दले घर्तीको वासना मोह
नील अधिकारी
ओहायो, अमेरिका
कार्तिक महिनाको सुकिलो दिन थियो ! अकासमा सेता प्वॉख फिँजाएर बादलका टुक्राहरू यत्रतत्र छरिइरहेका थिए।
दसैँको रमझम नसकिँदै अर्को रमाइलो पर्व तिहारको आगमन भईसकेको थियो। गाउँघरका मान्छेहरूलाई किनमेल, घरको सिंगॉर पटार गर्न निकै चटारो परिकहेको थियो। मानौँ बचौला गाउँ सिङ्गै तिहार भित्राउन जुटेको थियो।
त्यसै गाउँमा एउटा दलवीर नाम गरेको घर्ती पनि बसोबास गर्थ्यो । एक मध्यम वर्गीय परिवारको दलवीर पनि वर्षदिनमा आएको तिहारलाई स्वागत गर्न जोड-तोडले लागेको थियो । दलवीरको सानो एवं सुखी परिवार थियो। आज्ञाकारी छोरा छोरी । सुशील पत्नी । धर्म पारायण माता पिता। जीवनका अनेक उतार चढ़ाव र विभिन्न सङ्कट एवं व्यवधानहरूको दले डटेर सामना गर्ने हिम्मत गर्थ्यो । दले घर्तीको घरमा पारिवारिक कलहले भने कहिल्यै पनि छोएन। छोओस् पनि कसरी ? छोरामा छोरा ! छोरीमा छोरी ! अप्सरा जस्ती स्वास्नी !
दलवीर एउटा मध्यम वर्गीय परिवारमा जन्मे बढेको मान्छे ! शिक्षत हुनका साथै चतुर्याइँमा पनि दलवीरको जोडा कमै भेटिन्थे, त्यस गाउँमा। मीठो बोलेर जो कसैलाईपनि आफ्नो बसमा पार्न सक्ने क्षमता थियो उसमा। दलवीर एउटा ओबरसियर इन्जिनियर थियो। त्यही जागिरका माध्यमबाट कमाएको पैसाले उसले छोरा छोरी पढायो । घर खर्चबाट बचेको पैसा धर्म, कर्ममा पनि त्यतिकै खर्च गर्ने गर्दथ्यो। बाहिरी स्वभाव जति मिलनसार देखिन्थ्यो, त्यसको दोब्बर भित्रपनि उत्तिकै तीक्ष्ण बुद्धिको थियो। हरेक कुरामा दक्षता हासिल गरेको दलवीरले हाकिमको जिम्मेवारी पनि समाल्नु पर्थ्यो। साहेद त्यसैले हुनसक्छ, उसको गाउँ-घर, टोल-बजार र कार्यालय सबैतिर हाई हाई थियो दलवीर। अत्यन्तै मृदुभाषी थियो । यतिसम्म कि उसले बोलेको सुनेर शत्रुलेपनि मनमनै प्रशंसा गर्दथे। आफ्नो जादुमय बोलीको प्रभावले सबैलाई सहजै बसमा पार्ने कला ऊसँग थियो। तर विधिको विडम्बना कसले बुझ्न सक्छ र ! अचानक भुसको आगो झैँ दले घर्तीको परिवार पनि भित्रभित्रै जल्न थाल्यो । कसैको पापी नजर परेछ क्यार !
एक दिनको कुरा हो ।
कार्यालय नजिकैको होटेलमा चिया नास्ताकालागि सबै कर्मचारीहरूसँग दलवीरपनि गयो। अडर बमोजिम खानाको प्रकारहरू टेबलमा आयो । सबै खान व्यस्त भए। होटेलको अर्को कुनामा एउटी अधबैँसे महिला आइफोनमा कसैसँग च्याटिंगमा व्यस्त देखिन्थिइ। के खोज्छस् कॉनो आँखो भनेझैँ एक आपसमा ती दुवैका आँखा जुध्न पुगे । एक्कासि एकले अर्कालाई पढ्ने काम सुरु भयो ।
रमाइलो माथि झन् रमाइलो थप्पिइन थाल्यो । ती दुईबिच हास-परिहास हुन थाल्यो । शब्दजालको झटारो हान्न निकै खप्पिस दलवीरले नारी उत्थानदेखि लिएर प्रण-प्रीतिका कुराहरू चर्को स्वरमा भन्न थाल्यो । आँखाको चाल र शब्दको जाल हान्न सिपालु दलेका हरेक हाउभावैबाट आगाको छेउमा नौनी भने झैँ ती अपरिचित युवती पनि बिस्तारै दलेप्रति आकर्षित हुँदै जान थालिन् । युवतीपनि दलेभन्दा के कम ! फोन हेर्ने निहुँ गर्दै दलवीरलाई कर्के आँखाको बाणले भुतुक्क पार्नसम्म पारी । दुवैका नजर चार हुने बित्तिकै एक अर्कालाई बुझ्न कति बेरै लागेन। डेक्समा खानाको पैसा बुझाउँदै दलेले साहूजीसँग भन्यो, “यी बहिनी तपाईँकी कर्मचारी हुन् ?” दलवीरका प्रश्नको छोटो उत्तर दिँदै साहुजीले भन्यो “यी नानी हाम्री कर्मचारी हैनन्।” साहुजीको उत्तर राम्रोसँग नटुङ्गिँदै पुनः दलवीरले भन्यो, “त्यसो हो भने नयाँ ग्राहक” दलवीरको आशय बुझेझैँ गरी साहुले, “हो, ग्राहक”, भन्यो । साहुजीको उत्तर सुनेर दलवीरको मनमा एक किसिमको सुखद तनाव सृजना भयो। अब ती युवतीसँगको त्यो रमाइलो भेट पहिलो एवं अन्तिम नै हुने रहेछ भन्ने उसलाई लाग्यो । अब केही क्षणमै तिनी गइहाल्नेछिन् । यस्तै विचारहरू मनमा खेलाउँदै दलवीरले पुनः अर्को जादुमय जुक्तिको सन्तान गर्यो।
ती अपरिचित तरुनीपनि मनमनै भन्दैथिइ, “वाह ! कस्तो बेजोड व्यक्तित्वको धनी ! संसारमा यस्ता लोभलाग्दा मानिस विरलै पाइन्छ ! बोल्ने शैली, रूप, मोहिनी मुस्कान त्यसमा पनि मालपोतको जागिरे ! कस्तो भाग्य हुने नारीले यस्तो रूपवान् लोग्ने पाउँदा हुन् ?”
खाना खाएर सबै कर्मचारी साथीहरू उठेर हिँड्न लागे । यसरी सबै हिँड्न लागेको देखेर युवती पनि बेचैन भएर छटपटिन थाली । कहिले आफूतिर त कहिले मोबाइलतिर नजर डुलाएको देखेर दलवीरलाई आफ्नो वाक्वादको असर हो भन्ने लाग्यो। यतिकैमा अफिस बन्ध हुने समय भइसकेको थियो । साथीहरू पनि हिँडिसकेका थिए । सुनसानको मौका पारेर दलवीरले ती युवतीलाई भन्यो,
“बहिनीको नाम के पर्यो होला?”
खिस्स हॉस्दै युवतीले “फूलमॉया” भन्ने जवाफ दिई । युवतीको सहज र सरल उत्तर सुनेर फेरि उसले भन्यो,
”अनि घर चाहिँ कता पर्यो नि ?”
मुस्कुराउँदै युवतीले छोटो उत्तर दिई । “तोरीबारी”।
अरूपनि धेरै जाकारी पाउने आशा गर्दै दलवीरले फेरि भन्यो, “आज यहाँ के कामले आउनु भएको हो ?”
“मालपोत कार्यालयमा पिउनको दरबन्दी खुलेको हिजोको गोरखा पत्र मार्फत थाह पाएँ । त्यसैले आवेदन फार्म भरौँ कि भनेर आएकी।” युवतीले जवाब दिई ।
‘कहाँ जालिस् मछडी मेरै ढढिया’ भनेझैँ दलवीर खुसीले गदगद भयो । तिनलाई सधैँ आफ्नै अगाडि पाइरहने जुक्ति गर्दै दलले भन्यो,
“ल ठिकै छ, फारम भरेर छोडिराख्नु नि त” भन्दै दलवीरे अफिसतिर लाग्यो।
दलवीरलाई कतिखेर ती युवतीको बाहुपासमा बाँधिनु र अतृप्त कामवासना परिपूर्ति गर्ने भन्ने हुटहुटी चल्न थाल्यो । साँझ पख अफिसबाट घर गयो । खानपिन गरेर आराम गर्न खोज्यो। तर उसलाई निद्रादेवीले साथ दिएन । बेचैन भएर छटपटिन थाल्यो। दिउँसोको त्यो मनमोहक र आनन्ददायी क्षणलाई कसै गरेरपनि दलेले बिर्सिइन सकेन । क्षणभरमा भेटिएकी त्यस युवतीको मन्दमुष्कान झलझली उसका आँखामा नाचिरह्यो ।’विनाश काले विपरीत बुद्धि’ भने झैँ ३० वर्षे लामो वैवाहिक जीवनलाई पनि उसले बिर्सियो । आज्ञाकारी छोरा-छोरीलाई बिर्सियो । पतिपारायण धर्मपत्नीको सँगै बाँच्ने सँगै मर्ने बाचा बन्धनलाई पनि बिर्सियो । डाँडाका घाम-जुन बनेका माता-पिताको अगाध स्नेह र ममतालाई पनि कुल्चिँदै बिहानै उठ्यो र खाजा नाखाइ अफिसतिर दगुर्यो । फूलमायालाई पनि त्यस्तै छटपटी भइरहेको थियो । कहिले काममा लागेर दलेका बाहुमा कसिएर यौनको प्यास मेटाउने भन्ने हतार चढिरहेको थियो । जागिरको त बहाना मात्र थियो फूलमायालाई । काकासँगै फूलमाया पनि दलवीरकै अफिसतिर आउँदै थिई। दुवैको अफिसमा भेट भयो । फारम बुझाउनेसाथ अन्तर्वार्ता भयो । अन्तर्वार्तामा उत्तीर्ण नहुने कुरै भएन । भोलिबाटै काममा आउन बोलावट भयो । काम फत्ते भएकोमा हर्षविभोर हुँदै फूलमाया घरतिर लागी । फारम भर्नु र अन्तर्वार्ता त एउटा औपचारिकता मात्र थियो । काम-वासनाबाट अन्धा भएका मानिसले जे पनि गर्न सक्छ ! स्वार्थले मानिसलाई पशु बनाउँछ । एउटा सुन्दर, शान्त र रमाइलो परिवार अतृप्त कामवासनाको कारण तहसनहस मात्र भएन, शक्ति र पदको दुरुपयोगबाट समाजमा बदनामी पनि हुनुपर्यो ।