देशवीर
→ तुम्बेहाङ लिम्बू
देशबीरले देश छोडेको
गोडा तिनेक दशक भयो ।
देश छोडेको के भनौं
उसलाई देशबाट उच्छेद गरिएको
गोडा तिनेक दशक हुन लाग्यो ।
प्रत्येक दिन
पूर्वबाट उदाउने सूर्यसँगै
उसको छातीमा स्वदेश फिर्ने आशा उदाउँछ
सूर्य सँगै यात्रा गरेर त्यो आशा
साँझपख लखतरान भएर
जीर्ण प्लास्टिकको छाना मनी
बाँसको भाटाले बारेको साँघुरो कोठामा
युद्ध हारेको सिपाहीँ झैँ
शिर झुकाएर छिर्छ ।
एकाबिहानै देशबीर
पूर्व क्षितिजको सिन्दूरे मुस्कान सँगै
आफ्नो जीर्ण छाप्रोको पिँढीमा बस्छ
पूर्वतिर हेरेर सोच्छ
कठै मेरो मातृभूमिको आगन टेकेर आउने
बटुवा सूर्यले
गाउँघरको केही सन्देश पो ल्यायो कि ?
ठूलो साँझ
जब उसको बलेसीमा आएर घ्वाप्प पोखिन्छ
अनि झिनो आशा लखतरान भएर
गर्ल्याम्म ढल्छ
चुइँ-चुइँ चुइँकिने उसको बाँसको पलङमा
त्यतिखेर
थाहै नपाई उसको कलेटी परेको ओठले
खुइय्य गरेर
निराशाको एक उच्छवास निकालिपठाउँछ
सुर्ती गनाउने हातले अनुहार लोब्राउँदै ।
प्रत्येक दशैं र तिहारमा
प्रत्येक ह्लोसार र क्रिश्मसमा
प्रत्येक ईद र उँधौली-उँभौलीमा
चाड पर्वले
देशबीरको मन मन्दिर भरि
औडाहाको डडेलो लगाइदिन्छ
अनि परेला भरि मृगतृष्णा पोतिदिन्छ ।
चाहे देशले सम्झोस्-नसम्झोस्
यसरी प्रत्येक बिहान
देशबीरले आफ्नो देश सम्झन्छ
उसले अझै आफ्नो देश भूल्न सकेको छैन
उ भन्छ –
देशको नक्सा उसको मुटुमा खोपिएकोछ
देशको पानी उसको नसा-नसामा बगेकोछ
देशको गन्ध उसको स्वास-प्रस्वासमा घोलिएकोछ
देश सितको उसको प्रेम
मुना-मदन, लैला-मज्नु, रोमियो-जुलियटका
प्रेम सम्बन्ध भन्दा कैय्यौं गुना माथि छ
तब कसरी बाँच्न सक्छ उ ?
तब कसरी हाँस्न सक्छ उ ?
माझधरबाट च्यातिएको पर्दा जस्तो
आफ्नै प्रेमबाट अलग्गिएर ?
एक रात देशबीरले सपना देख्यो
उसको जस्तै अनगन्ती अनुहारहरु
निरन्तर हिडिरहेका थिए
जुलुस जस्तो
एउटा अनन्त यात्रामा
पोको-पन्तरो च्यापेर ।
घरि देशबीरलाई लाग्थ्यो
उ पनि त्यही भीडमा हिँडिरहेछ
घरि लाग्थ्यो
बाटो छेउमा उभिएर उ रमिता हेरिरहेछ
त्यही रमिते देशबीरले सोध्यो ती अनुहारहरुलाई
उनीहरुको लक्ष्य के हो ?
उनीहरुको गन्तब्य कहाँ हो ?
उनीहरुको परिचय के हो ?
हिँडाईको अर्थ के हो ?
तर सुनेनन् ती यात्रीहरुले
शायद उनीहरुको कान थिएन
या त थियो र पनि बहिरा थियो कि !
देखेनन् ती यात्रीहरुले उसलाई
शायद उनीहरुको आँखा थिएन
या त थियो र पनि अन्धा थियो कि !
बोलेनन् उ सित एक शब्द पनि
शायद उनीहरुको जिब्रो थिएन
या त थियो र पनि काटिएको थियो कि !
दिक्क भएर देशबीरले राम्ररी निहाल्यो
अनि देख्यो
त्यो भीड
निन्द्रामा हिड्ने बेसुरेहरुको भीँड थियो
टाउकोविहीनहरुको भीड थियो ।
उसलाई पनि नआएको होइन
सम्पन्नताको निम्तो
उसलाई पनि लआएको होइन
एक मुट्ठी पर्देशी खुशीको प्रस्ताव
स्वीकार्नेले स्वीकारे होलान्
कति-कति रहरले, कति-कति वाध्यताले
तर देशबीरको आँखामा
सुन-चाँदीको पहाड भन्दा
देश-प्रेमको पहाड अग्लो थियो
सुकिलो पहिरनको शान भन्दा
स्वदेशी स्वभिमानी शान ठूलो थियो
टलक्क टल्कने गाडी र स्निग्ध निवास भन्दा
बाबुको ममत्वले बनेको पुरानो साइकल र
पुर्खाको पसीनाको गन्ध आउने
पुर्ख्याउली घर-आगन प्यारो थियो ।
उ सोच्छ
आखिर दश बाह्र वर्षकी अवोध बालिका
कसरी आतंककारीको सूचिमा परी ?
अस्सी वसन्त नाघेका वृद्ध
कसरी देशद्रोहीको सूचिमा झुण्डियो ?
छात्तीमा नागरिकताको तक्मा टाँस्ने मान्छे
कसरी अनागरिकताको खाल्डोमा लड्यो ?
हाम्रा पुर्खाले तीन-ढुङ्गे चुलालाई
त्रिशक्तिपीठ मानेर पूजा गरेकै थिए
तीनै वटा ढुङ्गा शिरोपरी राखेकै थिए
तर ती ढुङ्गा देवता बन्न नसकेपछि
नयाँ पीढीमा देवता प्रतिको विश्वास उखेलिएको हो
विज्ञान र भौतिक जगतमा पाइला टेकेको हो ।
उ सोच्छ
यो त वाध्यता थियो
नयाँ पुस्ताको
पीपलको दाना चट्टानमा खसेपछि
चट्टानै फुटाएर जरा हाल्न वाध्य भए सरह ।
अझ पनि एकाबिहानै
पर्देशी छाप्रोको पिँढीमा बस्छ देशबीर
अनि पूर्व दिशामा नजर फ्याँकेर
स्वदेश फर्कने सपनाको पहाड उक्लँदै
औंला भाँच्न थाल्छ
हिसाब लाउन थाल्छ
देश छोडेको वर्षहरुको
परिचय गुमाएको सालहरुको ।।
(जारा फाण्डेशनद्वारा नेपालमा आयोजित अन्तर्राष्ट्रिय कलाप्रदर्शनी तथा कविता महोत्सवमा साहित्य परिषद-भूटानको प्रतिनिधित्वमा सहभागिताको दौरान 27th Sept. 2016 को दिन मञ्चबाट प्रस्तुत कविता)