दण्डित छन् अहिले …
डिल्लीराम शर्मा आचार्य
क्रागेरो, नर्वे
चिम्लीलोचन मघ्न भो प्रकृति नै साह्रा अँध्यारो भरी
वर्षा हीम छ वर्षियो जमिनमा सातो सबैको हरी ।
मूर्छा भो जगतै कि आज विचरा ! तत्काल नै सागर
निद्रामा मनमस्त भो बसपरी मर्दै गयो जाँगर ।।
सुत्यो मस्त वसन्त यो क्षिणभरी न्यानू गुफामा गई
शान्ति भ्रष्ट भयो सबै रस गयो गृष्मे नजर्मा परी ।
वर्षाले पनि दीनहीन बनिदै त्यागेर गूफा गयो
थाम्नै मुस्किल भो अहो ! शरदको सातो मुठीमा रह्यो ।।
आयो जर्खरिँदै उठेर रिसले लाठी उठाईकन
जिग्मे शासन भो हेमन्त ऋतुको काप्तै गयो जीवन ।
पंक्षी ती वनका सबै कठिनले झछर्न् जमीनै महाँ
साह्रा जीव फुलीरहेछ अबता पाको सरी झैं यहाँ ।।
डाँड़ा पर्वत वृक्ष नै प्रकृतिले दण्डित गर्छिन् कति
वृक्षै मूर्दा बने झरेर विचरा ! पत्ता हरु थ्यो जति ।
घुर्दै छन् सब ताल मस्त निदमा जामेर सारा जल
मछा छट्पटमा परेर विचरा ! पंक्षी भए खल्बल ।।
सेतैमात्र छ आज भूमि रसको बोटै हराए सरी
मान्छेको मुटु काप्छ थर्थर गरी जन्तू भए थर्थरी ।
तातो बाफ उकेल्छ हुर्हुर गरी प्राणी जतीले अहो !
चिप्लिन्छन् पथमा वहान सहजै आश्चर्यको बात भो ।।
यस्तो अद्भुत दृष्य यो प्रकृतिको सौन्दर्यता नै
हरीएको झैं मत ठान्दछु नयनले, दण्डित छन् बेस्सरी ।
टल्किन्छन् जति घाम लाग्छ उति नै खीचेर ज्योतिहरु
साह्रा मुर्छित झैं छ रङ्ग सकियो सेतै बनीयो अरु ।।
डाँडा पर्वत भूमि ठप्प भरियो वर्षा हिमैको झरी
तातो छैन कतै जतै जमिनमा सेताम्य भो बेस्सरी ।
सिंगे शासन झैं छ मस्त अहिले हेमन्तको शासन
फुल्दैनन् कुछ फूल मुर्छित भए चल्दैन है वासन ।।