दुर्गाप्रसाद रिमालका ११ रूबाइयात

दुर्गाप्रसाद रिमाल
अस्ट्रेलिया

१.
पहिला परिवारभित्रै परिवार बिथोल्ने कोहि बनाइयो
नेपाली जनतालाई भेडा र सोसकलाई गोही बनाइयो
त्यो मेरै आमाको देश हो – भूटान
जहाँ श्रीमानलाई नागरिक र श्रीमतिलाई देशद्रोही बनाइयो

२.
एउटा आउँछ आफ्नै छातीमाथि टेक्न अह्राउँछ
अर्को आउँछ हत्केलाले सुर्य छेक्न अह्राउँछ
बाढी पस्छ शहरतिर, पहिरो जान्छ गाउँतिर
यस्तै बेला सरकार मलाई रूवाई लेख्न अह्राउँछ

३.
जति तन्काए पनि नाम्लो दाम्लो नाग हुदैन
हरियो देखिएका सबै रायो साग हुदैन
मान्छेले आफु के हुँ, औकात बुझेको राम्रो
बाघको छाला भिर्दैमा गधा कहिल्यै बाघ हुदैन

४.
मानवीय सम्बन्ध गास्न चहान्छु
ह्रृदय खोलेर हास्नँ चहान्छु
इश्वर बन्नु छैन मलाई
म मान्छे भएरै बाच्न चहान्छु

५.
आमा बेच्नेलाई कहिल्यै क्षमाप्रार्थी हुँदैन
जानीजानी गल्ती गर्नेहरु आदरार्थी हुँदैन
राजनैतिक कुरुपताको मात्र सिमाना हुन्छ
महासय ! कला , साहित्य , कहिले शरणार्थी हुँदैन ।

६.
जीव जन्तुको सिकार मान्छेले नै गर्छ
अरु विरुद्ध अत्याचार मान्छेले नै गर्छ
दिनहुँ परदेशतिर उडेको जहाजलाइ हेर्नुस्
यहाँ मान्छेको व्यापार मान्छेले नै गर्छ ।

७.
दुःख पिस्न सिलौटामा लोहोरो हुन सकिएन
मन भएनि जर्बजस्ती एकोहोरो हुन सकिएन
भेटेर सोध्नु छ कुनै दिन उनीहरुलाई
कति कारणले नेपाल देशको छोरो हुन सकिएन ?

८.
जाँदैछु देश छोडेर फेरि कुनै दिन सरिक हुनेछु
वाध्यताले बनाएको सरणार्थी क्षणिक हुनेछु
यहीँ आसमा जिन्दगी चलिरहेको छ अहिलेसम्म
म पनि एक दिन कुनै देशको नागरिक हुनेछु !!

९.
यता रगत बेचेर सन्तान हुर्काउने पसल गरिरहेको छु
धितोमा छोडी आएको खुशी फर्काउन बल गरिरहेको छु
नसोध्नु ! देश लुटिएर परदेशिनुको मेरो पिडा
आफ्नो भाग्य र कर्मबीचको दुरी अड्कल गरिरहेको छु!!

१०.
छातीमा देश छ शीरमा देशको माटो छ सुनाइ दिनु
एउटै बिन्ती यो खबर म जन्मेको देश सम्म पुर्याइ दिनु
मर्नु त निश्चित छ एकदिन तर म मरेपछि
देशको ध्वजा सँगै चितामा दौरा सुरुबाल ओढाइदिनु!!।

११.
समयको गर्नु गर्यो पुर्खाको आँगनमा
कुन इतिहासको श्राप पर्यो पुर्खाको आँगनमा
पराई मुलकाहरू धमाधम नागरिक भइरहँदा
म भने शरणार्थी हुनु पर्यो पुर्खाको आँगनमा

(नोट: दुर्गाप्रसाद रिमालको रुबाईकृति ‘समयको आयु’बाट साभार; लेखकद्वारा सम्प्रेसित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *