दाइ! तिमी अब प्रेत होइनौ पितृ हौ

इन्द्र पि. ढुङ्गेल

काेलम्बस, अमेरिका

सायद मलाई अलि- अलि मात्र थाहा छ त्यो मेरो स्वर्ग जस्तो घर।त्यो पारी  डांड़ाको टुप्पाबाट जूल्केका घामको पहिलो किरण घरको सिकुवामा खसेको तिरिमिरीले,अगाडिको रमणीय वागमा फुल्ने सुन्दर फूलहरूले अनि बिहानीको चिरिबिरी पन्छीहरूको आवाजले साँच्चै स्वर्ग बिर्साउँथ्यो।  मेरा बाबाले पसिना बगाइ-बगाइ दश नङ्ग्रा खियाउँदै हामीलाईसुखसँग पाल्नु भएको थियो। आमा बितेर गए पनि बाबाको हामीहरू प्रतिको स्नेह अनमोल थियो। आमाको मायालाई बिर्साएर गरेका कुराकानीले त झन् मेरो बाबा धर्ती जस्तो लाग्थ्यो। अर्को बिहे गर्न नरुचाउने मेरो बाबा सधैँ हाम्रो लागि खाई नखाई काम गर्नुहुन्थ्यो।  घरमा सबै बसेर दुःखसुखका कुराकानी गर्दा  परिवारसँगै बसेर खुसी साटेको अलि-अलि याद छ मलाई। “भाइ म खेताला जाँदा गाईबस्तुलाई घाँस हाल्नु अनि बहिनीहरूको ख्याल गर्नु है ” भन्दै सधैँ हँसिलो र सहयोगी  मेरो दाइ मबाट यसरी टाढा हुने त मैले कल्पना पनि गरिन।  तल्ला घरे  ऋतु मसँग साह्रै  मिल्ने साथी थिई। मेरो र उसको खुब जोडी मिल्छ भनेर मलाई जिस्क्याउँदा सरम लागेको ऐले जस्तो लाग्छ।  अति धेरै जिस्क्याउँदा सरमले रोएको याद छ । यस्तो स्वर्ग जस्तो घर छोडेको पिडा, सङ्गिनीहरूको याद र  शिविरको कहालीलाग्दो त्यो क्षण आज पनि झलझली आउँछ मलाई । मैले गुमाएका अतीतले  पिरलेको अवस्थामा मलाई यादहरू लुकाउन अति कठिन हुन्छ कहिलेकहीँ।

एक दिनको त्यो रात, गाउँमा होहल्ला,उज्यालो जुनको ज्योति देखिने, सबै छिमेकीहरूको घर छर्लङ्ग देखिने गाउँमा अचानक औँसीको रात जस्तो भो। जताततै कुकुर भुकेको आवाज सुनिँदै गर्दा दाइ घरबाट फुत्त बाहिर निस्किनु भो। दाइको त्यो सहयोगी मनले सहयोगको खाँचो देख्यो। दाइले ऋतुको घर काटेर जाँदासम्म मेरा आँखा दाइसँगै दौडिएका थिए। भोलिपल्ट गाउँमा  कोही पनि देखिएन। काटेको धान अलपत्र भएको त्यो बेला भोलिपल्टको घरको बिट्टा लाउने दिन आएन। दाइ पनि घर आउनुभएन। सुत्ने बेलासम्म पनि दाइ घर नआएपछि म सुतिसक्दा निदाएछु। बाबाले “बाबु ! छोरा !! उठ अब जानुपर्छ” भन्दै बोलाउनु भो । अर्ध निन्द्रामा हामी त्यो कहालीलाग्दो  अन्धकारमा अघि बढ्यौँ । नत राँको न कुनै टर्च लाइट नै साथमा थियो।  गन्तव्यको कुनै ठेगान नभएपछि एक छिन हिँड्दा मलाइ थकित भएको अनुभव भयो। मेरी ४ वर्षकी ठुली बहिनीलाई अति कष्ट भएको थियो । २ वर्षकी कान्छी बहिनीलाई बाबाले काँधमा बोकेर खकने झोलामा अलिकति सामल र लुगाफाटो बोकेर जाँदै गर्दा एउटा चौतारोमा हामी बास  बस्यौँ।  बिहान बिउँझिदा  हामीलाई  बाबाले चल्ला छोपेझैँ मुसलधारे पानीबाट जोगाइराख्नु भएको रहेछ।

मैले बिस्तारै बाबालाई सोधेँ,”बाबा ! दाइ खोइ त ? अनि हामी कहाँ जान  लागेका ? बाबाले गहभरि आशु पार्दै  “तेरो दाइ त आर्मीले पक्रेर लग्यो” भन्दै भक्कानिँदै अरू बोल्न सक्नुभएन। केही बेरपछि हतारिँदै भन्नुभो, “अब ढिला गर्दा हामीलाई पनि छाड्दैन” । हतार-हतार हामी बाटो लाग्यौँ। मलाइ आर्मीभन्दा अझ डर लग्यो।  बाबाको पछि- पछि हिँड्दा पनि आर्मीले पक्डेर लान्छ होला जस्तो हुन्थ्यो । बेला-बेला खुइ-खुइ गर्दै पसिना पुछ्दै बाबाले अब कहाँ जाने र के  खाने भनेको मलाई याद छ। बाबा भोक लग्यो भनी मेरी सानी बहिनीले रुँदै भन्दा हत्तपत्त सामलको झोला खोलेर सातु खुवाइदिएको यादले आज च्वास्स घोच्ने गर्छ मलाई।  हाम्रा ती खाली खुट्टामा फोका उठेका थिए अनि बाबाले “बाबुहरू हो  अब के  गर्नु हाम्रो कर्म यस्तै रहेछ” भनेको मलाई ऐले जस्तो लाग्छ। यस्तै यस्तै कथा व्यथा बोकेर हामी जसोतसो नेपाल आइपुग्यौँ ।

जिन्दगीमा दुखले कैलै पनि छोडेन, एकापट्टि दाइको पिडा अर्कातिर  हैजाको।  आँखा अगाडी दिनमा ५० -६० शवहरूको ताँती नै हुन्थ्यो।  खाएको पच्दैनथ्यो ।  घना बसाइमा मेरो परिवारमा पनि रुढीले छोयो। हामी सबै झाडापखालाले सिकिस्त भयौँ। यस्तो बेलामा गाउँको माया लगेर आउँथ्यो। मेरा कमलका थुँगा जस्ता दुवै बहिनीहरू आखिर यहीँ दुख बिसाउन आइपुगे।शरणार्थी भएर भोगेका ती तिता दिनहरू सम्झँदा  मननै  कुड़ीएर आउँछ । सानो झुपडी। प्लास्टिकको छानो मध्यान्नको त्यो तातो घामको पोलाई सम्झँदा तातो तावामा पकाउँदै  गरेको  सुखा पुरीले पनि आत्था भंदैनथियो होला। रुखमुनिको हाम्रो पाठशालामा झर्र पानी बर्सँदा कनिका खान आएका भँगेराहरूलाई गुलेली हान्दा भागेको अनुभव हुन्थ्यो। हावापानीले सबै छाप्राहरूको छानो एकैपल्ट सोहोर्थ्यो। मानिसहरू रुँदै कराउँदै चारैपट्टि प्लास्टिक समाउँथे ।  यति बेला मेरो त्यो बिछोडिएको धानको नीन हुरीले बेर्न लाग्दा हत्तार-हत्तार सबै मिलेर थन्क्याएको याद आउँथ्यो।  मेरो सुख समाप्त भएको अनुभव भयो। आखिर हामी यहाँसम्म किन आउनु थियो बाबा ? अब हामी फर्केर आफ्नो गाउँ नै जान मिल्दैन र? भनी म बाबालाई सोधी रहन्थेँ। मेरा धर्तीजस्ता बाबाको सायद मन थामिँदो रहेनछ,  पसिना पुछेको बहाना बनाएर आशु पुछ्नु हुँदो रहेछ। मैले अब सानो हुन पाएको थिएन। भन्दथे बाबा दाइको पिर नगर्नु अवश्य एक दिन त भेट हुन्छ म पनि त हजुरको साथमा छु। यसरी बस्दाबस्दै म त्यही स्कुल लागेर  कक्षा १० पास गरेँ । एउटा सानो शिक्षक बनेँ।

 मलाई अब बाबाको हेरचाह गर्ने मान्छेको खाँचो भयो। एक दिन मसँगै पढाउने साथी ‘रुपा” सँग शिक्षक तालिममा गएको थिएँ। हामी एउटै विषय पढाउने भएकाले सँगै तालिम गर्न पुग्यौँ। गफगाफको क्रममा उनी पनि देशबाट लखेटिएकी रहिछन्। आमा मात्र हुनुन्थ्यो रे। बहाले पनि  हैजामा रूपालाई एक्लै छोडेर जानुभएछ। सुख दुखका गफ गर्दागर्दै एक दिन मैले रूपलाई भनेँ “ रुपा मलाई एउटा राम्रो जीवन साथीको खाँचो  छ”। उनी केही बोल्न सकिनन्।  केही दिन उनी र मेरो खासै वार्ता भएन। हाइ हेल्लो मात्र भयो। एक दिन रुपाले मलाई गफ छ भनी बोलाइन। मैले केही पनि सोचिन। “रिजन आज म तिमीसँग केही माग्नु छ, दिन्छौ मलाई ?” रुपाको यो प्रश्नले मलाइ अन्योलमा पार्‍यो। दिन्छु भन्दा के दिनु  म जिन्दगीबाट खोक्रो भएको मान्छेले। हुन्न भन्दा कसरी भन्नु? अन्योलमा डुबिरहेको बेला मलाई एक छिन पछि “रिजन” भन्दा झसङ्ग पार्‍यो। “तिमीलाई म अप्ठेरोमा पर्दिन भनन दिने कि नदिने ?” जेसुकै होस् हुन्छ भन्ने आँटले स्वीकार गरेँ। “के तिमी मसँग साथी मात्र होइन जीवनसाथी बन्न सक्छौ त ?” मलाइ सपना जस्तो लग्यो अनि बिस्तारै आफूलाई समाल्दै स्विकारेँ।  रूपासँग  विवाह गरेँ।

अब बाबालाई अलि पिडा कम हुन्छ भनेर सोचेको थिएँ। २ वर्ष नपुग्दै हामी पनि बाबा आमा बन्ने भयौँ।  एक दिन उनी सारै बिरामी परिन। हस्पिटल लगेँ।  जाँच गराउँदा उनीलाई मुटुको  रोग निकाल्यो।  ५ मैनाको बालक थियो उनीको गर्भमा। आज भोलि भन्दाभन्दै उनीलाई रोगले अति च्याप्यो। म हस्पिटलमा बस्दा अनेक सोच्ने गर्थेँ। बेला-बेला उनी मलाइ झस्काई रहन्थिन। म सकेसम्म समालिन्थेँ। मेरो काखमा उनीका लामा-लामा औला भएका सुन्दर हातहरू सजिएका हुन्थे। हाम्रा दिनहरू यसरी नै  बितिरहेका थिए। उनीका लामा लामा केश राशिहरूमा सुम्सुम्याइदिदा उनी लोलाउँथिन अनि निदाउँथिन। विडम्बना उनीले एक दिन लामा लामा हातहरूलाई चिसा पारेर  मेरा काखमा सधैँकालागि छोडिदिइन्। । मेरो रूपकलाई  हातमा थमाएर उनी सधैँका लागी एक मुठी हवा हुँदै पार्थिवव शरीर छोडेर आकाश मार्गमा अलप भइन।  छुटिएर गइन्। । सारै दुखले मैले  रूपकलाई हुर्काएँ।  अब केही अलिकति पिडा कम भएको अनुभव हुन्छ भन्दा भन्दै फेरि अभावै अभावमा हाम्रो जीवन यसरी नै  बितिरह्यो।

