त्यो रातको कथा

कवि
कवि

शङ्कर रैनपुरे
युटा अमेरिका

दमनको एक लहर सुनामी
जो बस्ती बगाएर गयो
सबथोक बगायो छोरा
सबथोक बगायो….

आज तिमीहरूलाई
त्यो रातको कथा सुनाउँछु
जुन रात
नियतिले हामीलाई
माईसम्म लखेटेर पछारेको थियो
बिउँझँदा…
मसँग
एक जोडी पुरानो दौरा
आमासँग
उध्रिनै लागेको चौबन्दी
तेरो ओठमा
कोपिलाउँदा भाषाका मुनाहरू
र बहिनीको पाइलामा
ता..ते ताते थियो
यत्ति थियो
सबथोक थियो
अहो!! हामीसँग देश थिएन

हो छोरा!!
आज तिमीहरूलाई
त्यो रातको कथा सुनाउँछु
जुन रात
दिनरात
भोक छट्पटाइरहन्थ्यो
तिर्खा रसाइरहन्थ्यो
निद्रा बिउँझिरहन्थ्यो आँखाबाट
तप्प तप्प
माई खोलाको बगरभरि
हरेक दिन ट्रकहरुले
भोको पेटहरू फालेर जान्थे
म मलामी धाइरहन्थेँ
मृत सपनाहरूको
भाषाका मुनाहरूको
चाउरी गालाहरूको
साना साना पेन्सिल र कलमहरूको
जवान जाँगरहरूको
अबोध योद्धाहरुको
साँझ बिहान दिउँसो
एउटा इतिहासको पन्ना च्यातिन्थ्यो
र बिलाउँथ्यो
माई खोलाको पानी जस्तै…

हो छोरा!!
आज तिमीहरूलाई
त्यो रातको कथा सुनाउँछु
जुन रात
आधारातमा तैँले
‘बाबा भोक लाग्यो’ भनेको थिस्
बहिनीले आमाको काखमा बसेर
‘आमा माम’ भनेकी थि
आमाको पटुका कस्सिदै गएको थियो
अगेना चिसो थियो
भाँडा रित्तो थियो
मैँले त्यत्तिकै भनेको थिएँ
“भोलि बिहानै चामल खोजी ल्याउँला”
“गिलिमाम खाउँला है”
र तिमीहरू भोकै निदायौ
गिलिमाम खाने सपना देखेर
म आमा र माईखोला
रोइरह्यौ, बगिरह्यौ…
बिउँझँदा…
मेरो हातमा एक पोको चामल
आमाको हातमा एउटा त्रिपाल
तेरो हातमा किताब
र बहिनीको हातमा
पेन्सिल थियो
यत्ति थियो
सब थोक थियो
ओहो!! हामी त शरणार्थी भैसकेछौं!!

हो छोरा!!
आज तिमीहरूलाई
त्यो रातको कथा सुनाउँछु
जुन रात
एकरात तैँले
पिक्निक जान दस रुपैयाँ मागेको थिस्
र मैँले
टाङ्टिङ, रत्वा र टिमाई खोलाहरूमा
गिट्टी कुट्न थालेको थिएँ
बहिनीले नयाँ कुर्ता मागेकी थि
र आमाले चर्खा घुमाउन थालेकी थि
हामीले हातका ठेलाहरुसित
घाम, पानी र बादलहरूसित
आँसु, पसिना र रगतहरूसित
दिन, महिना र वर्षहरुसित
बुढ्यौली, चाउरी र भोकहरूसित
मन्दिर, धाम र देवताहरूसित
मात्रै
तेरो र बहिनीको ओठमा
उज्यालो….
सुन्दर……
रंगिन भविष्य साटिरह्यौ
अब त…
त्यो रातको कथा पनि सकियो
तिमीहरू ठूला भैसक्यौ
जान्ने-बुझ्ने भैसक्यौ
विद्वान्-ज्ञानी भैसक्यौ
तिमीहरूलाई दिन पनि केही रहेन अब त
पाखुरामा बल छैन
हिँडाईमा रफ्तार छैन
आँखामा तेज छैन
बोलीमा विश्वास छैन
हो छोरा!!
अब त तिमीहरूलाई दिन पनि केही छैन
यो एक थान पुरानो दौरासुरुवाल छ
जतन गरी राखेस्
आमाको चौबन्दी बहिनीले लगाउनू
आफ्नो भाषा-भेष र देश
काहिल्यै नभुल्नू।

हो छोरा!!
दमनको एक लहर सुनामी
जो बस्ती बगाएर गयो
सब थोक बगायो छोरा
सब थोक बगायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *