त्रासदीको सन्त्रासले ल्याएको समानता
यतिराज अजनबी
एड्लेड, अष्ट्रालिया
दुर्भिक्ष र कुपोषणको प्रकोपले
सदियौँदेखि सिकिस्त अफ्रिका एक्लै लडिरहेछ
प्राणको भिख मागिरहेछ
भोकमरीको भाइरसले त पक्षपात गर्छ
पस्छ र बस्छ गरिबको खाली पेटमा खालि
कोरोना भाइरसले वर्गभेद गर्दो रहेनछ
वीरता र वरीयताको आधारमा पनि भेदभाव गर्दो रहेनछ
पैसा, पेसा, देश, भेष केहीले पनि मान्छेलाई छुट्ट्याउँदो रहेनछ
गोरा र काला उही, चुच्चा र थेप्चा उही
उसको आँखामा डाक्टर र झाँक्री उही
सेनापति, राष्ट्रपति, प्रधानमन्त्री र लोकन्ती उही
डोनाल्ड ट्रम्प अनि टोम, डिक, ह्यारी उही
एडोल्फ हिट्लर, सद्दाम हुसेन पोल पोटसँग भन्दा बढ्ता
मान्छे अहिले डराएको छ यौटा अज्ञात तथा अदृश्य शत्रु COVID-19 सँग
यौटा अज्ञात तथा अदृश्य शत्रु COVID-19 सँग मान्छे
वियु-१ र २ मा भन्दा धेरै घबराएको छ
एकअर्काको सम्पर्कबाट हराएको छ
भुलेको छ त्यो त्रासदी— यहुदीहरूको जाति संहार
बिर्सिसकेको छ मान्छेले ग्यास च्याम्बर
अहिले सारा विश्वको सम्पूर्ण मानव जाति
विवश छ हेर्न आफ्नै पूर्णाहुति
सूर्योदय र सूर्यास्तले कुनै फरक पार्दैन अहिले
अँध्यारोमै निदाएका छन् लाटोकोसेराहरू
ओकल्दैनन् आलाप अचेल कोइलीहरू
चुपचाप चुपचाप छन् सधैँ चिरबिराउने चञ्चल फिस्टाहरू
सिनुको गन्ध आए पनि छैनन् त्यसमा लालायित गिद्धहरू
सर्पको आक्रमणले निस्केको
भ्यागुताको चिच्याहट नसुने झैँ गरिरहेछन् चीलहरू
अन्य जनावरलाई झम्टन छोडेका छन् सिंहहरू
यतिखेर छालहरू एक्लै बोलिरहेछन्
समुद्रितटमा हिँडिरहेछ
बुलेटप्रुफ ज्याकेट लगाएर प्राणघातक नीरवता
सबै मन्दमन्द छन्
नाकाहरू बन्द छन्
नाताहरू निस्पन्द छन्
जीवनका भाकाहरू बन्द छन्
नाइट क्लबहरूमा कल्पान्तमा झैँ ताण्डव नाचिरहेछ वर्तमान
दर्शक-श्रोताविहीन अपेरामा ब्लुज गाइरहेछ हर प्रहर
भूतबङगलामा परिणत भएका छन् सिनेमा हलहरू
सुस्ताएका छन् सपिङ मलहरू
निर्जन छन् प्लाजाहरू
शून्य छन् कुञ्ज, बाटिका, उपवन
ढुकढुकी चले पनि चले झैँ लाग्दैन पवन
घडीको सुई सरे पनि सरे झैँ लाग्दैन समय
पहाड झैँ स्थिर छन् अवधिका नदीहरू
रित्ता रित्ता छन् फेवामा नाउहरू
एक्ला एक्ला छन् गाउँहरू
निस्तब्ध छन् सहरहरू
सुनसान सुनसान छन् वाल स्ट्रिटहरू
निःशब्द छन् गिर्जाघर र मन्दिरका घण्टहरू
आफ्नै नाबालक सन्तानलाई
आफ्नो दूध चुसाउन हिचकिचाइ रहेछन् आमाहरू
आफ्नै बाबुको लास उठाउन डराइ रहेछन् छोराहरू
मलामी छैनन् मसानघाटमा
जन्ती छैनन् बिहेबटुलोमा
बेहुलीको औँला समातेर औँठी लगाउन
सङ्कोच मानिरहेछन् बेहुलाहरू
सुहागरातमा यौटै ओछ्यानमा सुत्न
सन्त्रस्त छन् नव-जोडीहरू
चकमन्न छ आकाशमा छैन विमान
हडतालमा बसेका छन्
उडान स्थगित गरेर लिएका छन् नउड्ने अडान
निदाएका छन् रेलवे ट्रयाकहरू
सुस्ताएका छन् सडकहरू
मुर्दा झैँ सुतेका छन् स्कुल कलेजहरू
खाली खाली छन् आज
हिजोसम्म खचाखच बार, पब, क्याफे, रेस्टुरेन्टहरू
कारखानाको चिम्नीबाट निस्कन छोडेको छ धुवाँ
रङ्गशालाको मैदानमा खेलिरहेछ समय
दर्शक-दीर्घामा आपसी दूरी कायम गरी
बसेर सिटहरू हेरिरहेछन् समयको खेल
मान्छेले आत्मसमर्पण गरेको छ
आफ्नै निवासमा नजरबन्द छ मान्छे
गृहहरू बनेका छन् बन्दीगृह
बन्दीमा रूपान्तरित भएका छन् गृहवासीहरू
कविको आवाजमा यो कविता हेर्न/सुन्न यहाँ थिच्नु होला