दर्द
टि.आर राई ‘आँशु ‘
मेरो जीवनमा घाम लाग्न त सकेन
फेरी तिमी कसरी छायाँसरी आउँछौ?
म जता जान्छु तिमीसँग उतै भेट हुन्छ
अलिकति पनि पटाई नमानी मलाई कुरी बस्छौ
मेरो तमासा हेर्न तिमीलाई धेरै शौक छ होइन?
सायद जन्मे देखि आजसम्म मेरो पीछा छोडेनौ
नतमस्तक म पनि तिमीलाई अङ्गाल्न विवश छु
कहिले कतै झुटो मुस्कुराहट भित्र
तिम्रै राज फैलिएको छ, मेरो अन्तर आत्मालाई
सधैँ तिमीले गाँजी रहेछौ
मेरो दर्द भरी कहानीको समीक्षा गर्न
अनि फेरी मेरो खिल्ली उडाउन
त्यति भए पुग्छ हैन तिमीलाई?
तिमी नै हौ मेरो कथा व्यथाको सुरुवात
हुनसक्छ तिमीसँगै म खतम हुनेछु
अब त तिम्रै इसारामा नाच्न थालेँ
हुनसक्छ यो कठपुतलीको खेलले
तिमीलाई मनग्य मनोरञ्जन दिँदो हो
मेरो दैनिकी तिमीले नै तयार पार्छौ
तिम्रै गुलामीको खेती गर्दै छु
तिमीसँग छुटिन त धेरै मन छ
तर सायद त्यसको लागि
मैले मेरो मृत्यु नै कुर्नु पर्छ,
अब त धेरै थाकेँ, शक्तिहीन भएँ
थोरै भए नि न्यायको भीख माग्छु
मलाई पनि उज्यालो हेर्न मन छ
तिमी एक क्षण सूत न आँखा चिम्म गर है,
म संसार डुलेर आउँछु,
खुसीसँग भेट गरेर आउँछु,
मेरो पनि अलौकिक संसार हेर्ने रहर बढेको छ ………