देशमा पराईको आँखा पर्ने नै भयो

इन्द्र खवास
अमेरिका

वसन्तको अर्थ नबुझी
वास्तविकतालाई अँगाल्न
खोज्दा खोज्दै बुझ्नेले कुरा
उल्टो बुझी दिए पछि
देशमा पराईको आँखा पर्ने नै भयो
प्रकृतिको फूल झर्ने नै भयो ।

खाली एउटै बिचार थियो
हँसिलो अनुहारमा हिँडिरहँदा
ज्वालामुखीको प्रकोपले लक्ष्य नै
तोड्दिए पछि
देशमा पराईको आँखा पर्ने नै भयो
प्रकृतिको फूल झर्ने न भयो ।

भोलिको दिन कस्तो हो बुझेर
जुनकिरीको उज्यालोमा रमाउँदै
शान्त र राम्रो बाटोमा हिँड्दा
पत्तै नपाई
कालो रातले छाइदिए पछि
देशमा पराईको आँखा पर्ने नै भयो
प्रकृतिको फूल झर्ने नै भयो ।

समस्यासँग मुकाबिला गर्दै
चित्कारको ज्वाला आए पनि
कतै पछि नसरी
समाजलाई डाेर्याउने गर्दा
गर्नेले कपट गरिदिए पछि
देशमा पराईको आँखा पर्ने नै भयो
प्रकृतिको फूल झर्ने नै भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *