दृश्यहरू
अमर बानियाँ लोहोरो
‘शब्दाश्रम’ सिक्किम
लाग्छ
आँखाहरू
जुन कुनै आँखाहरू
हर कहीँ हुँदा रहेछन्
तबै त उनीहरू
निर्बन्ध-विचरण गर्दै
असीम आकाशमा उडान भरिरहेछन्
आहा… कति स्वतन्त्र नि!
हर कहीँ उनीहरू…
उनीहरू
आ-आफ्नै दिशा लिई
स्वलक्षित गन्तव्य लिन सक्ने
कुनै प्रवेशाज्ञा बिना
“भिसा” वा कुनै दस्ताबेजबिना
मन मर्जी हरेक ठाउँ पुग्न सक्ने
पुगी ताहाँ
बिन्दु बिन्दुलाई
निःशब्द निः दृश्य (?)
लक्षित गन्तव्य स्पर्श गर्न सक्ने
हो अझ देखेका छन्
देश दुनियाँकै दृष्टहरूले
नसुतेरै ‘नि निदाउन सकेका
अनि सुतेरै ‘नि निदाउन नसकेका
तब नै त
कतिपयले मध्ये दिउँसो
परेली ह्वाङ्ङ उघारेरै
अभीष्ट सपनाका रङहरू देख्दा रहेछन्
उसै आँखा बन्द गरेर
दिउँसै बिपना निदाउँदा रहेछन्,
ती घटना-परिघटनाहरू
म भित्रभित्रका चेतनासमेतले
आफ्ना आँखीझ्यालबाट हेरेकै हुन्
ती आँखाभित्रका आँखाहरूले देखेकै हुन्
सत्य हो
त्यस सच्चाइको
म पनि एक साक्षी हुँ
ती अवाक् नानीहरूसँगै
म पनि एउटा गवाही हुँ
त्यस्ता तन्द्राहरू ओढेर
बालक घाम बुढिञ्जेल सुतेर
इन्द्रेणी सपना देख्नेहरूको।
अनि अर्कोतर्फ
स्निग्ध उषाका
झिसमिसेसम्मै नसुतेर
जुनेली जीवनका अहोरात्रै
बिपना बिपना भेट्नेहरू…
खै! अब त
बडो उदेक लाग्दछ
देखेर त्यस्ता
अनेकौँ अनेकौँ दृश्यहरू
रहस्य नै रहस्यले भरिएका
सर्व प्राणीमध्येकै
सायद सु सुन्दर आँखाहरू।
अमर बानियाँ लोहोरो-को प्रकाशित र मौलिक किताबहरू यस प्रकार छन्-
‘भावधन’
‘काव्याणु’ (शीर्षक एक हरफे)
‘जीव-नचित्र (त्रय भाषिक)
‘मानव’
‘मनको क्यान भास
‘शब्द-समाधि’ (एक हरफे)
‘गार्डेनको सम्झना’ (बालकथा)
‘भाँच्चिएको चस्मा’
‘सम्भावनाका प्रतिबिम्ब’
‘अनेक मनको आवाज’
(गीतहरू) कुल=10
अनूदित कविताका र उपन्यास
(हिन्दीबाट नेपालीमा)
यस प्रकार-
‘सन्त कबीरका दोहा वली’
‘अन्तर्मन’
‘अक्षरार्थ’
‘प्रत्येक बिहान’ (बाल कविता)
‘मातृभूमि’ (उपन्यास) कुल=5
अनूदित कविताका किताब नेपालीबाट हिन्दीमा-
‘मानव’
(आफ्नै किताबको अनुवाद) केवल=1
सम्पादित पत्रिकाहरू यस प्रकार-
‘प्रतिभा मिलन’ (समसामयिक) तीन अङ्क,
‘बालभूमिफ (समसामयिक) तीन अङ्क,
र महाकवि मोहन दुखुन् (परिशीलन ग्रन्थ)
1 मात्र।