यस्तो कहालीलाग्दो जीवन त शत्रुले पनि भोग्नु नपरोस् भनी बाबा सधैँ भन्नुहुन्थ्यो।  हुन त हो हामी आज कल्पना गरौँ त हामीलाई कसैले आधा घण्टाको पैसा नदियोस् त हामीलाई कस्तो लाग्छ? त्यस्ता कैयौँ घण्टा न दिन न रात केही नभनी परिवार र आफ्नो हितकोलागि आर्जेको सम्पत्ति चटक्क छाडेर अनि जसले अब परिवारमा खुसी ल्याउँछे भन्ने बेला यस्तो पहरो खसेजस्तै भएर  सबै विलीन बनाउँदा  कहाँसम्म दुख्छ होला? खाइ-नखाई जोडेर अब सुन्तला र अलैँची फल्न लागेको बर बगैँचा चटक्क माया मारेर हिँड्दा,अब सुख हुन्छ छोरो बढ्यो भनेर सोच्ने बेलामा छोरोलाई बन्धक बनाउँदा, जीवन सँगिनी ,छोरीहरूको मृत्यु ,बुहारीको मृत्यु  यहाँ कसको मन नरोला र ? साथीभाइ इष्टमित्र सबै बिछोडिएको बेला मुटु भुटेर आउँदैन होला र ? यस्तै जीवन २५ वर्ष बितेपछि हाम्रो परिवार पुनर्वास प्रक्रियाबाट अमेरिका आइपुग्यौँ। बाबाको जीवन अझै यस्तै थियो।  भुटान छोडियो। देशविहीन भइयो।  अब नेपालबाट कहाँ जानु भन्नु हुन्थ्यो। भाषाको कारण आज बाबाको अवस्था झन् गम्भीर हुँदै गयो। खाली भुटानको कुरो मात्र गर्नुहुन्थ्यो।

एक दिन अचानक मेरो फेसबुकमा एउटा नयाँ साथीले साथी बन्ने अनुमति मागिन्।  सबै हेर्दै जाँदा चिनेको जस्तो लग्यो। अनुमति दिए मैले। कल गर्दा त उनै मेरी सारै मिल्ने तल्लाघरे ऋतु पो रहिछन्। बाबा र म दुवै जना बोल्यौँ । बाबाले  गाउँको अनि दाइको खबर सोध्नु भो। बाबापछि म बोलेँ।  मलाई उनिले हामी सानोमा खेलेको सबै बताइन्। उनीले सानोको कुरा गर्दा मेरो मन एक छिन खुसी भयो।   म खुसीले गदगद  भएँ। हत्तपत्त सोधेँ मैले, “तिम्रो बिहे भो”? उनिले त १३ वर्षको छोरो पो बनाइसकेकी रहिछन्। मलाई फेरि त्यो रोएको याद आयो। भनेँ ऋतु! सुख छ तिमिलाई? थोरै अँध्यारो अनि निन्याउरो अनुहार बनाउँदै भनिन्, तिमीले पनि छोडेर गयौ । मेरो श्रीमानले पनि यो मेरो छोरो ५ वर्षको हुँदा छोड्नु भो, अब भन त  मलाई सुख होला ? मेरी रुपाले छोरो रूपकलाई  पृथ्वी स्पर्श गराउन नपाउँदै मलाइ रूपक छोडेर जाँदाको पिडा आयो।   मैले केही बोल्न सकिन। त्यतिकैमा मेरो छोरो बाबा आजको होमवर्क मैले सकेँ  भन्दै आयो । उनी  केही भन्न नसकी सुक-सुक मात्र गरिरहिन्। आज मलाई फेरि दैवले ठगेको अनुभव भयो। मुटु पुरै चिरियो मेरो।

 प्राय हप्तामा एक चोटि  मेरो र  ऋतुको  गफ हुन्थ्यो। मैले मेरो परिवारको जीवन कहानी सुनाउँदा सधैँ रुन्थिन  उनी। आज पनि उनी मलाई यत्रो धेरै माया गर्छिन्। म उनको माया पाएर खुसी छु। तर विडम्बना हाम्रो जोडी छैटौँमा भावीले जोड्न सकेन अनि जोडेको खुसी पनि खोसिदियो । दिनहरू यतिकै बितिरहेका थिए, दुखसुख एक अर्कासँग बाँड्दै यस्तै हो जीवन आफूले सोचेको जस्तो हुँदैन भन्दै म र उनी सहमत हुने गर्दथ्यौँ ।  एक रातको त्यो अनौठो घटना अमेरिकाको सायद मेरो अर्को दुर्भाग्यको दिन थियो। मेरो घरमा अचानक चाल गर्‍यो। यताउति हेर्दा कोही पनि थिएन। सबै चकमन्न निदाएका थिए।  म  कामबाट आएर थकित भएकोले सोफामा बसिरहेको थिएँ।नयाँ चालले  मेरो दिमागमा एक प्रकारको नमिठो कल्पना खेल्न थाल्यो।  मलाइ यस्तो भएको  पहिलो पटक थियो।

 त्यो काल्पनिक हावाले दाइसँग मेरो र दाइको संवाद सुरु गर्‍यो। । वहाँ भन्दै हुनुन्थ्यो, “भाइ मलाइ चट्टकै छोडेर सबै परिवार कता गएका थियौ? म त्यो दिनदेखि एक्लै भएको छु। थाहा छ मलाई कसैलाई पनि भेट्न दिइएन।  मसँग जेल परेका सबै छुटे तर म छुट्न सकिन। मेरो जीवन त धिक्कार रहेछ किनकि आधा पेट आफू खाइ  मलाई खुवाउने मेरो बाबालाई आज माया त पर जावोस देख्न पनि पाइन। मलाइ थाहा छ भाइ आज बाबाका आँसु अडिएका छैनन् अनि मेरो लागि भकानिदै रुनु हुदैछ। त्यो बाबाको गुण मैले तिर्न सकिन। मलाइ भुटानको विभिन्न जेलमा सारियो, म गेलेफुमा पक्राउ परेको,  सरभांग र थिम्पु ३ चोटि पालैपालो सारियो। यातनाको त ठाउँ छैन कति पाएँ भनेर।  म तिमीसँग जिउँदै गफ गरेको होइन। म मरिसकेँ।  मलाइ मारियो यातना दिएर जङ्गलमा गोली हानी मारे मलाइ। ऐया बाबा म मरे भन्दा मेरो मुखमा पानी   लाइदिने कोही थिएन। मेरी मरिसकेकी आमाले मलाई हेरेको जस्तो लाग्थ्यो। अरू त के गर्न सक्लाउ मेरो भाइ ? बाबालाई भनेर मेरो काजक्रिया राम्रो गरिदिनु है।  बाबालाई  तिमीसँग एक मुठी सास हुन्जेल राम्रो गर्नु। धर्ती जस्तो बाबा हुनुहुन्छ हाम्रो। मेरो पिरले साह्रो पर्छ होला वहाँलाई।  राम्रो सम्हाल है। यो पनि थाहा छ मलाई बहिनीहरू पनि गुमायौ। तिम्री श्रीमती पनि छैनन् । बेलामा नै तिमीले राँडो हुनुपर्‍यो। तिम्रो छोरालाई राम्रो पढाउनु है। यस्ता अप्ठ्याराहरू हामीलाई मात्र आउँछन् । के गर्नु तिमीलाई पनि आपत् छ। आमा र तिम्रो श्रीमती त पितृ भए तर मत प्रेत हुँदै डुलिरहेको छु । यदि कोही दयालु त्यहाँका पाले भए श्रद्धाञ्जलीको चित्र सोसल माडियामा पोस्ट हुन्थ्यो तर निर्दयीको साथमा मरेँ। अब तिमीले मलाई पनि पार तारी देऊ  है।”

म झस्केँ। मैले हुन्छ मात्र भनेको के थिएँ “बाबा अझै सुत्नु भएको छैन?” भन्दै रूपक कलेजबाट नाइट क्लास सकेर भित्र पस्यो। रूपक भन्दै थियो “आज मैले हजुरलाई चिया बनाएर दिन पनि भ्याइन। खाना बसालेर गएको थिएँ। के खानु भो त बाबा हजुर ले ? ” मैले भनेँ , म आएर सब्जी बनाएँ दाल झानेँ अनि खाना खान दिएँ। अलिकति दूध खानुभएछ बाबाले । बसिरहनु भाको थियो म आउँदा । मलाई अचम्म भइरहेको थियो। अब के हुन्छ होला भनी कसैलाई केही नभनी बसिरहेको थिएँ। बाबाले पनि २ दिन जति केही भन्नुभएन। सुती मात्र रहनु भयो। २ दिन पछाडि ऋतुको कल आयो। “रिजन” ! म कसरी  भन्नु तिमीलाई भन्दै भकानिदै रुन थालिन् ।   के भो भन  ऋतु भन्दै मैले उनीलाई सोध्दा त म छाँगाबाट झरेँ ।  अब त मेरो दाजुले पनि मलाई छोड्नु भएछ । मलाइ के गर्नु कसो  गर्नु हुँदाहुँदै रूपक आएको मात्र थाहा छ । मैले होसै पाउन सकिनछु। बिचरा के गरोस् त्यो अबोध नानीले, तर पनि जसो-तसो  ऋतु र उसको गफ हुँदा उसको बडीबाबा बितेको थाहा भएछ। मैले थाहा पाउँदा  म हस्पिटलमा थिएँ  । बिचरा रूपक निन्याउरो भएर मलाइ कुरेर बसेको थियो।आज मलाइ थाहा भयो  बाबा कति पिडा लुकाउनु हुदोरहेछ भनेर। यस्तो अवस्थामा बाबालाई हस्पिटल लैजा भनेर वहाँले  रूपकलाई भन्नुभएको रहेछ। कति धेरै साहस वहाँमा।  आज मलाइ मेरो बाबा साँचिनै धर्ती हुनुहुँदो रहेछ भनेर छर्लङ्ग पारिदिनु भो।  मैले सोचेँ अब मैले साहस गर्नपर्छ । दाइको खबर बुझेर मैले  काजक्रिया गर्दिनु नै पर्छ।  फेरि ऋतुलाई कल गरेँ। थाहा पाएको जानकारी लिएँ। समाचार पत्रिकामा छापिएको मेरो दाइको विशाल फोटोसहित “आतङ्ककारी हिमाल आफैँ जेलबाट भागी मर्‍यो” भन्ने शीर्षक  समाचार पढेँ। मेरो त्यो दिनको झझल्को साँचिनै सत्य रहेछ।

म हस्पिटलबाट बिदा भएपछि दाइको काजक्रिया राम्ररी गरिदियौँ। सधैँ दाइको श्रद्धाञ्जलीको फोटोमा हेर्दै मनमनै सोच्ने गर्दथेँ,  दाइ आज तिमी  हाम्रो  साथमा हुनु भने मलाई कति आनन्द हुन्थ्यो होला है ? तर दैवले हामीलाई यस्तो खुसी  देख्न दिएन। तिमी अब राम्ररी जानु है । तिम्रो भगवान्सँग आत्मा लीन भयो।  हामी त अझै अबोध नै छौँ। तिम्रो त भगवान्को रूप भयो हामीले केही भूल गर्न पुग्यौँ भने हामीलाई अज्ञानी अबोध  सम्झेर माफ दिनु है। धेरैपल्ट पनि हामीले गल्ती नै गर्न गयौँ भने सङ्केत दिनु ल  दाइ?   तिम्रो भगवान्सँग वास होस्। हो दाइ अब  तिमी  प्रेत होइनौ पितृ हौ। हामी र हाम्रो कार्यले तिम्रो कल्याण होस् ।  अब बाबाको स्वास्थ्य पनि बिग्रिँदै जाँदै छ। वहाँ सच्ची नै धर्ती हुनुहुन्छ। वृद्ध हुनु भो यस्तो बेला सोचमा धेरै डुब्नुभो भने जे पनि हुन सक्छ।  त्यसैले मैले बाबालाई अरू समय दिनु पर्छ। हामीले गरेको तपाइको उद्धारबाट सधैँ सन्तुष्ट हुनु है दाइ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *