र १२ सँगै पढ़ेको। एक हिसाबले मेरो मिल्ने साथी पनि हो। फोन उठाएँ। नेपालमा बुद्ध एयरलाइंस दुर्घटना भयो रे! ओ! सेट !!!! हो र ? मेरो बहिनी पनि थिई, भन्दै गर्दा फोन काटेँ र हतार हतार अनलाइन समाचार हेरे। ब्रेकिंग न्यूज़- “बुद्ध एयरलाइंस दुर्घटना ग्रस्त” कान्तिपुर प्रत्रिकाले छापेको रहेछ। “पोखराबाट जोमसोमको लागि उडेको 9A-AJO भएको बुद्ध जाहज आज ८:१५ बजे दुर्घटनाग्रस्त अवस्थमा फेला परेको छ। जहाजमा सवार २० यात्रु, ३ चालक र एयर होस्टेजको मृत्यु भएको छ”। ओ! माई गड़ !!!…. नो !!! ओ माई गड़। मेरो बोली नै बन्द भए झैँ भयो। आँखा पोल्न थाल्यो। पानी धट- धट पिएँ। सिगरेट सल्काएँ। धुवाँभित्र लिँदै बाहिर फ्याकेँ। लामो सास लिँदै फ़ेसबुक खोलेँ। सिधै उनको फ़ेसबुक वालमा गएँ। हरियो एयर होस्टजको ड्रेसमा मुसुस्क हाँसेर नमस्कार गरेको तस्बिर सहित स्टाट्स लेखेको थिइन्। “आज जोमसोमको हावामा खुब रमाउन मन छ। ३ क्याप्टेन सहित २० यात्रु र म उड़दै छौँ। फोटो हेरे। हातको अौला थर.. र .. र काम्यो। शरीर लल्याकलुलुक भयो। मुख सुकेछ। दाहिने हातको औला आँखामा अगि पुगेछ। आँसु थामिएन……। रोएँछु…..। धुटुक्क थुक निलेँ। उनको फोटोमा श्रद्धासुमन दिँदै थिए। रिप अनु।”यु आर इन आवर हाट्र।” कसैले दुखद घटना भन्दै थिए। कसैले राष्ट्र र क्याप्टेनलाई दोष दिँदै थिए। म अन्योलमा परेँ। म कसलाई दोष दिअौँ? यो संसारमा जे सोच्यो त्यो हुन्न रहेछ। जे हुन्छ त्यो एउटा घटना बनेर अन्नतसम्म पिरोलिरहने रहेछ। हामीले कुनै कल्पनै गरेका हुन्नौ। हो, त्यही कल्पना नगरे कै कुरा वास्तिवक र यथार्थ हुँदोरहेछ। यो माया भन्नै शब्द नै कस्तो नमिलेको जस्तो लाग्छ। वर्षौँसम्म देखादेख भएर पनि माया बस्दैन तर कहिल्यै नदेखेको मान्छेको यति धेरै माया लाग्छ। कहिले कहीँ उकालो हिँड्दै गर्दा थकित भएर लठ्ठीको साहारा लिन्छौँ। जब उकालो सकियो, लठ्टी फ्याक्न माया लाग्छ। साँच्चै माया भन्ने चिज नै यस्तै, अजीव। जीवन यात्रामा थुप्रै सम्बन्धहरू जोडिन्छन् र टुट्छन् समयसँगै। तर केही यस्ता सम्बन्धहरू छन् जुन चाहेर पनि मेटिँदैन। बाँचिरहन्छन् ज़िन्दगीभरि, अन्नतसम्म। एउटा अमर छाप बनेर………। ढुङ्गामा खोपिएको अक्षर झैँ। सम्बन्ध त हाम्रो बिचार , भावनाले पो बनाउँदो रहेछ। “अल बिदा अनु”। “आत्मले शान्ति पाओस् ” सिगरेट सल्काउँदै गर्दा फ़ेसबुक साइन आउट गरेँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *