दशैँको बक्सिस्

लेखक

बुद्धमणि ढकाल
केन्टकी, अमेरिका

 

दशैँ आयो खाउँला पिउँला, कहाँबाट ल्याउँला चोरिल्याउँला !!
‘……………………………..’
दश वर्षको बच्चे डेरातिर जाने कच्ची बाटोमा उफ्रिँदै गीतको भाकामा यो बाल दशैँगीत गाइरहेको थियो। त्यसै दिनबाट बच्चेको सानो बोर्डिङ दशैँको लागि छुट्टी भएको थियो ।
बच्चेकी आमा मूल सडकको बस बिसौनीमा तित्रिको रुखमुनि हरिया मकै पोल्न व्यस्त छिन् । थोत्रे बोरा र प्लास्टिकले बनेको उनको टहरो ठुलो हावा पानी छेक्न नसक्ने फितलो छ । मौसम राम्रो हुँदा मनग्गे बेपार गर्ने एउटा घुम्ती पसल हो त्यो । बच्चेकी आमाले मकै पोलेर यात्रुलाई बेच्नु बाहेक अरू केही आवश्यक बिक्री समान पनि राखेकी छन् । दुई तीन ब्रान्डका चुरोटका बट्टा, खैनीका पुरिया, चुइगम, ललिपप र चकलेट, आलु चिप्स अनि बान्ता रोक्ने औषधीका पुराना पाप्रा। पोलेका हरिया मकै उनको मुख्य व्यापार ।
बच्चे दस वर्ष अघि सडक छेउमा अस्थाई टहरामा जन्मेको थियो । नगरपालिकाले शरणार्थी भई आउनेहरूका लागि बनाएको अस्थाई टहरामा बच्चेकी आमा अरू भाग्नेहरूसँगै आइपुगेकी थिइन् । बच्चे त्यही जन्म्यो र नवजात सडक छाप शरणार्थी बन्यो ।

बच्चेकी आमा डेरामा फर्किदा झमक्कै साँझ पर्‍यो । बच्चे अझै टोलका अरू केटाकेटीसँग कच्ची सडक पल्लो पट्टी खाली मैदानमा पुराना प्लास्टिक बाँधेर बनाएको भकुण्डो खेल्दै थियो ।
‘आमा आज देखि हाम्रो बोर्डिङ दशैँका लागि छुट्टी’
‘कति दिनको लागि नि ?’
‘पुरै पन्ध्र दिन । ’
‘ल मलाई सघा है छोरा । अब दशैँ लाग्यो – घर सफा राख्नु पर्छ, लिप पोत गर्नु छ । ’
‘एक दिन रातो माटो र कमेरो लिन जाऊँ न आमा । सबैका घर रातो र सेतोले लिप्छन् । ’

‘आज के पकाउने आमा ?’
‘मटर कोसा ल्याएकी छु । गुन्द्रुक र टमाटरको अचार अनि मकैको ढिँडो । ’
‘अहा क्या मीठो !’ बच्चेको भोक जागेको जस्तो छ ।
‘यसपालि दशैँमा त दुई केजी खसीको मासु ल्याउने है आमा । ’
बच्चेले खसीको मासुको रहर गरेको छ । यसपालि कतैबाट पनि जुटाइदिन पर्छ – आमाले अठोट गरिन् ।
‘चोक परतिर डेरा बस्ने सावित्री आन्टीलाई भनिराख्नु पर्ला । ’

चुल्हामा मटर कोसा र आलुको तरकारी पाकुन्जेल बच्चेकी आमाको मन उम्लेर आँखा भरिसकेका थिए । दुई चार थोपा खस्न भ्याइहाले ।
‘धत् किन यस्तो मन बहकियो’ – लुँङ्गीको सप्कोले आँखा पुछेको बच्चेले देख्यो ।
‘के भयो आमा ?’
‘धुवाँ बढी भयो, आँखा पिरो भयो’ – टार्ने कोसिस गरिन् ।

एउटा शान्त गाउँ थियो । परिवारमा मेलमिलाप थियो । चाडबाडको रमाइलोमा कोदोको कपना र नुनसरी धानको बाला बयेली खेलिरहेको समय ।
अकस्मात दक्षिणको चियाबगानबाट आँधी उठ्यो, मन्द हावामा गर्जन मिसियो । त्यो कालो दिनको सुरुवात भयो – अनेक हल्ला, डर-त्रासको बाफ, भनेको रकम नतिरे ज्यान लिने धम्की र आतङ्ककारीलाई सघाए जेलमा कोच्ने डर सबै त्यो आँधीसँग मिसिएर आयो ।
बच्चे नजन्मिँदै एक रात उसको हुने बाबु बेपत्ता भयो । दशैँ आयो ऊ घर फर्केन । तिहार गयो, दिदीको गाउँ पनि गएको थाहा भएन । कसैले ऊ मरे बाँचेको समाचार ल्याउन सकेन ।
बच्चेकी आमालाई अहिले त्यही दशैँको याद आयो – नीरव र निर्जीव भएर दशैको रमाइलो फुङ्ग उडेको दिन । टिकाको दिन रोएर बितेको थियो – घरमा पकाएको चार केजी खसीको मासु खान उसलाई पर्खँदा यो दिन भयो ।

‘के भो र आज छोरो छ, ऊ सँगै उसको बाबुको झल्को मेटाउँछु’- यो चित्त बुझाउने उपाय ।
गाउँमा अनेक दु:ख गरियो । अरूको खेताला, ढिकी जाँतो र बजारको भारी बोक्ने काम । बच्चे जन्मेको साल अझै दु:ख भयो – के खाऊँ र के लाऊँ भन्ने पिर । बच्चेलाई बचाएर ठुलो पार्न निकै हम्मे पर्‍यो ।
बेपत्ता लोग्नेको आस मरिसकेको पनि छैन तर कुनै सुदूर भविष्यमा पुनर्मिलन हुने सम्भावना देख्दिनन् बच्चे आमा ।

Xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

‘आमा यसपालि कसकोमा खसी ढाल्ने अरे ?’
‘अनि त्यो तरकारी पाकी सकेन र भन्या । कति भोक लागिसक्यो !’
‘चोक परतिर बस्ने सावित्री आन्टीलाई भनेकी छु । कसैले बना’को थाहा पाएँ भने भन्छु भनेकी छन् । ’ बच्चेलाई ढुक्क पार्न भनिन् आमाले । आफैँले चाहिँ सावित्री आन्टीको बचनमा खास भरोसा राखेकी छैनन् ।
दशैको टाइममा हो बेपार गर्ने । बच्चेलाई नयाँ लुगा हालिदिनु छ । स्कुल जाने लुगा पनि अर्दाना भई सके । नवमीको दिनसम्म मान्छेको ओहोरदोहोर बाक्लै भइरहन्छ । आखिर मेरो घरमा टीका लगाउने को पो आउँछ र ?
भनिन्, ‘छोरो बच्चे, नौरथाभरि बेपार गर्दा तँलाई नयाँ लुगा लाउन पुग्ने पैसा हुन्छ । तँ मलाई समान बोकेर ‘दोकान’ सम्म पुर्‍याउन सघा है । यसपालिको डेरा भाडा पनि देको छैन । ’
सप्तमीको दिन आमा छोरा पौवा खोलाको भित्तामा कमेरो र रातो माटो खोज्न हिँडे । खोलातिर झर्ने गौड़ो छेउको खुल्ला चौरमा थापेको सानो लिङ्गे पिङमा बच्चे एक छिन मच्चियो । फर्केर आउँदा हेडसरको घरतिर झरे । ‘स्कुलको फि दशैँ बिदा लगत्तै बुझाउँछु’ भन्नु थियो । स्कुलको फि कम गरिदिन हेडसरसमक्ष बिन्ती बिसाउनु थियो । हेडसर भेटिएनन् ।

नवमीको दिन । बच्चे अलि अँध्यारो अनुहार लिएर आमासँगै दोकानमा बसेको छ । हरिया मकै सकिने समय थियो, त्यसैले थोरै मकैका घोगा लिएर पोल्न बसेका छन् आमा छोरा । पानी पर्ला जस्तो चिसो बतास चल्दै छ ।
आमाले भनिन् –‘यस्तो बेला मकै अलिक बिक्थ्यो तर गाउँमै पाइएन । ’
बच्चेले जवाफमा ‘खसीको मासु पनि त कसैले दिएन हामीलाई’ भनिहाल्यो ।
‘हामीले पैसा तिर्न सक्दैन भनेर नदिएका हुन् नि’ बाल मनोविज्ञानमा परेको चोट घुँक्क-घुँक्क भएर फुट्यो ।
‘नरोन छोरा, बजारकै अलिकति लगेर पकाइदिन्छु भरे । ’

घामलाई कालो बादलले ढाकेर पानी झार्न तम्सेको छ । तर केही मकैका घोगा बेच्न बाँकी छन् । बच्चे ठुलो किस्तीमा चुरोट, लाइटर, मकैका घोगा, चाउ चाउका केही पुरिया लिएर बसका यात्रीहरू वरपर घुमिरहेको छ ।
यही बेला हेडसर एउटा झोलामा केही बोकेर आइपुगे ।
‘कता हिँड्नु भो हेडसर ?’ बच्चेआमाले सोधिन् ।
‘तिमीहरूकै दोकानमा आएको । खोइ एउटा मकै पोल न । एउटा खुकुरी चुरोट पनि देऊ । ’ चुरोट सल्काउँदै हेडसरले बच्चेलाई कराए – ‘ए केटा ! तँलाई के को धावा ? आइज यो लिएर घर जा । ’
मकै र चुरोटको पैसा दिएर उठे र भने – ‘यो झोलामा तिमीहरुकोलागि दशैँको सौगात छ | घरमा लगेर हेर्नू । ’

आमा छोरा डेरामा आइपुग्दा पानीको दर्केले पुरै भिजायो । बच्चेलाई हेडसरले दिएको झोला हेर्न खुल्दुली भएको थियो । झोलाभित्रको पोको खोलेर हेर्‍यो – उफ्रेर करायो ।
“मासु………. ????”
‘आमा हेडसरले खसीको मासु ल्याइदिनु भएछ । ’
‘कस्तो अचम्म ! कसरी थाहा भयो हामीले मासु खाको छैन भनेर ?’

बच्चे आमा छोरा टीका थाप्न सावित्री आन्टीको घर गए । सावित्री नै उनीहरूका लागि नजिककी आफन्त । केही गाह्रो अप्ठ्यारोमा सहयोग गर्ने अभिवावक । धेरै चोटि बच्चे आमाको गर्जो टरेको छ यिनको बोलीले ।
टीका लगाइसकेर चिउरा र मासु खान दिइन सावित्री आन्टीले । अनि बोलिन् – हेडसरकै घरमा खसी काट्ने थाहा पाएँ र प्वाक्क मुख खोलेर एक दुई केजी हामीलाई पनि भाग लगाइदिन भनेकी थिएँ । बुढाले हुन्छ हुन्न केही भनेका थिएनन् ।
‘ए ! त्यसैले पो हामीलाई पनि दया गरेका रहेछन् । ’
‘बच्चेको रहर त पुग्यो, पैसा चाहिँ कहिले तिर्न सक्ने हो । ’

कोजाग्रत पूर्णिमाको दिन हेडसरले बच्चे र आमालाई घरमै बोलाए । टीका लगाइदिए र भने, ‘तिमेरलाई मैले दिएको सिकारको पैसा पर्दैन । बच्चेले स्कुलमा राम्रो गर्दैछ – यो उसलाई मेरो बक्सिस हो । यसले भोलि पर्सि हाम्रो स्कुलको र गाउँकै इज्जत थाम्ने छ । ’

बेलुका घर गएर बच्चेले अच्चम्मको कुरा गर्‍यो – ‘म साँची राम्रो पढेर देखाउँछु । यो स्कुल छोडेर अन्त जाने बेलामा मेरो बा पनि आइपुग्नु हुन्छ होला । ’
आमाले भनिन् ‘बच्चे नानी तेरो मुखमा दूध-भात परोस्, सधैँ सरस्वती बसुन् । ’
‘आमा तिहारमा औंसीको रमाइलो हेर्न सहर जाऊँ है । ’
आधा रातमा आमाले धन्दा छिन्दा, बच्चे अगेनो छेउको गुन्द्रीमा घुरिरहेको थियो ।

2 Replies to “दशैँको बक्सिस्”

  1. JN Dahal

    सामाजीक परिवेशको कथा सुन्दर तरीकाले चित्रण गरीएको छ। यसमा पात्र,परीवेश घट्ना र कथ्य यसअघि कथा भन्दा मज्जाले आएको छ।लेख्दै जानु होला..

Leave a Reply

Your email address will not be published. Required fields are marked *